Comments Add Comment

लालु यादवलाई जमानत, जेलबाट बाहिर निस्किन भने नपाउने

फाइल तस्वीर

२३ असोज, काठमाडौं । भारतको बहुचर्चित चारा घोटलामा मुछिएका बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवले अदालतबाट जमानत पाएका छन् । शुक्रबार उनलाई झारखण्डको उच्च अदालतले चाइबासा कोषको अनियमिततामा जमानत दिने निर्णय गरेको हो । उनी मुख्यमन्त्री हुँदा उनले चाइबासा कोषबाट ३३ करोड ६७ लाख अवैधरुपमा निकालेका थिए ।

यद्यपि उनी अझै जेलबाट बाहिर भने आउन पाउने छैनन् । चारा घोटलाको दुमका कोषको मुद्दाबारे जमानतको टुङ्गो अझै लागिसकेको छैन । अदालतले यसमा पनि जमानत दिएको अवस्थामा उनी जेलबाट बाहिर आउन पाउनेछन् । दुमकामा अनियमितताको विषयमा आगामी नोभेम्बर ९ मा अदालतमा उनको जमानतको लागि याचिका दायर हुने अपेक्षा गरिएको छ ।

शुक्रबार लालु यादवलाई अदालतले जमानत स्वरुप ५० हजार र दुई लाख जरीवाना बुझाउन निर्देशन दिएको छ । साथै उनले जमानतको लागि देखाएको स्वास्थ्य समस्याको कारणलाई पुष्टि गर्ने मेडिकल रिपोर्ट पनि अदालतमा बुझाउनुपर्ने छ । चाइबासा घोटला मुद्दामा उनले आधा सजाय भुक्तान गरिसकेको कारण अदालतले उनलाई जमानत दिएको हो ।

लालु यादव यसअघि नै देवघर कोषको मुद्दामा जमानतमा छन् । उनी उक्त कोषबाट अवैधरुपमा ७९ लाख रकम निकालेको आरोपमा दोषी पाइएका थिए र उनलाई साढे तीन वर्षको सजाय तोकिएको थियो ।

दुमका कोषको अनियमिततामा उनलाई सात वर्षको जेल सजाय तोकिएको थियो । उनले उक्त कोषबाट अवैधरुपमा तीन करोड १३ लाख निकालेका थिए । अहिले लालु यादव विभिन्न फरक फरक घोटालाको मुद्दामा जेल सजाय भुक्तान गरिरहेका छन् । झारखण्डमा उनीमाथि लागेको पाँचमध्ये चार मुद्दामा उनी दोषी पुष्टि भइसकेका छन् । उनी दोषी करार भइसकेकामा दुई चाइबासा, एक देवघर, एक दुमका घोटालाको मुद्दा छन् । दोरण्डा मुद्दाबारे अझै कारबाही चलिरहेको छ ।

स्रोत : इन्डियन एक्सप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment