Comments Add Comment

चितवनमा ९ वर्षमा १६ सय हेक्टर खेतीयोग्य जमिन घट्यो

२६ असोज, चितवन । उर्वरभूमि मानिने चितवनमा हरेक बर्ष खेती योग्य कृषि भूमि निरन्तर घट्दै गएको एक सर्वेक्षणले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, केन्द्रीय तथ्यांक विभाग र विश्व खाद्य तथा कृषि संगठनले जिल्लामा गरेको हालै सर्वेक्षणले धान र मकै खेती गर्ने जमिनसहित समग्रमा कृषि भूमि घटेको देखिएको छ ।

जिल्लामा कृषक परिवारले १९ सय ६७ हेक्टर र गैर व्यवसायिक कृषि परिवारले ३७ सय ४१ हेक्टर गरी कूल ३९ सय ८ हेक्टरमा खेती गरेको सर्वेक्षणले देखाएको छ । यो कृषि गणना ९ वर्षअघि २०६८ को भन्दा १६ सय २३ हेक्टरले कमी हो ।

सर्वेक्षणले एउटा कृषक परिवारले औसतमा ०.३६ हेक्टर खेती गरेको देखिएको छ । जमिनको खण्डिकरण, शहरीकरण र काम गर्ने जनशक्ति नहुँदा खेती योग्य उत्पादनशील जमिन घटेको देखिएको छ ।

जिल्लामा ६६ प्रतिशत किसानले आफ्नो जग्गामा खेती गर्ने गरेको देखिएको छ । ३० हजार ६ सय ३ हेक्टरमा अस्थायी बाली र १७ सय ८४ हेक्टरमा स्थायी बाली लगाएको देखिएको छ ।

यो सर्वेक्षणमा कृषि गणनामा भन्दा स्थायी बाली लगाएको जग्गाको क्षेत्रफल ४ सय ७ हेक्टरले बढी देखिएको छ । जिल्लामा २७ हजार ३ सय ६ हेक्टरमा धान खेती हुनेमा बार्षिक १ लाख १५ हजार ७ सय १४ मेट्रिक टन धानको उत्पादन भएको देखिएको छ । धानको उत्पादकत्व ४.२ मेट्रिक टनप्रति हेक्टर छ ।

सर्वेक्षणले ९ प्रतिशत कृषक परिवारले कृषि ऋण लिएको, २० प्रतिशत कृषि बिमामा संलग्न भएको देखिएको छ । जसमध्ये पशुपालन व्यवसायमा बिमा गर्ने १९ प्रतिशत छन् ।

जिल्लाको कुल ४ लाख ४४ हजार ९ सय १५ कृषि जनसंख्यामध्ये ५४.५ प्रतिशत संख्या महिलाको छ । सर्वेक्षणले गाई, कुखुराको संख्या कृषि गणनाको तुलनामा क्रमशः ३६ र ४७ प्रतिशतले बढेको र भैंसी, बाख्रा र सुँगुरको संख्या क्रमशः ३, १७ र ४७ प्रतिशतले घटेको देखाएको छ ।

नमूना सर्वेक्षणमा घर परिवार र गैर घरपरिवारले दर्ता गरी वा नगरी दुबै प्रकारले सञ्चालन गरेको सम्पूर्ण कृषि कार्यहरु समावेश गरी दोहोेरो फ्रेम विधिको प्रयोग गरेर सर्वेक्षण गरिएको मन्त्रालयका कृषि तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।

उनका अनुसार सन्दर्भ अवधि आर्थिक बर्ष २०७५÷०७६ लाई आधार मानेर दुबै मोडलमा प्रश्नावली एकीकृत गरी तथ्यांक संकलन गरिएको हो । चितवन जिल्लाका कूल ८९७ गैर व्यवसायिक कृषक परिवार र ३०७ व्यवसायिक कृषक परिवार र खैरहनी नगरपालिका क्षेत्रका ३१५ गैर व्यवसायिक कृषक परिवारहरुबाट नमूना छनौटमार्फत कृषि क्षेत्रको एकीकृत विवरण संकलन गरिएको मन्त्रालयका कृषि तथ्यांक अधिकृत रेग्मीले जानकारी दिए ।

सर्वेक्षणले केरा र आँपलाई चितवनको प्रमुख स्थायी बालीको रुपमा देखाएको छ । जसअनुसार ११ हजार १५८ कृषक परिवारले एक हजार ४७०.७ हेक्टरमा केरा खेती गरी ६९ हजार ८८२.५ मेट्रिक टन केरा उत्पादन भएको छ । यसैगरी ८७.७ हेक्टर जग्गामा बगैँचाको रुपमा खेती गरी २६ हजार १५५ मेट्रिक टन आँप उत्पादन भएको पाइन्छ ।

सर्वेक्षणले जिल्लामा व्यवसायिक कृषि कार्य गर्ने कृषक परिवारको संख्या २१ सय ५४ र गैर व्यवसायिक कृषि कार्य गर्ने कृषक परिवार संख्या १ लाख ४ हजार ६ सय ४६ देखिएको छ ।

खेती गरेको जग्गा नभएको व्यवसायिक कृषि कार्य गर्ने कृषक परिवार संख्या २३ र गैर व्यवसायिक कृषक परिवार १७ सय ४७ समेत गरी जिल्लामा कुल १ लाख ८ हजार ५ सय ७० कृषक परिवार कृषि कार्यमा संलग्न भएको देखिएको छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जिल्लाको कृषि सर्वेक्षणको तथ्यांकले योजनाहरु बनाउन सहज हुने बताए ।

‘कतिपय कृषि क्षेत्र घटेको देखियो तर उत्पादकत्वमा त्यस्तो कमी भने छैन, यसले योजना बनाउन र प्राथमिकताको क्षेत्र निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ’ उनले भने, ‘जिल्लाको कृषि क्षेत्रलाई कुन मोडलमा अघि बढाउन सकिन्छ भन्ने दिशानिर्देश यसले गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment