Comments Add Comment

‘टिकटक र विच्याटमाथिको अमेरिकी प्रतिबन्ध डब्लुटीओको नियम विपरीत’

चिनियाँ मोबाइल एपहरु टिकटक तथा विच्याटमाथि अमेरिकाले लगायको बन्देज विश्व व्यापार संगठनको नियम विपरीत रहेको चीनले दाबी गरेको छ ।

विश्व व्यापार संगठनको एक बैठकमा बोल्दै चिनियाँ प्रतिनिधिले टिकटक तथा विच्याट माथि अमेरिकाले बन्देज लगाएर डब्लुटीओको नियम उल्लंघन गरेको बताएका हुन् ।

अमेरिकी सरकारले यी दुई एप अमेरिकामा डाउनलोड गर्न बन्देज लगाउने आदेश जारी गरिसकेको छ भने अमेरिकास्थित टिकटकको कारोबार बिक्री गर्नका लागि उसको मातृ कम्पनी बाइटडान्सलाई भनिसकेको छ ।

यी दुई चिनियाँ एपले अमेरिकी अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको ट्रम्प प्रशासनको दाबी छ । यद्यपि सरकारी कदममाथि अमेरिकी अदालतले प्रश्न उठाएपछि तत्काल प्रतिबन्ध कार्यान्वयन हुन पाएको छैन ।

शुक्रबार आयोजना भएको विश्व व्यापार संगठनको एक बैठकका क्रममा चिनियाँ प्रतिनिधिले अमेरिकी कदम संगठनका नियमहरुसँग मेल नखाले खालको हुनुका साथै यसले सिमापार व्यापारिक सेवालाई बन्देज लगाएको बहुपक्षीय व्यापार प्रणालीको आधारभूत सिद्धान्त र उद्धेश्यको उल्लंघन गरेको बताएका छन् ।

अमेरिकाले चिनियाँ एपमाथि बन्देज लगाउनुको बस्तुनिष्ठ कारण दिन नसकेको भन्दै उनले त्यस्तो कार्य नियमको प्रष्ट उल्लंघन भएको बताए ।

यद्यपि सोही बैठकमा अमेरिकी प्रतिनिधिले भने सरकारी कदमको बचाउ गरे । अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा चुनौती निवारणका लागि त्यस्तो कदम चालेको उनको भनाई थियो ।

अमेरिका विरुद्ध चिनियाँ कूटनीतिज्ञले डब्लुटीओको बैठकमा व्यक्ति गरेको उक्त प्रतिक्रियासँगै चीनले अमेरिकाविरुद्ध डब्लुटीओमा कानूनी उजुरीसमेत दर्ता गर्नसक्ने अनुमान गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment