Comments Add Comment

श्रीराम सुगर मिलबाट भुक्तानी दिलाइदिन किसानले गुहारे संसदीय समिति

२५ असोज, काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुले संसदीय समिति गुहारेका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् ।

आइतबार सिंहदरबारस्थित समितिको कार्यालयमा उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्  ।

श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरु मारमा परेको यादवले गुनासो गरे ।

उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैंअघि नै पाउने व्यवस्था मिलाइदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।

आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफूहरु आशावादी रहेको पनि किसानहरुको भनाइ छ । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरु अन्योलमा परेको गुनासो किसानहरुको छ ।

किसानहरुले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका हजारौं व्यक्ति समस्यामा परेकोले हजारौं घरपरिवारको आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरि सञ्चालन हुने वातावरण मिलाइदिनसमेत माग गरेका छन् ।

रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको भनाइ छ ।

हेर्नुहोस उखु किसानले बुझाएको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment