Comments Add Comment

राजधानी विवाद : दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

२० असोज, बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । ‘राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ कनौडियाले भने, ‘प्रदेशको नामाकरण लुम्बिनीमा भने हाम्रो असहमति छैन ।’

मंगलबार (आज) बस्ने प्रदेश सभा बैठकमा राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूचि छ । प्रदेशसभामा  सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ ।

उक्त प्रस्तावमाथि प्रतिपक्षी दलहरुको विरोधका बीच सोमबार छलफल भएको र सांसदहरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दिइसकेका छन् । सोमबारको बैठकमा मन्त्री केसीले जवाफ दिने क्रममा कांग्रेसका सांसदहरुले होहल्ला गर्दै कुर्सी तोडफोड गरेका थिए । कुर्सी तोडफोड गर्ने आफ्ना सांसदहरुलाई कारबाही गर्ने चेतावनी कांग्रेसले दिएको छ ।

यो पनि पढ्नुहोस प्रदेशसभामा कांग्रेस सांसदको तोडफोड

प्रदेशको नाम र राजधानीको निर्णय गर्न दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था छ । ८७ जना सांसद रहेको सत्तारुढ दल नेकपाका मात्रै ६१ सांसद छन् । दुई तिहाइ पुग्न ५८ सांसद चाहिन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा र कपिलवस्तुका सांसदलाई राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न कार्यकर्ताको दबाब छ । नोट अफ डिसेन्ट लेखेका १४ जनाले पार्टीको कारवाही भोग्न तयार भएर विपक्षमा मतदान गरेमा भने प्रस्ताव पारित हुन कठिन छ ।

यो पनि पढ्नुहोस कांग्रेसका १० नेताले भने – प्रदेश ५ को राजधानी भालुवाङ नै ठीक

नेपाली कांग्रेसका १९ जनामध्ये साविक लुम्बिनी अञ्चलका १३ जना र ६ जना साविक राप्ती र भेरी अञ्चलका छन् । कांग्रेसका ६ जना सांसदले ह्वीप उल्लंघन गरेर दाङको पक्षमा मतदान गरेपनि प्रस्तावका पक्षमा ५३ मत हुन्छ र दुई तिहाइ पुग्दैन ।

कांग्रेसका सबै सांसदले पार्टीको ह्वीप मानेर दाङको विपक्षमा मतदान गरेमा  नेकपाका १४ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेमा र अन्य साना दलले दाङको पक्षमा मतदान नगरेमा प्रस्तावको पक्षमा दुई तिहाइ पुग्दैन । प्रदेश सभामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका मात्र ५१ सांसद छन् । साबिक राप्ती र भेरीका ३६ सांसद छन् ।

यो पनि पढ्नुहोस चार भोटले चिप्लिन सक्छ भालुवाङ ! यो पनि पढ्नुहोस प्रदेश ५ को राजधानी : भालुवाङ छान्दा बुटवलमा बिरोध यो पनि पढ्नुहोस कांग्रेस सांसद भन्छन्– ह्वीप मानिन्न, दाङमै भोट हालिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment