Comments Add Comment

पूर्व सैनिकलाई युद्धमा सामेल हुन अर्मेनियाको आग्रह

Photo Credit : AFP

२० असोज, काठमाडौं । अजरबैजान र अर्मेनियाबीच युद्ध जारी रहेको अवस्थामा अर्मेनियाले पूर्व सैनिकहरुलाई युद्धमा सहभागी बन्न आग्रह गरेको छ । युद्ध रोकिने अवस्था नदेखिएसँगै अर्मेनियाले पूवै सैनिकहरुसँग यस्तो आग्रह गरेको हो ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले समाजिक सञ्जाल फेसबुकमा लेख्दै गत वर्ष सेनाबाट अवकाश लिएका मानिसहरुलाई यो युद्धमा सहभागी हुन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘म उनीहरुलाई फिर्ता बोलाउन चाहन्छु र उनीहरुलाई आफ्नो मुलुकको अस्तित्वको लागि अड्न आग्रह गर्छु ।’

दुवै मुलुकले यो युद्धमा एकअर्कालाई निरन्तर आरोप प्रत्यारोप गरिरहेका छन् । सोमबार दुवै मुलुकले एकअर्कामाथि मानव बस्तीमा आक्रमण गरेको आरोप लगाएका छन् । नागोर्ना कराबखको विषयमा भइरहेको युद्धमा भएको भीषण बमबारीमा क्लस्टर बमको प्रयोग गरिएको बेलायती समाचार पत्र टेलिग्राफले बताएको छ । अन्तर्राष्ट्रिय सम्झौताअनुसार क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । क्लस्टर बम सयौं साना बमहरु मिलेर बनाइएको थियो । यो बम विष्फोट हुँदा त्यसको असर ठूलो क्षेत्रमा फैलिन्छ र यसबाट धेरै मानिसहरु घाइते हुन सक्छन् ।

सेप्टेम्बर २७ बाट सुरु भएको यो युद्धमा अहिलेसम्म दुई सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अजरबैजानका राष्ट्रपति इल्हमा अलियेवले यो युद्ध रोक्न अर्मेनियाले आफ्नो आसपासको क्षेत्रबाट सेना हटाउनुपर्ने बताएका छन् । टर्कीमा एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने, ‘हामी कुनै पनि मुलुकको जमिनमा आँखा गाड्दैनौं तर जुन भूमि हाम्रो हो, त्यो भूमि हाम्रो हुनु जरुरी छ ।’

अन्तर्राष्ट्रिय समुदायहरुले पनि अर्मेनिया र अजरबैजानबीच जारी युद्ध रोक्न आग्रह गरेका छन् । यसैबीच क्यानडाले यो युद्धमा अजरबैजानको साथ दिइरहेको टर्कीलाई हतियार दिन अस्वीकार गरेको छ । यो युद्धमा टर्कीलाई दिइएको सैन्य हतियारको प्रयोग भएको समाचार आइरहेकाले त्यसको स्वतन्त्र पुष्टि नहुँदासम्म उसलाई हतियार दिने सम्झौता निलम्बित गरिएको क्यानडाले बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment