Comments Add Comment

सिन्धु पहिरो पीडितको गुनासो– सरकारले हाम्रो बेवास्ता गर्‍यो

२५ असोज, सिन्धुपाल्चोक । गत भदौ २९ गतेसम्म परिवारसँगै रमाइलो क्षणमा रमाउँदै थिइन् सिन्धुपाल्चोककी स्थानीय कविता दोङ । तर कविताको लागि परिवारका सदस्यसँग रमाउने त्यही दिन अन्तिम थियो । भोलिपल्ट घामको किरण देख्न नपाउँदै उनले आफ्नो सिंगो परिवार गुमाउनु पर्‍यो । पहिरोले कविताको बाबु, हजुरबुबा, भाइ, बहिनी, काकीसहित परिवारका सबै सदस्यलाई बेपत्ता बनाएको थियो ।

एकैपटक परिवारका सबै सदस्य गुमाएकी कविता अहिले विक्षिप्त अवस्थामा अस्थायी आवासमा बस्दै आएकी छन् । परिवारका सबै सदस्य गुमाउँदाको पीडा त उनमा छँदैछ, पहिरो पीडितको उचित व्यवस्थापनमा गरिएको बेवास्ताले उनमा थप पीडा थपिदिएको छ ।

उनी भन्छिन्, ‘आफन्त गुमाउँदाको पीडासँगै बस्नका लागि उचित व्यवस्था नहुँदा थप संकट झेल्नु परेको छ ।’ सिंगो गाउँलाई सानो ठाउँमा राखिएको छ तर व्यवस्थापन केही छैन, टेन्ट दिइएको छ तर टेन्टबाट पानी चुहिन्छ । अस्थायी बसोबास गरेको ठाउँमा विषालु सर्पको उत्तिकै डर छ । त्रासैत्रासमा बस्नुपर्ने बाध्यता छ । ‘यस्तो ठाउँमा पहिरो पीडितहरू कसरी सुरक्षित बस्न सक्छन् ?’ उनले प्रश्न गरिन् ।

पाँच घरका लागि एक शौचालयको व्यवस्था छ, त्यो पनि व्यवस्थित छैन । शौचालय जाँदा पनि असुरक्षित महसुस गर्नुपर्ने अवस्था छ ।

चाँडै घर बनाइदिने, सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्ने भनिएको छ तर अहिलेसम्म काम भएको छैन । के गर्ने कहाँ बस्ने केही थाहा छैन ।

नेतृत्व तहले पीडितको उचित व्यवस्थापन गर्नुभन्दा पनि थप पीडा दिने गरेको गुनासो कविताको छ । ‘पीडा सबैलाई छ, मैले परिवारका सबै सदस्य गुमाएकी छु । तै पनि पीडा सम्झेर मात्र हुँदैन ।’ कविता भन्छिन् ‘सरकारले अभिभावकको जिम्मेवारी पूरा गरोस् भन्न चाहन्छु ।’ पहिरोेपछि प्रभावितहरुलाई सेलाङस्थित अस्थायी आवासमा ल्याएर राखिएको छ । तर उचित व्यवस्थापन केही छैन । ‘बसे बस नबसे नबस’ भने जसरी पीडित परिवारलाई राखिएको अवस्था छ । यस्तो अवस्थामा प्रभावितहरू कहीँ जाने अवस्था पनि छैन ।

कविताको झैं लिदीका सानु थिङको समस्या पनि उस्तै छ । उनले पनि परिवारका सबै सदस्य गुमाएका छन् । पहिरो प्रभावितलाई सहयोग गर्न बाहिरबाट धेरै आउँछन् । सबैजना खाद्यान्न मात्रै बोकेर आउँछन् । अरू समस्याबारे कसैले पनि ध्यान दिएका छैनन् । पहिरो प्रभावितको समस्यालाई बुझेर काम गरिदिए हुने उनको भनाइ छ । चिसोमा अत्यधिक चिसो र गर्मीमा अत्यधिक गर्मी हुने भएका कारण टेन्टभित्र बस्न कष्टकर भएको उनले बताए ।

असोज २८ गतेको पहिरोबाट नागपुजे डाँडामा रहेको लक्ष्मी श्रेष्ठको घर मात्रै बाँकी रह्यो । तर उनले एकै कुलको २० जना सदस्यलाई गुमाउनु पर्‍यो । उनी पनि अस्थायी आवासमै बसेकी छन् । चट्याङका कारण उनले परिवारका आफ्ना सदस्य गुमाउनु परेको थियो । खाद्यान्नको व्यवस्था भए पनि बसोबासका लागि उचित व्यवस्था नहुँदा त्रासमै बस्नु परेको उनको भनाइ छ ।

पहिरोबाट बाह्रबिसे र जुगलका पीडित परिवारको पीडा समान छन् । जुगल गाउँपालिका–१ स्थित सेलाङमा १७२ घर परिवार र डाँडाखर्क घुम्थाङमा २ सय पहिरो प्रभावितलाई राखिएको छ ।

भदौ ३० गतेको पहिरोले लिदीमा मात्रै ३७ र बाह्रबिसे– ५ र ७ वडामा ३१ जनाले ज्यान गुमाउनु परेको थियो । पहिरोका कारण विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको सिन्धुपाल्चोकमा ४ महिनाको अवधिमा ७७ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता छन् ।

पहिरोका कारण १३१ घर क्षति पुगेको छ भने तीन हजार २९० घरधुरीलाई स्थानन्तरण गर्नुपर्ने जिल्लाले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।

खाद्यान्नको भन्दा बासस्थानको चिन्ता

पहिरो प्रभावितले आफन्तसँगै भौतिक पूर्वाधार समेत गुमाएका छन् । सरकारले जाडो मौसम सुरु हुनु अगावै घर निर्माण गरिदिए सहज हुने आशामा उनीहरू बसेका छन् । अस्थायी आवासमा वृद्ध–वृद्धा, स–साना बालबालिकादेखि सुत्केरीहरू पनि छन् । चिसो अगावै आवासको उचित व्यवस्थापन हुन नसके थप समस्या झेल्नुपर्ने पीडा बोकेर उनीहरू बसिरहेका छन् । त्यसैले चिसो मौसम सुरु हुनु अगावै सरकारले उचित व्यवस्थापन गरोस् भन्ने आशामा उनीहरू छन् ।

असारको अन्तिम सातादेखि असोजको दोस्रो सातासम्म पहिरोले प्रभावित भएका पीडितले खाद्यान्न र लत्ताकपडाभन्दा पनि व्यवस्थित बासस्थानको आवश्यकता रहेको बताएका छन् । असोज महिना सुरु भएसँगै उच्च भागमा चिसोको मात्रा बिस्तारै बढ्दै गएको भन्दै उनीहरूले चिसोबाट बचाउनका लागि सरकारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने माग राखेका छन् । त्रिपाल र टेन्टको भरले मात्रै चिसोलाई छेक्न नसक्ने उनीहरूको भनाइ छ ।

पहलकदमी लिएका छौं : स्थानीय तह

बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनले स्थानीय तह र सरकारी संयन्त्रको सक्रियतामा पहिरो प्रभावितलाई अस्थायी आवासको व्यवस्थापनको काम गरेको बताइन् ।

प्रभावितका लागि आधारभूत आवश्यकता पूरा गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ ।

स्थायी आवास निर्माणका लागि नमुना बस्ती बनाउन ठाउँको छनोट गरी भौर्गभिक अध्ययनको तयारी गरिएको उपमेयर पाख्रिनले बताइन् ।

पहिरो प्रभावितको व्यवस्थापनका लागि संघ र प्रदेशबाट बजेट आउने क्रम रहेको भन्दै सोहीअनुसार कामअघि बढिरहेको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले बताइन् । अहिले आधारभूत आवश्यकता पूरा गरेका छौं, चिसो बढी मात्रामा हुने भएकाले ओढ्ने ओछ्याउने लगायतका अतिआवश्यक सामानको व्यवस्थापन भइरहेको उनको भनाइ छ । उनले भनिन्, ‘जग्गा व्यवस्थापनको कुरा भइरहेको छ । जमिन नभई घर निर्माणको कामअघि बढ्न सक्ने अवस्था छैन । त्यसैले बसोबासको उचित व्यवस्थापनका लागि अध्ययन भइरहेको छ ।’

पीडितलाई छिट्टै राहत महसुस हुनेगरी काम गर्नेभन्दै २९ परिवारका लागि जमिन व्यवस्थापनको काम गर्ने तयारीमा गाउँपालिका रहेको उनले बताइन् ।

वातावरण समितिद्वारा अध्ययन

लगातारको पहिरोको पीडा खेपेको सिन्धुपाल्चोकको पहिरोको अवस्था र स्थानीयको समस्याको बारेमा प्रदेश सरकारले अध्ययन थालेको छ । प्रदेशस्तरीय समिति पहिरो प्रभावित क्षेत्रमा पुगेर अध्ययन थालेको हो ।

वाग्मती प्रदेश सभाअन्तर्गतको उद्योग पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आलेसहित पाँच सदस्यीय संसदीय टोली सिन्धुपाल्चोक पुगेर फर्किएको छ । टोलीले बाह्रबिसेको खागदलबाट जिल्लाको बाढी पहिरो ग्रस्त क्षेत्रको अनुगमन गरेका हुन् । बाह्रबिसेको खागदल, काभ्रे, जम्बु, नागपुजे, भीरखर्क, सेलाङको बाँसखर्क क्षेत्रको अनुगमनपछि यहाँको समस्यालाई बुझेर प्रतिवेदन तयार पार्ने योजना रहेको सभापति आलेले बताइन् ।

जनताको समस्या र भौगोलिक अवस्था हेरेर समितिले सरकारलाई नीतिगत सुधार र कार्यक्रमहरू कार्यान्वयनका लागि निर्देशन दिने बताइएको छ । संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व भएको उनको भनाइ थियो ।

टोलीमा समितिका सदस्यहरू निमा लामा, बद्रीप्रसाद मैनाली, विराजभक्त श्रेष्ठ र राजेन्द्र गुरुङ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment