Comments Add Comment

जापानी युवतीहरुमा अनौठो ट्रेण्ड, किन लगाउँदैछन् रगताम्य कपडा ?

जापानी समाज आधारभुत रुपमा परम्परागत समाज मानिन्छ । जापानी समाजमा परम्परागत मूल्य मान्यताहरु प्रसस्तै पाइन्छ । त्यहीँ जापानमा हालैका दिनहरुमा एउटा अनौठो फेसन ट्रेण्डिङ भैरहेको छ ।

जापानी युवतीहरु आजकल लतपतिएका कपडाहरु लगाएर हिड्न थालेका छन् । रगतका धब्बा भएका कपडा मात्र होइन आँखाको तलपट्टि कालो धब्बा र गलामा रगतयुक्त सिरिन्जको चित्र बनाउने फेसन पनि खुबै चलेको छ । उनीहरुले लगाएका रगताम्मे कपडाहरुमा ‘म मर्न चाहन्छु’ भन्ने सन्देश पनि लेखिएको देखिन्छ ।

आखिर विश्वकै सम्वृद्ध देशमध्येको एक जापानमा किन यस्तो अनौठो तथा हृदयविदारक फेसन चलिरहेको छ त ?

जापानमा चल्तीमा रहेको यो फेसन ट्रेण्डलाई स्थानीय भाषामा यामी कावाई भनिन्छ । यो फेसन युवायुवतीहरुमा बढिरहेको डिप्रेसन तथा आत्महत्यासँग सम्बन्धित छ ।

के हो यामी कावाई ?

यामी कावाई दुईवटा शव्द मिलेर बनेको छ । यामीको अर्थ विरामी र कावाईको अर्थ सुन्दर अर्थात् क्यूट भन्ने हुन्छ ।

जापानी युवतीहरु यामी कावाईको फेसन चलाउँदै जापानी समाजमा बढिरहेको आत्महत्या र डिप्रेसनका बारेमा जनचेतना जगाउन चाहन्छन् । आफुहरुमा डिप्रेसन रहेको र आत्महत्या गर्ने सोँच पलाउने गरेको जानकारी दिँदै उनीहरुले आफुलाई सहयोग खाँचो रहेको खुलासा फेसन मार्फत् गर्ने गर्दछन् । यस्तो फेसनमार्फत् उनीहरु जापानी युवायुवतीहरुमा बढिरहेको मानसिक स्वास्थ्य समस्याको बारेमा आम मानिस तथा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

यद्यपि यामी कावाई भन्ने शव्दावलीको उत्पत्ति जापानमा सन् २०१५ मै भएको थियो । तर पछिल्ला दिनहरुमा मात्र यसले लोकप्रियता पाएको हो ।

जापानमा युवायुवतीहरुमा डिप्रेसन तथा आत्महत्याको दर दिनानुदिन बढिरहेको छ । एक रिपोर्ट अनुसार गत अगष्ट महिनामा मात्रै जापानमा १ हजार ८५४ जनाले आत्महत्या गरे । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६ प्रतिशतले बढि हो । ती मध्ये ४० प्रतिशत महिला रहेका छन् ।

अर्को अनौठो तथा फरक तथ्य के भने कोरोना महामारीको उच्चतम अवस्थामा चाहीँ जापानमा आत्महत्या दरमा कमी आएको देखियो । गत फेब्रुअरी देखि जून महिना सम्मको आँकडा अनुसार जापानमा आत्महत्याको दरमा साढे १३ प्रतिशतले कमी आएको थियो ।

यो तथ्यको आधारमा विज्ञहरुले जापानमा कामकाजी मानिसहरुमा कामको अत्यधिक दबाब तथा लतका कारण डिप्रेसन बढ्ने र त्यसले आत्महत्या सम्म पूराउने गरेको आँकलन गरेका छन् । कोरोना महामारीका क्रममा धेरै मानिसहरुले कामबाट छुट्टी पाएका कारण उनीहरुले हलुका महसुस गरेको र त्यसबेला आत्महत्यामा कमी आएको पाइएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment