Comments Add Comment

दशैंमा देशभरका शक्तिपीठ खोल्ने प्रस्ताव सीसीएमसीमा

हाल बन्द रहेको एक शक्तिपीठ गोरखकाली मन्दिर ।

२० असोज, काठमाडौं । देशभर रहेका शक्तिपीठहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पालना गर्नेगरी शक्तिपीठ खुला गर्ने प्रस्ताव गत साता सीसीएमसीमा पठाएको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।

विभिन्न भगवानको स्त्री स्वरुपलाई शक्ति भन्ने गरिन्छ । पौराणिक मान्यता अनुसार सतिदेवीको अंग पतन भएको ठाउँमा अष्टमात्रिकाको बसोबास छ भने त्यो ठाउँलाई शक्तिपीठ भन्ने गरिन्छ ।

दशैंको घटस्थापनको दिनदेखि नौ दिनसम्म देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण पछिल्लो छ महिनादेखि सबै धार्मिक स्थलहरू बन्द छ । तर हिन्दु नेपालीहरूको मुख्य पर्व भएकोले दशैंमा सुरक्षा सतर्कता अपनाएर शक्तिपीठ खोल्न माग हुँदै आएको थियो ।

अन्योलमा स्थानीय प्रशासन

केन्द्रले यकिन निर्णय नदिएपछि स्थानीय प्रशासन भने शक्तिपीठ खोल्ने कि नखोल्ने भन्नेबारे अन्योलमा छन् । केन्द्र सरकारलेको मन्त्रिपरिषद्ले नै धार्मिक क्षेत्रलाई नखोल्ने भनेर निर्णय गरेकोले स्थानीय प्रशासन ऐनले दिएको अधिकार अनुसार पनि मन्दिर खोल्ने निर्णय गर्न नसक्ने भएकोले केन्द्रले निर्णय नगर्दासम्म शक्तिपीठ खुल्न नसक्ने धेरै स्थानीय प्रशासनको तयारी छ ।

सतीदेवीको दाँत पतन भएको मानिने सुनसरीको दन्तकाली देवीको मन्दिर खुला गर्ने कि नगर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सुझाव मागेको छ ।

दूर्गा पूजा लगायतको नाममा भिडभाड हुने भएपछि अहिले प्रशासनले दूर्गा पूजाको लागि कसैलाई पनि अनुमति नदिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए ।

प्रशासनले चाडपर्व योजना अनुसार शक्तिपीठ भक्तजनको लागि खुला गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा अर्काे साता जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा छलफल गर्ने तयारी भएको जानकारी दिए ।

उता, बाँके, सल्यानलगायत जिल्ला प्रशासनले भने केन्द्र सरकारको निर्णय कुरेर बसेको बताएको छ । स्थानीय प्रशासन ऐन सक्रिय भएपछि विभिन्न सेवा निषेध गर्ने अधिकार जिल्ला प्रशासनले पाए पनि केन्द्र सरकारले बन्द गरेको निर्णय उल्ट्याउने अधिकार आफूसँग नभएकोले केन्द्र सरकारको निर्णय कुरेर बसेको बाँके जिल्ला प्रशासनले जनाएको छ ।

बाँके प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अहिले दूर्गा पूजाको मूर्ति बनाउने काम पनि रोकेको भन्दै सरकारले जे निर्णय गर्छ सोही अनुसार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment