Comments Add Comment

कविता सुनाएर नोबेल पुरस्कार जित्ने लुइसको चिन्ता- अब मेरा साथीहरु हुन्नन् होला !

साहित्यको नोबेल पुरस्कारले घर किन्ने योजना

साँच्चै वसन्त मकहाँ फर्केको छ यसपालि

प्रेमीको रुपमा होइन, तर मृत्युको दूत भएर

अझै वसन्त जारी छ, यो अझै विनम्र देख्छु म ।

माथिका हरफहरु साहित्यतर्फको नोबेल पुरस्कार बिजेता अमेरिकी कवयत्री लुइस ग्लुकको सन् १९९९ मा प्रकाशित ख्यातिप्राप्त कविता संग्रह ‘भिटा नोभा’ को सोही शीर्षकको कविताका अन्तिम वाक्यांश हुन् ।

साहित्यतर्फको नोबेल पुरस्कारको घोषणापछि बिहीबार ७७ वर्षीया अमेरिकी कवयत्री लुइसले नोबेल मिडियाका आदम स्मिथसँगको दुई मिनेटको संक्षिप्त अन्तरवार्तामा भनिन्, अब मेरा साथीहरु हुन्नन् होला । किनभने, मेरा साथीहरु प्रायः सबै लेखक नै छन् । तर, उनले तत्कालै थपिन्, ‘शायद त्यसो हुन्न होला ।’

लुइसले नोबेल पुरस्कारबाट प्राप्त रकमबाट भर्मण्टमा घर किन्ने विचार गरेको बताएकी छिन् । साथै उनले आफूले प्रेम गर्ने मानिसहरुको दैनिक जीवन संरक्षण गर्न प्रतिवद्ध भएकोसमेत बताएकी छिन् ।

एक करोड स्वीडिस क्रोनर अर्थात् एघार मिलियन डलरको यो पुरस्कार रकम र प्रतिष्ठाको हिसाबले आकर्षक छ । जुन पुरस्कार कविता क्षेत्रले प्राप्त गरेको छ । र, यसले पक्कै पनि कविताको महत्वलाई बढाइदिएको छ ।

साहित्यकारको अडकलबाजी सकियो

सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री ग्लुकलाई प्रदान गरिने स्वीडिस एकेडेमीको घोषणासँगै कुन साहित्यकारले यस वर्षको नोबेल पुरस्कार पाउला भन्ने विश्वव्यापी अडकलबाजी एक वर्षका लागि अन्त्य भएको छ ।

यद्यपि पछिल्ला वर्षहरु नोबेल पुरस्कारका लागि सुखद् रहेनन् ।

सन् २०१८ मा नोबेल कमिटीका सदस्यको यौनकाण्डले पुरस्कार नै स्थगित भयो भने गत वर्ष सन् २०१९ को पुरस्कार अष्ट्रियन लेखक पिटर ह्यण्डकेलाई दिइने घोषणापछि विवाद चुलियो ।

पिटर युद्ध अपराधी मानिएका तानाशाह श्लोवोदान मिलिसोभिचका समर्थक भएको तथा उनको अन्त्येष्टिमा भाषणसमेत गरेका कारण पश्चिमा जगतका आलोचकहरु पुरस्कार फिर्ता गराउनुपर्ने समेत अभियानमा लागेका थिए ।

त्यसैले, यस वर्षको पुरस्कार ती गल्ती नदोहोर्‍याउने र सच्याउने हेतुले जमैका किनकायड वा एन कार्सनलाई दिइन्छ कि भनी साहित्यकारहरु माझ ब्यापक अडकलबाजी गरिएको थियो ।

त्यसो त जापानी उपन्यासकार हारुकी मुराकामी केही वर्षदेखि सम्भावित विजेताका रुपमा चर्चित थिए ।

त्यस्तै, यस वर्ष तीन चिनियाँ लेखकहरु यान लियाङ्के, क्यान शु र यु हुवा पनि सम्भावित पात्रका रुपमा चर्चामा थिए ।

युरोपेली साहित्यकारहरु मिलन कुन्देरा, इस्माइल कादरे, पिटर नादास पनि साहित्यतर्फको नोबेल पुरस्कारका दाबेदार थिए ।

न्यू रिपब्लिकले गरेको भविष्यवाणीअनुसार सम्भावित नोबेल पुरस्कार विजेतामा लुइस ग्लुकसहित थोमस पिन्चोन, डन डेलिलो, जान डिडियन, जोयस च्यारोल ओएटस्, चार्लस् सिमिकलगायत १२ साहित्यकार थिए ।

जे होस् सन् २०२० का लागि अब यो अध्याय टुङ्गिएको छ ।

को हुन् लुइस ?

७७ वर्षीया लुइस एलिजावेथ ग्लुक २२ अप्रिल १९४३ मा न्यूयोर्कमा जन्मेकी हुन् । अमेरिकामा उनका पूर्खा हङ्गेरियन आप्रवासी थिए । लुइसका पिता अमेरिकामै जन्मेका पहिलो पुस्ता थिए ।

स्कुले जीवनमा लुइस अस्वस्थ भइन् र स्कुल छाडेरै उपचार गर्नुपर्ने भयो । तथापि उनले सन् १९६१ मा स्नातक गरिन् ।

स्नातक गरेको सात वर्षपछिसम्म उनलाई थेरापी गर्नुपरेको थियो । त्योबेलाको भोगाइलाई उनी यसरी सम्झना गर्छिन्, म कसै गरी मर्न चाहन्नथें ।

लुइसले साराह लरेन्स कलेजमा सन् १९६३ देखि १९६५ सम्म कविता पठनको कक्षा लिएकी थिइन् । उनले त्यसपछि कोलम्बिया विश्वविद्यालयमा कविताको कार्यशालामा भाग लिइन् ।

लुइसको पहिलो कविता संग्रह ‘फर्स्टवर्न’ सन् १९६८ मा उनको विहा भएको दोस्रो वर्ष प्रकाशित भएको थियो ।

त्यसपछि उनले भर्मण्ट शहरमा अवस्थित गोडार्ड कलेजमा कविताको अध्यापनको काम पनि थालिन् र कविता लेखनलाई निरन्तरता दिइन् । काम पनि कविताको अध्यापन गर्ने र लेखन पनि कविता नै भएकाले ग्लुकले प्रभावशाली कविता लेखनका माध्यमले काव्यिक उडान भर्न थालिन् । यही क्रममा उनले काव्यिक उचाइ हासिल गरिन् ।

ग्लुकको पहिलो विवाह लामो समय टिकेन । दोस्रो विवाहबाट एक छोरा जन्मिए । उनी सबै हिसावले कविता कर्ममै जुटिन् र त्यसमै पूरै जीवन अर्पण गरिन् । त्यो अर्पण, निष्ठा र लगावले उनलाई आज नोबेल पुरस्कार बिजेता बनायो । अन्तरराष्ट्रिय हिसावमा यो सर्वोच्च सम्मान हो, ख्याति हो र उनको कविता कर्मको उच्च मूल्याङ्कन हो ।

हुन पनि नोबेल पुरस्कारको घोषणामा नोबेल कमिटीका तर्फबाट भनिएको पनि छ, ‘उनको त्रुटिरहित काव्यिक आवाजका लागि यसमा निहीत चरम सुन्दरताले व्यक्तिको अस्तित्वलाई सार्वभौमिक बनाउँछ ।’

लुइसले अमेरिकाको जुम्ल्याहा भवनमा आतंककारी हमला भएको घटनापछि त्यसैलाई लिएर एउटा पुस्तक आकारको लामो कविता लेखिन्, जसमा ६ खण्ड छन् ।

लुइस ग्लुकलाई अक्सर आत्मकथात्मक कवयित्री पनि भन्ने गरिन्छ । उनका कवितामा भावनात्मकता प्रचुर हुन्छ । व्यक्तिगत अनुभूतिहरु घनिभूत भएका हुन्छन् र आधुनिक जीवनको प्रतिच्छाया हुन्छ । उनी आफ्ना कवितामा आघात निर्मूल पार्ने, ईच्छाहरु र प्रकृतिलाई समाहित हर्नेखालका विषय र प्रसङ्गलाई भित्र्याउने गर्छिन् ।

विद्वान रोबर्ट बेकर लुइसलाई प्रारम्भिक अर्थमा ‘आत्मस्वीकारवादी कवि’ मान्छन् भने अर्का समालोचक माइकल रोविन्स भने त्यसभन्दा भिन्न मत प्रकट गर्दै ग्लुक सिल्भिया प्लाथ वा जोन बेरिमेन जस्तो आत्मस्वीकारवादी कवि होइनन् । उनका कवितामा बरु आत्मकथात्मकताको महक भने प्रचुर पाइने बताउँछन् अरु समालोचक र विद्वानहरु ।

हेलेन वेण्डलरको मतमा उनका कविताहरु निर्विवाद रुपले निजात्मक छन् । ग्लुकले आफू लूनी आदम्स र स्टानले कुनिजबाट प्रभावित भएको स्वीकारेकी छिन् । तर, कतिपय समालोचकहरु उनका रचनाहरु रोवर्ट लोवेल, रेनर मारिया रिल्के र एमिली डिकिन्सनबाट प्रभावित भएको बताउँछन् ।

लुइस सन् १९९४–१९९८ का लागि भर्मण्ट राज्यको राजकवि ‘पोयट लरेट’ भएकी थिइन् भने सन् २००३–२००४ का लागि संयुक्त राज्य अमेरिकाकी राजकवि घोषित भएकी थिइन् । अमेरिकामा राजकवि निकै सम्मानित पदवी हो ।

पुरस्कारको सिलसिला

सन् २०२० को नोबेल पुरस्कार पाउनुअघि लुइसले सन् २०२० कै लागि ‘ट्रान्सटोमर प्राइज’ प्राप्त गरेकी थिइन् ।

लुइसले ‘द ट्रुम्फ अफ एक्लिस’ का लागि मेलभिल केन अवार्ड तथा नेशनल बुक क्रिटिक्स सर्कल अवार्ड पाएकी थिइन् । ‘आरात’ का लागि रेबेका जोन्सन बोबिट नेशनल प्राइज फर पोयट्री प्राप्त गरेकी थिइन् ।

उनले आफ्नो बहुचर्चित कविता संग्रह ‘द वाइल्ड आइरिस’ का लागि विलियम कार्लोस विलियम अवार्ड तथा पुलित्जर प्राइज पाएकी थिइन् ।

सन् १९९५ मा प्रकाशित उनको गद्य पुस्तक ‘प्रुफ्स एण्ड थ्योरिजः एसेज अन पोयट्री’ का लागि ‘पेन मार्था अल्ब्राण्ड अवार्ड फर फर्स्ट नन फिक्सन’ प्राप्त गरेकी थिइन् ।

त्यसैगरी सन् २००० मा ‘भिटा नोभा’ तथा सन् २००७ मा ‘अर्भेर्नो’ का लागि ‘एम्बेसडर बुक अवार्ड अफ द इङ्गलिस स्पिकिङ युनियन’ पाएकी थिइन् । ‘अर्भेर्नो’ ले एलएल वीनशिप पेन न्यू ईङ्गलैण्ड अवार्ड पनि पाएको थियो ।

सन् २०१२ मा प्रकाशित उनको ‘पोइम्स १९६२–२०१२’ संकलित कविताहरुको संग्रहका लागि लस एन्जेलस टाइम्स बुक अवार्ड प्राप्त गरेकी थिइन् भने सन् २०१४ मा ‘फेथफुल एण्ड भर्च्युअस नाइट’ का लागि प्रतिष्ठित नेशनल बुक अवार्ड प्राप्त गरेकी थिइन् ।

लुइसका कविताको न्यूयोर्क टाइम्समा समीक्षा गर्दै पिटर च्याम्पियनले लेखेका छन्, ‘ग्लुक अमेरिकी कवितामा पाँच दशकदेखि केन्द्रविन्दुमा रहनुको कारण आश्चर्यलाई पुनर्ग्रहण गर्ने उनको अपूर्व क्षमताले गर्दा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment