Comments Add Comment

दाइमन देवीको हत्या आरोपमा तीन जना पक्राउ

२६ असोज, जनकपुरधाम । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ मैनाकडेरीमा गत असोज १० गते भएको महिलाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मैनाकडेरी बस्ने शिक्षक शिवनारायण यादवकी श्रीमती ५० वर्षीया दाइमन देवी यादवको हत्या भएको थियो ।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका २ बस्ने २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका-११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

यी तीन जनामध्ये साहले दाइमन देवीलाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले बताए । ‘अन्य दुइ जना ओमप्रकाश र अजयले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ,’ सिंहले भने, ‘उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । कानुन अनुसारको थप अनुसन्धान भइरहेको छ ।’

रिसइबी साँध्न हत्या

प्रहरीका अनुसार मृतक महिला दाइमन देवी यादवकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ ।

यस्तै, अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको २ बिघा जग्गा अजय यादवको बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिवादी बमबादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा ८ वर्ष जेल सजाय भुक्तान गरी २ वर्षअघि छुटेका थिए । साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment