Comments Add Comment

संक्रमितलाई बेड जोहो गर्न सरकारको तीन निर्णय

विज्ञ भन्छन्- सकारात्मक तर अपर्याप्त

२६ असोज, काठमाडौं । लक्षण भएका कोरोना संक्रमितहरुले अस्पतालमा बेड पाउन छाडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, इन्सिडेन्ट कमाण्ड सिस्टमले तीन वटा निर्णय गर्‍यो, ‘उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र आकस्मिक बाहेकका सबै शल्यक्रियाहरु नगर्ने । अस्पतालहरुले होटलसँग मिलेर आइसोलेसन सेन्टर चलाउन चाहे अनुमति दिने ।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेत उपस्थित बैठकले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

लक्ष्मण भएकाहरु संक्रमितहरुले बेड नपाउनुका साथै कतिपय अस्पतालले कृत्रिम अभाव देखाएर विरामी फर्काउन थालकोले सबै अस्पताललाई कोभिड अस्पताल बनाउने नीतिगत निर्णय गर्नु परेको मन्त्रालयका एक अधिकारीले बताए ।

उनका अनुसार कोभिड अस्पतालमा रुपान्तरण भएपनि इमजेन्सी र ओपीडी सेवा कायमै रहन्छ । वीर अस्पतालको उदाहरण दिँदै उनले भने, ‘वीर अस्पताललाई पनि कोभिड अस्पताल बनाइएको हो, तर त्यहाँ अहिले पनि ओपिडी बन्द गरिएको छैन ।’

प्रसुति, कान्ति बाल, ट्रमा सेन्टर र राष्ट्रिय हृदयरोग केन्द्र जस्ता विशेषज्ञ सेवाका अस्पतालमा सम्बन्धित रोगकै बिरामीलाई राखिनेछ भने संक्रमित नभएका, तर भर्ना नगरी नहुने बिरामीलाई फर्काइने छैन । ‘कान्तिमा बालबालिका संक्रमित भए राख्ने हो, गंगालालमा मुटुरोगी संक्रमित भए राख्ने हो, प्रसुतिमा सुत्केरीहरु संक्रमित भए राख्ने हो’ इन्सिडेन्ट कमाण्ड सिस्टमका एक सदस्यले भने, ‘त्यहाँ मात्र होइन, अन्य अस्पतालमा पनि संक्रमित नभएका तर भर्ना गर्नैपर्ने बिरामीलाई कोभिड नभएको भनेर फर्काउँदैनौं ।’

मन्त्रालयको अर्को निर्णय छ, इमर्जेन्सी बाहेक अरु शल्यक्रियाहरु तत्काल नगर्ने ।

मन्त्रालयको निर्णय सकारात्मक भएको संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी बताउँछन् । उनका अनुसार शल्यक्रिया गरेका केसहरुमा बिरामीलाई आईसीयू वा भेटिलेटरमा राख्नुपर्ने हुनसक्छ । अब केही समय शल्यक्रिया नगर्दा पनि हुने केसहरुमा अपरेसन हुँदैन ।

यसले आईसीयू र भेन्टिलेटरको अभावलाई केही हदसम्म कम गर्ने उनले बताए । डा. अधिकारी भन्छन्, ‘सबै अस्पतालमा ओपीडी चलाएर आकस्मिक बाहेक अरुलाई नराख्दा कोभिड संक्रमितले नै बेड पाउने हुन् ।’

तर यसले केही दिनको मात्र संकट टार्ने विशेषज्ञहरु बताउँछन् । किनकी संक्रमण तीब्र गतिमा बढ्दो छ, लक्षण भएका संक्रमितहरुको संख्या पनि बढेको छ ।

त्यसैले सरकारको पछिल्लो निर्णयका कारण खाली हुने बेडहरु केही दिनमै भरिने उनीहरु बताउँछन् । ‘संक्रमण दर बढेकाले धेरैभन्दा धेरै बेडहरु तयार गर्नुको विकल्प नै छैन’ उनले डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘अहिले बेडहरु जोहो गर्न एक्सन नलिए भने हामी सबैले ठूलो मुल्य चुकाउनु पर्छ ।’

यो असम्भव पनि होइन । काठमाडौं उपत्यकाका थुप्रै मेडिकल कलेजहरु छन्, निजी अस्पतालहरु पनि पर्याप्त छन् । उनीहरुसँग सरकारले सम्झौता गरेर कोभिड अस्पताल बनाउनसक्ने जनस्वाथ्य विज्ञहरु बताउँछन् । यसो गर्दा अक्सिजन बेडहरु हुन्छन् र आईसीयू भेन्टिलेटर चाहिने संक्रमितको संख्या घट्नेछ ।

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी कोभिडका बिरामीलाई सुरुदेखि नै निगरानी गर्ने र अक्सिजन कम हुनासाथ अक्सिजन र निश्चित उपचार पाए भने एकदम थोरैलाई मात्र आईसीयू वा भेन्टिलेटर चाहिने बताउँछन् ।होम आइसोलेसनमा बसेर अधिकांश संक्रमितहरु सिकिस्त भइसकेपछि अस्पताल पुग्ने भएकाले आईसीयू र भेन्टिलेटर पाउन सकस भइरहेको उनको कथन छ ।

उनकाअनुसार घरमा असुरक्षित रुपमा बस्न बाध्य भएकाहरूलाई राम्ररी निगरानीमा राख्ने र घरभित्र संक्रमण फैलिनबाट जोगाउने चार-पाँच हजार क्षमताको आइसोलेसन केन्द्र बनाउने हो भने संक्रमित व्यवस्थापन गर्न र मृत्युदर घटाउन सकिन्छ ।

‘शरीरमा अक्सिजनको लेभल घट्नासाथ आइसोलेसनबाट अस्पताल पठाउने हो भने धेरै बिरामीलाई सामान्य बेडमै राखेर निको बनाउन सकिन्छ, आईसीयू चाहिँदैन’ उनी भन्छन्, ‘बेडको जोहो गर्न सरकारले गरेको निर्णय राम्रो हो, त्यतिले मात्र महामारी नियन्त्रण असम्भव छ, हजारौं क्षमताको आइसोलेसन जोहो गरौं ।’

गल्ती पटक-पटक

अधिकांश जनस्वास्थ्य विज्ञहरुको मत छ, केही मेडिकल कलेजलाई भाडामा लिएर कोभिड अस्पताल बनाउने हो भने ठूलो संख्यामा संक्रमित व्यवस्थापन गर्न सकिन्छ ।

मन्त्रालयले यसबारे खासै चासो दिएको पाइँदैन । तर कुनै अस्पतालले होटलसँग मिलेर आइसोलेसन सेन्टर सञ्चालन गर्न चाहन्छ भने अनुमति दिने निर्णय गरेको छ ।

उपत्यकामा अहिले केही अस्पतालले होटल आइसोलेसन सञ्चालन गरेका छन् । तर, मन्त्रालयले त्यसको अनुगमन गर्न सकेको छैन भने शुल्क पनि निकै चर्को छ । जबकी सामुदायिक आइसोलेसन सेन्टर बनाउने र अक्सिजन बेडहरुको व्यवस्था गर्न सक्ने हो भने किनै कम खर्चमा व्यवस्थापन गर्न सकिन्छ । यसतर्फ संकेत गर्दै सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन भन्छन्, ‘सरकारको पटक पटकको निर्णयमा हेर्दा छक्क परिन्छ ।’

ननकोभिड बिरामीले दुःख पाउनसक्छन्

सरकारले अहिले बेडको जोहो गर्न आकस्मिकबाहेकका शल्यक्रिया नगर्ने निर्णय गर्नु सकारात्मक भएपनि यसलाई धेरै समय कायम राख्न नहुने विज्ञहरु बताउँछन् ।

लामो समयसम्म यसो गर्दा ननकोभिडका बिरामीले दुःख पाउनसक्ने भन्दै उनले भने, ‘ननकोभिड बिरामी लामो समयदेखि रोग पालेर बसेका छन्, उनीहरु समयमै अस्पताल नपुग्दा हुने जोखिम डरलाग्दो हुनसक्छ । त्यसैले संक्रमित व्यावस्थापनका लागि सरकारले मेडिकल कलेज र खाली भवनको उपयोग गर्नैपर्छ ।’

हुन पनि आकस्मिक बाहेकका अन्य सर्जरी रोकिएको तीन/चार महिना नाघिसकेको छ । एक सरकारी अस्पतालमा कार्यरत चिकित्सकका अनुसार पथ्थरी, मिर्गौला कलेजो, पेट तथा आन्द्रा र मष्तिष्क जस्ता जटिल रोगका सर्जरी रोकिएको छ र शल्यक्रियाको पालो कुर्ने बिरामीको संख्या दिन प्रतिदिन बढ्दो छ । ‘आकस्मिक बाहेकका अन्य अपरेसन रोक्दा भोलि चाप थेगिनसक्नु हुन्छ’ उनले भने, ‘कोभिडपछि स्वास्थ्य क्षेत्रमा आउने संकट अनुमान बाहिर छ ।’

विभागसँग छैन स्टक

इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णयमा स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने उल्लेख छ ।

तर स्वास्थ्य सेवा विभाग स्रोतले भने भेन्टिलेटर र आईसीयू मौज्दातमा नभएको बताएको छ । गत महिना सिजी फाउन्डेसनले ५०, निक साइमन्सले २४ र चौधरी फाउन्डेसनले अनुदानमा दिएको ८ वटा भेन्टिलेटर वितरण गरिसकेको छ । सरकारले खरिद गरेको भेन्टिलेटर पनि विभागसँग छैन । विभागको स्रोत भन्छ, ‘स्वास्थ्य सामाग्री आपूर्ति हुन अझै समय लाग्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment