Comments Add Comment

मनोहरा खोलामा जीवन खोज्न आउनेहरू

१९ असोज, काठमाडौं । आकाशमा स्वच्छन्द उडान भर्ने पन्छीहरूले पनि जीवनको लागि त पृथ्वीकै साहारा लिएका हुन्छन् । यही धरा हो जसले आकाशमा उडान भर्नेदेखि धर्तीमै संघर्ष गर्नेसम्मको जीवन सम्भव बनाएको छ ।

शारदीय महिनामा भक्तपुरको मनोहरा खोलको तिरैतिर हिँड्ने हो भने आफ्नो जीवन खोज्दै हिँडेका अनेकौं चराहरू देख्न सकिन्छ । त्यही चराको चिर्बिराहटले नै धेरैलाई पर्यावरणीय मनोरञ्जनको आभाष मिल्छ । धान झुल्ने बेला भएकोले पनि यो क्षेत्रमा आफ्नो गुजाराको आधार खोज्दै आउनेहरू पर्यावरण चक्रका एक सदस्य हुन् ।

केही हप्तापछिको अथक प्रयासपछि मनोहरा खोलाको किनारामा भेटिएका निम्न चराहरूको संक्षिप्त विवरण र तस्वीर संकलन गरिएको छ ।

कोटेरो

घाँसे मैदान, बगैंचा क्षेत्र वा कृषि उपजको क्षेत्रमा रमाउने यो चरा सानो र सुन्दर चरा हो । सानोमा सादा खैरो रंगको देखिने यसको उमेर छिप्पिँदै जाँदा शरीरको रंग पनि बदलिँदै जान्छ ।

यो चरा वयस्क उमेरमा पुग्दा गाढा खैरो र तल सेतो रंगमा विकास हुँदै जान्छ । यी चराहरू सानो बगलमा बस्छन् । यो चरा दक्षिणी एशियाको स्थानीय चरा हो भन्ने गरिन्छ । यो प्रजातिको चरा अहिले क्यालिफोर्निया, सान होसेदेखि सान डिएगोसम्मको समुद्रीतटमा समेत देखिएको छ ।

बकुल्ला

‘बस्तु बकुल्ला’ एक प्रकारको बकुल्ला हो । बकुल्लाकै विभिन्न प्रजाति मध्येको एक यसलाई अँग्रेजीमा क्याटल इग्रेट नामले चिनिन्छ । गाढा सेतो रंगका यी चराहमरू होचो र हल्का कुप्रोगरी बस्ने खालका हुन्छन् । यसको प्वाँख गाढा सेतो र खैरो खालको हुन्छ ।

प्रजननको समयमा यसको टाउकाको र ढाडको प्वाँख सुन्तला रंग वा रातो रंगमा परिवर्तन हुन्छ । यसको आँखाको गोलो भाग र चुच्चो पनि सुन्तला र रातो रंगमा परिवर्तन हुन्छ । यसको भाले र पोथी रंगमा सामान्य फरक हुन्छ । विशेषतः एसिया, युरोप र अफ्रिकामा पाइने यो प्रजातिको चरालाई शान्तिप्रिय चराको रूपमा समेत चिनाउने गरिन्छ ।

प्रशान्त सर्षरी

प्रशान्त सर्षरी (प्यासिफिक गोल्डन प्लोभर) अमेरिकी गोल्डन प्लोभरसँग समान गुण युक्त चरा समूह हो ।

यो चरा क्यालिफोर्निया, हवाईदेखि एशिया हुँदै उत्तरपूर्वी अफ्रिकासम्मको देशमा पाउने गरिन्छ ।

कालो झ्याप्सी

कालो झ्याप्सी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो चरा विशेषगरी पश्चिम एसिया र मध्य एसियादेखि भारतीय उपमहाद्वीपसम्म र दक्षिणपूर्वी एसियाको भूभागसम्म पाउन सकिन्छ ।

लगभग सोह्र उप–प्रजातिमा विभाजित सो प्रजातिको चरा ग्रामीण इलाका ना खुला घाँसे मैदानमा रमाउने एक किसिमको चिरपरिचित चरा हो । यो प्रजातिको चराले विशेषगरी पर्खालमा वा गुँड बनाउँछन् । घाँस र जनावरको कपालबाट उनीहरूको गुँड तयार हुन्छ ।

आसकोटे बकुल्ला

यो प्रजातिको बकुल्ला भारतीय उपमहाद्वीपको अधिकांश जलीय बासस्थानमा पाउने गरिन्छ । यो जातिको चरा वयस्क हुँदै जाँदा गाढा रातो र खैरो रंगको हुन्छ । यो चराको उत्पत्तिलाई हेर्दा अफ्रिका, युरोप र एसियाबाट उत्पत्ति भएर दक्षिणमा इरान हुँदै विश्वभरि फैलिएको थियो ।

पूर्वमा पाकिस्तान, भारत, बर्मा, बङ्गलादेश, र श्रीलङ्कासम्म यो चराको प्रजननको लागि उपयुक्त ठाउँ मान्ने गरिन्छ । यो चराको प्रजनन् समय भनेको असारदेखि असोजसम्म हो ।

हुटिट्याउँ

हुटिट्याउँको बारेमा नेपालमा एउटा उक्ति नै छ ‘हुटिट्याउँले संसार थाम्दैन’ भन्ने । यो प्रजातिका चराहरूको पनि विभिन्न प्रकार हुन्छ ।

हुटिट्याउँ एउटा ठूलो खुट्टाभएको चरा हो । बगरमा लामो बेग मारेपछि एकछिन थकाइ मार्ने र खोलामा गएर पानी खाने यो चराको विशेषता हो । पानी खानेबेलामा पानीमा आकाशको प्रतिछाया देखेर उसले उत्तानो परेर आकाशतिर खुट्टा देखाउने भएकोले हुटिट्याउँले आकाश थाम्न खोजेको भन्ने उक्ति बनाइएको हो ।

सेतो टिकटिके

सेतो टिकटिके नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ह्वाइट वाग्टेल भनिन्छ ।

यो प्रजातिको चराहरूमा कालो, सेतो र खैरो रंगको संयोजन पाइन्छ । विश्वका विभिन्न ठाउँमा पाइने यो चराको रंगमा पर्याप्त भिन्नता पाउन सकिन्छ । यो चरा घाँसे क्षेत्र र खुल्ला मैदान एवं बगरहरूमा आफ्नो आहाराको लागि जाने गर्छ ।

फिरफिरे

१० देखि १२ सेन्टिमिटरसम्म लम्बाइ हुने फिरफिरे नेपालमा पाइने एक प्रकारको चरा हो । यो पनि आहारको लागि खुल्ला घाँसे मैदान एवं बाली भएको क्षेत्र तिर जाने गर्छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment