Comments Add Comment

नक्कली सुकुमबासी आयोग बनाएर ठगीधन्दा

२६ असोज, पोखरा । हर्कबहादुर बिक पोखरा महानगरपालिका-१३, मिया पाटनमा टायर बिक्री केन्द्र चलाउँछन् । लकडाउन खुलेसँगै उनको भेट उत्तम विक र रमेश परियारसँग भयो । उत्तम र रमेशले हर्कबहादुरलाई प्रस्ताव गरे, ‘पोखरा-१४ भोटेचौतारामा सुकुमबासीका नाममा जग्गा मिलाइदिने कुरा छ, मिलेर गरौं ।’

पोखरा-१४ भोटे चौतारामा वर्षौंदेखिको सुकुमबासी समस्या छ । हरेक राजनीतिक परिवर्तनपछि र चुनावताका यहाँको जग्गामा ठूलो चलखेल हुँदै आएको छ । केही व्यक्तिले किर्ते गर्नेदेखि सार्वजनिक जग्गा हडपेर बसेको विवाद अदालतमा पुगेको छ ।

त्यही भोटेचौताराको ३ सय रोपनी जग्गामा १६० घर व्यवस्थापन गर्न लागिएको कागजसमेत लिएर उत्तम र रमेशले मानिसहरु जम्मा गरिरहेका थिए । उनीहरुले हर्कबहादुर पनि समोल गराए । पोखरा-१३ मा भाडामा बस्ने केहीले भोटेचौतारामा जग्गा भाडामा पाइने लोभमा २ हजारदेखि ७ हजारसम्म रसिद काटे । केहीले जग्गा पाइने लोभमा मोटो रकम पनि बुझाए ।

तर आएतबार एकाएक हिराबहादुर तामाङ पक्राउ परे । उनकै बयानका अधारमा थप ५ जना समातिए । उनीहरुबाट पोल खुल्यो, अव्यवस्थित सुकुमबासी समस्या समाधान आयोगका नाममा पैसा उठाउने गिरोह सक्रिय भएको रहेछ ।

यसबारे देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्या समाधान आयोगमा सूचना पुगेको रहेछ । आयोगको प्रवक्ता कास्कीकै भीम काकी छन् । नक्कली आयोग खडा गरेर पैसा उठाइरहेको कागज कार्कीलाई पाएपछि आयोगले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दर्ता गरेको रहेछ । उजुरीपछि हिरबहादुर र उनको बयानका आधारमा थप ५ जना पक्राउ परेका हुन् ।

‘नक्कली आयोग र कागजात बनाएर पैसा उठाइरहेको जानकारी प्राप्त गर्नासाथ टोली खटाएर अनुसन्धान थालेका हौं,’ कास्की प्रहरी प्रमुख जीवनराम श्रेष्ठ भन्छन्, ‘हिराबहादुरसहित ५ जना पक्राउ परेका छन् । केही अझै पक्राउ पर्ने क्रममै छन् । घटनाको अनुसन्धान भइरहेकाले सबै कुरा खुल्न बाँकी छ ।’

पक्राउ परेकाहरुबाट भोटेचौताराको ३०० रोपनी जग्गामा भौतिक पूर्वाधारसहित १६० जनालाई व्यवस्था गर्न लागिएकाले कार्यकारी प्रमुख हिराबहादुरलाई आर्थिक, भौतिक सहयोग गर्नु भन्ने व्यहोराको नक्कली पत्र समेत भेटिएको छ ।

‘आयोगको नाममा पैसा मागेकाले दिउँ कि नदिउँ भनेर स्थानीयले फोन गरे । पैसा नदिन आग्रह गर्दै त्यस्तो पत्र र कोही व्यक्ति आए जानकारी गराउन भनें,’ आयोगका प्रवक्ता कार्कीले आलाइनखबरसँग भने, ‘नक्कली पत्र हामीसँग आएपछि प्रशासनमा उजुरी दियौं । उनीहरु पक्राउ परेको जानकारी आएको छ । यो गिरोहमा धेरै जना संलग्न रहेको जानकारी प्राप्त भएको छ ।’
उनीहरुले खडा गरेको नक्कली कार्यसमितिको पत्रमा कार्यकारी प्रमुख हिराबहादुर तामाङ, सदस्यमा रमेश परियार, सीता सुनार, देवकुमार श्रेष्ठ, हर्कबहादुर विक, विमला रोका, रिती विश्वकर्मा, सोनु परियार र मौसम सदासंकर छन् ।

सुकुमबासी तथा अव्यवस्थित बसोवास रहेको जिल्लामध्ये कास्की पनि प्रमुख जिल्लामा पर्छ । यहाँ सुकुमबासी र अव्यवस्थित वसोवासका नाममा चलखेल भइरहने प्रवक्ता कार्कीले बताए । ‘यहाँ बहुदलयता सुकुमबासी समस्याले ठूलै जरो गाडेको हो । हरेक चुनाव र राजनीतिक परिवर्तनपछि यो समस्या जटिल बन्दै गएको छ,’ कार्कीले भने, ‘त्यसैको आडमा ठगी धन्दासमेत चलिरहेको छ ।’

सुकुमबासी जग्गाको पूर्जा मिलाइदिने नाममा यो गिरोहले कास्कीका अन्य ठाउँमा पनि ठगी गरेको जानकारी आइरहेका अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख श्रेष्ठले बताए । पोखरा-१, पोखरा-२९ लगायतका ठाउँमा पनि पैसा उठाएको सूचना छ ।

कास्कीमा १५ हजारभन्दा बढी सुकुमबासी तथा अव्यवस्थित रुपमा बसेको अनुमान छ । २०५१ सालमा केही रातो पूर्जा बाँडिएको थियो । त्यसयता ९ वटासम्म आयोग गठन भइसकेको र कसैले रातो, कसैले सेतो त कसैले सुकुमबासीको प्रमाणपत्र दिने काम गरेका छन् । ‘लामो समयदेखिएको सुकुमबासी तथा भूमि सम्बन्धी समस्या समाधान गर्न यो कानुनी अधिकारसहितको आयोग हो । यस सम्बन्धि नियमावली बनाएका छौं । ९ वटा कार्यविधि बनाएका छौं । दसैंअघि नै पास गर्छौं,’ आयोगका प्रवक्ता कार्कीले भने, ‘हामीले स्थानीय तहलाई अधिकार दिन्छौं र हाम्रो पनि टोली खटिन्छ । यसरी विवरण संकलन गर्छौं र वास्तविक सुकुमबासी पत्ता लगाएर समस्या समाधान गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment