Comments Add Comment

दुर्गमको पीडा : अस्पताल पुग्न नपाउँदै जान्छ सुत्केरीको ज्यान

२३ असोज, कैलाली । बाजुराको बुढीनन्दा नगरपालिका वडानम्बर ४ की २३ वर्षीय अम्बकला रोकायालाई बिहीबार व्यथा लाग्यो । परिवारले नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा लैजाने तयारी गरे, तर बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति थिएन ।

स्वास्थ्य इकाइमा रहेका अनमी र अहेब पनि कार्यालय सहयोगीलाई जिम्मा लगाएर कोल्टी गएका रहेछन् । अम्बकलालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजानुपर्ने भयो ।

आफन्तले बोकेर पाँच घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर लैजाँदै थिए । तर करिब १ घण्टाको बाटो पास गरेर दोगाडे पुग्दा अम्बकलाको मृत्यु भयो ।

बिहीबार राति करिब ११ बजे सुत्केरी भइसकेपछि उनको मृत्यु भएको छिमेकी बिर्खबहादुर रोकायाले जानकारी दिए । उनले भने, ‘धेरै कमजोर अवस्था भइसकेको थियो । अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनुभयो र उहाँ बित्नुभयो ।’ शिशु भने सकुशल छन् ।

घर नजिकैको रहेको स्वास्थ्य इकाईमा आवश्यक जनशक्ति नहुँदा रोकायाले अकालमा ज्यान गुमाउनु परेको बुढीनन्दा नगरपालिका वडानम्बर ४ का अध्यक्ष राजन रोकायाले बताए ।

बर्थिङ सेन्टर हुँदा पनि सुत्केरी गराउने जनशक्तिको नगरपालिकाले व्यवस्था नगरेको उनले बताए । ‘कार्यपालिका बैठकमा स्वास्थ्य आधारभूत इकाइमा रहेको बर्थिङ सेन्टरमा सुत्केरी गराउने कर्मचारीको व्यवस्था गर्न पटकपटक आग्रह गरेको छु । तर उहाँहरूले चासो दिनु भएन’ वडाध्यक्ष रोकायले भने, ‘प्राथमिक स्वास्थ्य केन्ऽ लैजाने क्रममा कति त बाटोमै सुत्केरी भइरहेका छन् ।’

बुढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीले पटकपटक बर्थिङ सेन्टरमा कर्मचारी खटाउन निर्देशन दिए पनि अझैसम्म कर्मचारी नगएको बताए । ‘प्रत्येक कार्यपालिकाको बैठकमा त्यहाँ एसबिय तालिम लिएका जनशक्ति पठाउने कुरा हुन्छ तर, दुर्गम भएको हुँदा कर्मचारी जान मान्दैनन्’ उनले दुखेसो पोखिन् ।

बाजुरामा सुरक्षित प्रसूति सेवा नपाएकै कारण सुत्केरीको मृत्यु भएको थुप्रै घटना छन् । गत बर्ष मात्रै ५ जना सुत्केरीले सुरक्षित प्रसूति सेवा नपाउँदा मृत्यु वरण गर्नु परेको थियो ।

भदौ २५ गते बुढीनन्दा नगरपालिका वडा नं. १० का ३५ वर्षीया निर्मला बोहराको उच्च रक्तस्रावका कारण मृत्यु भएको थियो । भदौ ७ गते जिल्ला अस्पताल बाजुरामा बडीमालिका नगरपालिका-७ का २१ वर्षीया वसन्ती नेपालीको सुत्केरी हुँदा ज्यान गयो ।

कात्तिक १६ मा त्रिवेणी नगरपालिका-१ छताराका ३७ वर्षीया रजिया नेपालीको मृत्यु भएको थियो । सुत्केरी बेथा लागेपछि आफन्तहरूले नजिकैको छतारा स्वास्थ्य चौकीमा पुराएका थिए । अर्काे दिन बिहान उनको ज्यान गयो ।

मङसि र १० मा जगन्नाथ गाउँपालिका-५ गोत्री सामुदायिक एकाइ केन्द्रमा जगन्नाथ गाउँपालिका-६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावलको मृत्यु भएको थियो ।

बाजुराका स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुँदा धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्यकर्मीको परामर्श नलिने गरेकै कारण पनि मृत्यु हुनेको संख्या बढिरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्लामा जटिल अवस्थाका केहि सुत्केरीलाई हेलिकोप्टरबाटै उद्धारसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment