Comments Add Comment

बंगलादेशले पैँचोमा दिने भनिएको मल कहिले आइपुग्छ ?

२० असोज, काठमाडौं । एक महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग नेपाललाई खाँचो परेको भन्दै ५० हजार मेट्रिकटन मल पैँचो मागे । बंगलादेशकी प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको प्रधानमन्त्री ओलीले सोही दिन ट्वीटरमार्फत जानकारी दिए ।

तर बंगलादेशले पैँचोमा दिने भनिएको युरिया मल अझै आइपुगेको छैन । बंगलादेशबाट मल ल्याउन टेण्डर हात पारिसकेको यूएईको कम्पनी पनि सम्झौता गर्न आएको छैन ।

त्यसैले मल आउन अझै केही समय लाग्ने देखिएको छ । झन्झटिलो टेण्डर प्रक्रियाका कारण मल आइपुग्ने मिति अझै एकिन हुन नसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

बंगलादेशबाट मल ल्याउनका लागि छोटो ग्लोबल टेण्डर गरिएको भनिए पनि प्रक्रिया अझै सकिएको छैन । एक साताको समय दिएर आह्वान गरिएको टेण्डर यूएईको डेनट्रेड यूएई नामको कम्पनीले हात पारेको छ । तर सम्झौता गर्न कम्पनी नआएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

टेण्डरका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये सबैभन्दा कम ८२.२४ डलर प्रतिमेट्रिक टनमा मल ल्याउने गरी उक्त कम्पनीको आवेदन परेको र ठेक्का सम्झौता गर्न आगामी शुक्रबारसम्मको म्याद रहेको कम्पनीका प्रबन्धक नेत्रबहादुर भण्डारीले बताए । ‘शुक्रबारसम्म ठेक्का सम्झौता हुने छ र कम्पनीले एलसी खोलेको बढीमा ७० दिनभित्र मल आइपुग्ने छ,’ भण्डारीले भने ।

मल ल्याउनका लागि कम्तीमा ८२.२४ डलर प्रतिमेट्रिक टनदेखि बढीमा १०५ डलरसम्मको आवेदन परेको उनले बताए । ढिलामा मंसिरको पहिलो सातासम्म मल आइपुग्ने र यसले तोरी तथा गहुँका लागि वितरण गर्न पुग्ने भण्डारीले बताए । कात्तिकमा छरेको गहुँ र तोरीलाई मंसिरमा र मंसिरमा छरेकोलाई पुसमा हाल्न युरिया मलको अभाव नहुने उनले बताए ।

सैलुङले माग्यो थप समय

धानमा हाल्ने गरी २५ हजार मेट्रिक टन मल युरिया नल्याएर कारबाही भोगेको शैलुङ इन्टरप्राइजेजले थप ३० हजार मेट्रिकटन युरिया मल ल्याउन नसक्ने संकेत देखिएको कृषि सामाग्री कम्पनीले जनाएको छ ।

मल शिपमेन्टको समय गुजारेको आयातकर्ताले मल ल्याउने दाबी गर्दै शिपमेन्ट समय थप गर्न माग गरेको कम्पनीको प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए । ‘कागज पत्र हामीले मागेको छौँ, उसले बुझाएका कागजमा विश्वसनीय आधार देखिएका छैनन् । तर मल ल्याउन उनीहरुलाई ४५ दिनको समय छ हामी विचार गर्दै छौँ,’ भण्डारीले भने ।

गत असारमा भएको ठेक्का सम्झौता बमोजिम १०७ दिनमा मल नेपालमा ल्याइसक्नु पर्छ तर कम्पनीबाट जहाजमा मल पठाउने समय भने सैलुङले गुजारेको छ ।

कुल एक सय ७ दिनमध्ये अब बाँकी ४५ दिनमा मल ल्याउन सक्नेबारे कम्पनी पर्खेर बसेको कम्पनीले जनाएको छ । गहुँ, तोरी र तरकारीको लागि चाहिने ३० हजार मेट्रिकटन युरिया मलका लागि ग्लोबल टेण्डरमार्फत सैलुङले सस्तोमा ठेक्का हात पारेको थियो ।

यो पनि पढ्नुहोस मल किन्न सहकारीमै ओच्छ्यान ! महंगोमा बेच्नेलाई कारवाही भएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment