Comments Add Comment

आप्रवासन नीतिको पुनर्विचार गर्न विज्ञहरुको सुझाव

काठमाडौं । नेपालको आप्रवासनको बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ता, प्राज्ञ तथा संस्थाहरुले कोरोना भाइरस (कोभिड-१९)कै बेलामा आप्रवासन नीतिबारे पुनर्विचार गर्नु पर्ने सुझाव दिएका छन् ।

शुक्रबार आयोजित अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनमा विज्ञहरुले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई एक अवसरको रुपमा उपयोग गर्दै नेपालको आप्रवासनका लागि एक मार्गचित्र तयार गर्न आह्वान पनि गरे।

सम्मेलनमा सहभागीहरुले नेपालले आप्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमित तुल्याउन तत्काल उपयुक्त कदमहरु चाल्नु पर्ने सुझाव पनि दिएका छन् ।

नेपाल पलिसी इन्स्टिच्युटलगायतका ४ वटा संस्थाहरुद्वारा शुक्रबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै पूर्वराजदूत तथा सेन्टर फर डिप्लोमेसी एण्ड डिभेलपमेन्टका अध्यक्ष मोहन कृष्ण श्रेष्ठले सरकारी नीति तथा नियम हरुको कडा पालना गरेर मात्रै आप्रवासी श्रमिकहरुको रक्षा गर्न सकिने बताए ।

‘आप्रवसनबारे पुनर्विचार : आजको आवश्यकता’ विषयक अन्तरक्रियामा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट फर्केका नेपालीहरुसँग रहेको सीप र अनुभवलाई उपयोग गर्दै कृषि तथा विकासका अन्य आयोजना हरुमा संलग्न गराउने नेपाल सरकारको नीति रहेको बताए ।

उनले आप्रवासन सम्बन्धी योजना तथा नीति बनाउने काममा सघाउन प्रवासमा रहेका संस्थाहरुलाई आग्रह गरे ।

आफ्नो संस्थाले हालै गरेको एक अध्ययनलाई उद्धृत गर्दै नेपाल पलिसी इन्सटिच्युटका अध्यक्ष खगेन्द्र ढकालले नेपाल फर्किरहेका झन्डै ७० प्रतिशत नेपाली कामदारहरु सरकारले उनीहरुका लागि के कस्तो योजना बनेको छ भन्ने थाहा नभएको बताएको उल्लेख गरे ।

उनले नेपालले आप्रवसनलाई देश विकाससँग जोड्न नसकेको बताउँदै उनले आप्रवासनलाई देश विकासको एक सकारात्मक औजारको रुपमा हेर्न आग्रह पनि गरे ।

अध्यक्ष ढकालले उनले आप्रवासी श्रमिकहरुलाई ‘आप्रवासी चक्र’ को प्रत्येक चरणमा शोषण गर्ने गरिएको बताउँदै त्यस्तो शोषणको मुख्य कारण वैदेशिक रोजगार प्रक्रियाबारे जानकारी नहुनु नै भएको बताए ।

नेपाली आप्रवासनबारे अध्ययन गरेकी समाजशास्त्री डा. मीना पौडेलले कोभिड-१९ का कारण विदेशमा काम गरिरहेका सबै नेपाली हरु फर्कन्छन् र उनीहरु नेपालका लागि बोझ हुन्छन् भनेर सोच्नु गलत हुने बताए ।

उनले आप्रवासन एक विश्वव्यापी, मानवीय, सामाजिक तथा विकास प्रक्रिया भएकाले कोभिड-१९ मत्थर भएपछि वा खोप पत्ता लागेपछि नेपाल फर्किएका नेपालीहरु फेरी कामको खोजीमा विदेशिने बताए ।

उनले आप्रवासीहरुले पाएको दु:खको कुरा गर्दा आप्रवासन सुशासनको पक्ष बिर्सन नहुने बताए । डा. पौडेलले आर्थिक, सामाजिक तथा राजनीतिक जोखिमहरुले गर्दा आप्रवासी कामदारहरु मानव बेचबिखनको सिकार हुन सक्ने तथा दासमा परिणत हुन सक्ने खतराबारे समयमै सजग रहन पनि सुझाव दिए ।

बेलायतको युनिभर्सिटी अफ एडिनबरासँग आवद्ध अनुसन्धानकर्ता डा जीवनराज शर्माले नेपालको आप्रवसन नीति विरोधाभाषपूर्ण रहेको बताए ।

एनपीआईकी सदस्य तथा आप्रवासन सम्बन्धि जानकार सरु जोशीले नेपाली कूटनीतिक निकायहरुले सामूहिक सौदाबाजी र कम्पनीहरुको सामाजिक उत्तरदायित्वबारे पनि ध्यान दिनु पर्ने बताइन् ।

कार्यक्रममा मलेसियामा नेपाली आप्रवासी कामदारहरुको हितको लागि काम गरिरहेकी सपना बस्याल तथा कतारस्थित लेखक मोहम्मद रमजान अलि मियाँले त्यहाँ नेपाली कामदारहरुको स्थितिमाथि प्रकाश पारेका थिए ।

सम्मेलनमा अमेरिका, युरोप , अस्ट्रेलिया, एसियाबाट विभिन्न संघ सस्था र व्यक्तिहरुले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment