Comments Add Comment

आईपीएल त भयो, नेपालका फ्रेन्चाइज लिग के होला ?

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यति बेला विश्वभर क्रिकेटको माहोल बनाएको छ ।

महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ ।

कोरोना महामारीको चपेटामा परेका आयोजकले सरकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्न सक्ने दावी गरेका छन् ।

मुखैमा आएको एभरेष्ट प्रिमियर लिग विश्व भर फैलिएको कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भयो । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो । तर कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजक प्रचारमा मात्रै सीमित रह्यो ।

लाखौं रकम खर्च भइसकेपछि कोरोना महामारीका कारण खेल स्थगित गर्नुपर्‍यो । नेपालमा फ्रेन्चाइज लिगको अवधारणा सहित स्थापित भएको धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ति जारी गरेर अनिश्चित कालका लागि स्थगित भएको जानकारी दिएको छ ।

प्रतियोगिता अनिश्चतकालका लागि स्थगित गर्नु पर्दा खेलाडीदेखि विज्ञापन दाता, आयोजक सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

कात्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन । आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ । यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंका धेरै छ । महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नु पर्ने डीपीएलका शाहीले बताए ।

नेपालमा क्रिकेट संघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले क्यालेन्डरमा समावेश गरेर सञ्चालनको वातावरण गराउनु पर्ने कतिपयले सुझाउँदै आएका छन् ।

महामारीको अवस्थालाई उच्च सतर्कता अपाउनाउँदै खेलकुद गतिविधि सुचारु गर्नु पर्ने विज्ञले सुझाव दिइरहेका छन् । सरकारले महामारीलाई कारण देखाएर खेलकुद गतिविधि रोक्नु खेलकुदका लागि अन्याय हुने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment