+
+
Shares

फिल्म छायांकनका लागि अनुमतिको झन्झट

बोर्ड अध्यक्ष भन्छन्–‘चाडै समस्या समाधान गर्छु’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १३:३७

निर्देशक प्रदिप भट्टराइले सामाजिक संजालमा एउटा स्टाटस लेखे–‘सिनेमामा केही विग्रेको, कोही विग्रेको देखाउन नपाउने हो भने चलचित्र होइन, भजन बनाउँदा हुन्छ । प्रभुको गुनगान गायो बस्यो ।’

प्रदिपको स्टाटस प्रहरी प्रधान कार्यलयले चलचित्रमा प्रहरीको भूमिका र प्रहरीको बर्दीको प्रयोग गर्नु अगाडि अनुमति लिन सार्वजनिक गरेको विज्ञप्तीपछि आएको हो । उसो त प्रहरीले यो विज्ञप्ती पहिलो पटक निकालेको भने होइन । चलचित्र छायांकनका क्रममा प्रहरीको बर्दी र प्रहरीको भूमिका देखाउँदा प्रहरी प्रधान कार्यलयमा स्क्रिप्ट नै वुझाउनुपर्छ ।

निर्देशक दीपेन्द्र लामाले प्रहरीको विज्ञप्ती आएसँगै यसको आलोचना गर्दै लेखे–‘नेपाल प्रहरीले पञ्चायतकालको मानसिकता कहिले त्याग्ने ? चलचित्र विकास बोर्डले के हेरेर बसेको छ ? चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियो, छोटा चलचित्रमा प्रहरी पात्र देखाउन अनुमति लिनु भन्दै प्रहरीले उर्दी जारी गरेछ । प्रहरी पात्रले चोरी, जाली काम गरेको देखाइयो भने पटकथा सच्चाएर ल्याउन भन्छ । यतिमात्र होइन, सिनियर प्रहरीले जुनियरलाई तिमी वा तँ भनेर सम्बोधन गरेको छ भने तपाई लेखेर ल्याउनु भन्छ ।’

दीपेन्द्रले प्रहरीलाई आफ्ना अफिसरहरुलाई तमिज सिकाउन, घुस नखान, बलात्कार नगर्न, हत्या नगर्न सिकाउन आग्रह गरेका छन् । चलचित्रकर्मीलाई चलचित्र बनाउन दिन आग्रह गर्दै उनले चलचित्रकर्मीको विवेकलाई पनि सम्मान गर्न भनेका छन् ।

चलचित्र बनाउँदा चलचित्रकर्मीले चलचित्र विकास बोर्डबाट कथाको भाव वुझाएर स्विकृती लिनुपर्ने हुन्छ । तर, चलचित्र विकास बोर्डबाट स्विकृती लिइसकेपछि विभिन्न कामका लागि अनुमति लिदालिदै चलचित्रकर्मी थाक्छन् ।

प्रहरी, नेपाली सेनाको पहिरन प्रयोग गर्न, लोकेसनदेखि ड्रोन उडाउन, पुरातात्विक विभाग, हिमाल खिच्न हिमालसँग सम्बन्धीत संस्था, विमानस्थलमा अनुमति लिन उस्तै सकस चलचित्रकर्मीले भोग्दै आएका हुन् । जसलेगर्दा, चलचित्रको छायांकन जटिल बन्दै गएको छ । एकद्धार नीति नहुँदा यो समस्या आएको आम चलचित्रकर्मीको तर्क छ ।

एकद्धार प्रणालीका लागि काम अगाडि बढाएका छौः दयाराम दाहाल

चलचित्रकर्मीले चलचित्र छायांकनका लागि चलचित्र विकास बोर्डबाट एकद्धार प्रणाली लागू गर्नुपर्ने माग गरिरहेका छन् । यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने–‘संचारमन्त्रालयमा अहिले एकद्धार समिती बनेको छ । यसको २ वटा वैठक बसिसकेको छ । मैले सो बैठकमा चलचित्र छायांकनका क्रममा स्विकृती लिन विभिन्न निकाय जानुपर्ने झन्झट चलचित्रकर्मीलाई भयो । यसका लागि एकद्धार प्रणाली आवश्यक छ । यसको अधिकार चलचित्र विकास बोर्डर्लाइ दिनुपर्छ भनेको छु ।’

बोर्ड अध्यक्षले कसरी अगाडि जान सकिन्छ त्यो प्रक्रिया बोर्डले पुरा गर्ने भन्दै चलचित्रकर्मीलाई झन्झट दिन नहुने बताए ।

दाहालले भने–‘दशैं अगाडि समितीको एउटा वैठक फेरि पनि बस्छ । सो बैठकबाट म यो बिषयलाई टुंग्याउने प्रयास गर्छु । प्रहरी र नेपाली सेनासँग सम्बन्धित बिषयमा पहिले पनि स्क्रिप्ट नै वुझाउनुपथ्र्यो । यो मैले पनि गरेको छु । मैले प्रहरीसँग वुझ्दा उहाँहरुको कुरा के पाएँ भने, प्रहरीको दज्र्यानी चिन्ह, पहिरन सही तरिकाले प्रयोग नगरिदिने कामले संस्थामाथि नै प्रहार भएको भन्ने रहेछ । प्रहरी भित्रको विकृती, विसंगती त देखाउन पाइयो । तर, संस्थाको मानमर्दन त गर्नुपर्यो नी ।’

बोर्ड अध्यक्षले यो बिषयमा चलचित्र, टेलिचलचित्र बनाउँदा ख्याल गर्नुपर्ने बताए । उनले भने–‘हामीले एकद्धार समितीमा राखेको कुरा के हो भने, बोर्डले स्क्रिप्ट हेरेर आवश्यकता अनुसार अनुमति दिएपछि सोही अनुमति पत्र नै अन्तिम हुनुपर्यो । हरेक ठाउँमा अनुमति लिदै हिड्नुपर्ने झन्झट हट्नुपर्छ भन्ने नै हो । समितीको बैठकमा म जोडदार रुपमा यो बिषय राख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?