Comments Add Comment

धमाधम हुँदैछन् सार्क मन्त्रीस्तरीय बैठक, शिखर सम्मेलन अझै अनिश्चित

बिहीबार भएको शिक्षामन्त्रीस्तरीय बैठकमा सहभागी नेपाली टोली ।

२२ असोज, काठमाडौं । शिखर सम्मेलनको अनिश्चियका बीच केही महिनायता नेपालको अध्यक्षतामा दक्षिण एसियाली सहयोग संगठन (सार्क) को विभिन्न मन्त्रीस्तरीय वैठक धमाधम भइरहेका छन् । कोभिड–१९ का कारण वैठक भर्चुअल माध्यममार्फत भएका छन् ।

बिहीबार सार्क राष्ट्रका शिक्षा मन्त्रीहरुको वैठक भयो । वैठकमा कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेका नकारात्मक प्रभावलाई कसरी मिलेर काम गर्ने भन्ने विषयमा छलफल भएको सार्क सचिवालयले जानकारी दिएको छ ।

२४ सेप्टेम्बरमा सार्कका परराष्ट्रमन्त्रीहरुको वैठक भएको थियो । वैठकमा आठै सदस्य मुलुकका परराष्ट्रमन्त्रीले सार्कले निर्णय कार्यान्वयनबारे आआफ्नो समीक्षा प्रस्तुत गरेका थिए । वैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सकेसम्म छिटो सार्क सम्मेलन गर्ने सम्भावित विकल्पहरु खोज्नको लागि सदस्य मुलुकलाई आग्रह गरेका थिए । तर सो वैठकमा सार्क सम्मेलनको मिति तय गर्ने सम्बन्धमा कुनै पनि सहमति भने हुन सकेन ।

१६ सेप्टेम्बरमा कोभिड–१९ र सार्कको अर्थतन्त्रबारे छलफल गर्न सार्कका अर्थमन्त्रीहरुको वैठक बसेको थियो । वैठकमा कोभिड–१९ ले सार्क मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव र त्यसलाई मिलेर कसरी कम गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा मार्च १५ मा सार्क राष्ट्रका सरकार तथा राज्य प्रमुखहरुको वैठक बसेको थियो । वैठकले कोभिड–१९ नियन्त्रणका लागि सार्क मुलुकहरुको बीचमा मिलेर काम गर्ने सहमति भएको थियो । मोदीको प्रस्ताव अनुसार वैठकले कोभिडविरुद्ध लड्नका लागि सार्क इमर्जेन्सी फण्ड स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अप्रिल २३ मा सार्कका स्वास्थ्य मन्त्रीहरुको वैठक बसेको थियो । वैठकमा कोभिड– १८ लाई नियन्त्रण गर्नका लागि सहकार्य गर्ने विषयमा सहमति भएको थियो ।

कूटनीतिक विश्लेषकहरु केही समययता सार्क अन्तर्गतका वैठकहरु निरन्तर रुपमा भइरहे पनि शिखर सम्मेलनका लागि यसले धेरै योगदन नगर्ने र त्यसका लागि अझै केही समय लाग्ने बताउँछन् । सन् २०१६ को नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा तय भएको सम्मेलन अन्तिम समयमा स्थगन भएको थियो । सम्मेलन स्थगन भएको चार वर्ष भइसकेको छ, तर अर्काे वैठक कहिले हुन्छ भन्ने अझै अनिश्चत छ ।

पूर्व राजदूत डा. दिनेश भट्टराई पछिल्लो समयमा भारतलाई सार्क अगाडि बढाउनुपर्छ भन्ने केही रियलाइजेसन भएपनि सम्मेलन हुनको लागि केही समय लाग्ने बताउँछन् ।

पछिल्लो समयमा भएका वैठकहरुले सम्मेलनको वातावरण बनाउन केही इँटा थप्ने काम गरेको उनले बताए । ‘राष्ट्रसंघ महासभाको साइडलाइनमा भएको सार्कका परराष्ट्रमन्त्रीहरुको वैठक हेर्दा भारत र पाकिस्तानको अडानमा केही परिवर्तन आएको देखिन्छ’ उनले भने, ‘तर अझै भारत र पाकिस्तानको बीचमा हठ देखिन्छ ।’

उनका अनुसार शिखर सम्मेलन गर्नका लागि भने केही समय लाग्ने देखिन्छ । भन्छन्, ‘विस्तारै दुवैले सार्कको महत्व रियलाइजेसन गर्लान् र सम्मेलनका लागि वातावरण बन्ला ।’

कूटनीतिक क्षेत्रमा लामो समयदेखि कलम चलाइरहेको विश्लेषक चन्द्रदेव भट्ट भन्छन्, ‘कोरोना महामारीको समयमा यसकाविरुद्ध कसरी लड्ने भन्नेमा निरन्तर अन्तर्क्रियाको आवश्यकता छ । यस क्षेत्रमा खुला सिमाना, मानिसहरुको आवतजावत लगायतका विषयले मुलुकहरुको बीचमा सहकार्यको आवश्यकता रहेको छ । तर सहकार्य सार्क सम्मेलन गरेर संस्थागत ढंगले आगाडि बढाउन भारत र पाकिस्तान दुबै तत्पर नभएको उनको बुझाइ छ ।

पछिल्लो बैठकका श्रंखला

मार्च १५ : सरकार प्रमुखको भिडियो सम्मेलन

अप्रिल २३ : स्वास्थ्य मन्त्रीहरुको बैठक

सेप्टेम्बर १६ : अर्थमन्त्रीहरुको बैठक

सेप्टेम्बर २४ : परराष्ट्र मन्त्रीहरुको बैठक

अक्टोबर ८ :  शिक्षामन्त्रीहरुको बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment