Comments Add Comment

साढे चार करोड रुपैयाँमा बिक्री भएको यो हो दुनियाकै महँगो ब्याग

काठमाडौं । पछिल्ला वर्षहरुमा विश्वका विभिन्न देशमा अनेक खालका लिलाम बढाबढको आयोजना हुने गर्दछन् । विभिन्न लिलाम घरहरुले यस्तो लिलामीको आयोजना गर्दछन् जहाँ विभिन्न ऐतिहासिक, पुरातात्विक तथा बहुमूल्य वस्तुहरुको बिक्री हुन्छ ।

सन् २०१७ मा लण्डनमा भएको यस्तै एउटा लिलामीका क्रममा एउटा ब्याग झण्डै साढे ४ करोड रुपैयाँ मूल्यमा बिकेको थियो । उक्त ब्यागले विश्वका सबैभन्दा महंगो मूल्यमा बिक्री भएको ब्यागको कीर्तिमान राखेको थियो त्यसबेला जुन अहिलेसम्मै कायम छ ।

हर्मेस कम्पनीको बर्किन ह्वाइट हिमालय ब्राण्डको उक्त ब्याग ३ लाख ७९ हजार २६१ डलरमा बिक्री भएर कीर्तिमान राखेको थियो । सो ब्याग गोहीको छालाबाट हातैले बनाइएको हो । १८ क्यारेट सुनको फ्रेममा २ सय ४० टुक्रा हिराको प्रयोग गरिएको छ यो ब्यागको सतहमा ।

त्यस्तै सन् २०१८ मा हर्मेन बर्किनको एउटा ब्याग लण्डनमा भएको लिलामीका क्रममा २ लाख १७ हजार १ सय ४४ अमेरिकी डलरमा बिकेको थियो । सो ब्यागमा समेत १८ क्यारेटको सेतो सुन तथा हिरा जडित लक रहेको छ । ३० सेन्टिमिटर लामो उक्त ब्यागमा अन्य ठाउँमा पनि सेतो सुनको प्रयोग गरिएको छ ।

स्मरण रहोस् सन् १९८१ मा पहिलोपटक फ्रान्सको लग्जरी फेसन हाउस हर्मेस ले सो ब्यागको डिजाइन गरेको थियो । चर्चित अभिनेत्री तथा गायिका जेनी बर्किनको नामबाट सो ब्यागको नाम ‘हर्मेस बर्किन’ राखिएको थियो । जसका कारण उक्त ब्राण्ड विश्वभर लोकप्रिय बन्यो । सो ब्राण्डका विशेष संस्करणका ब्यागहरु निकै महंगो मूल्यमा बिक्ने गरेका छन् र पटक पटक मूल्यमा कीर्तिमान कायम गर्ने गरेका छन् ।

क्रिस्टी लिलामघरका अनुसार हर्मेस ब्राण्डका ह्याण्डब्याग निर्विवाद रुपमा विश्वका सबैभन्दा महँगा ब्याग हुने गरेका छन् । दुनियाभरका सेलिब्रेटीहरुको रोजाईमा यो ब्राण्डका ब्याग पर्दछन् । चर्चित फुटबलर डेभिड बेकह्यामले समेत आफ्नी पत्नीलाई सन् २००८ मा १ लाख डलर खर्चिएर हिमालयन बर्किन ब्याग खरीद गरिदिएका थिए । अमेरिकी टिभी पर्सनालिटी किम कार्दाशिनले पनि यही ब्राण्डको ब्याग बोक्ने गरेकी छिन् ।

सुरुवाती मूल्य नै झण्डै १० लाख पर्ने यो ब्राण्डका ब्यागहरु सीमित मात्रामा उत्पादन हुने भएकाले खरीद गर्न चाहनेले अर्डर गरेर प्रतिक्षा सूचिमा बस्नु पर्दछ विभिन्न पश्चिमा देशहरुमा समेत ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment