Comments Add Comment

आहा ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, कहिले होला उडान ?

२८ असोज, पोखरा । सुन्दर नगरी पोखराका आफ्नै चिनारी छन् । माछापुच्छ्रे हिमाल, फेवाताल आदिआदि । पर्यटकीय नगरी पोखराको अब अर्को चिनारी पनि थपिएको छ– अन्तर्राष्ट्रिय विमानस्थल । माछापुच्छ्रेको काखमा चिटिक्क परेको अन्तरर्राष्ट्रिय विमानस्थलबाट उडानको व्यग्र प्रतीक्षा छ ।

विमानस्थलको प्रवेश मार्गमा टायल बिछ्याएर व्यवस्थित बनाउने काम भइरहेको सुरुमै आँखामा ठोकिन्छ । मूल गेटबाट छिर्नेबित्तिकै पोखरा लेखिएको टर्मिनल भवन चिटिक्क देखिन्छ । एटिसी टावर उभिइसकेको छ । ह्यांगर ठडिइसकेको छ । अन्य विभिन्न भवनहरुमा कामदारलाई भ्याइनभ्याइ छ ।

धावन मार्गमा उभिएर हेर्दा लाग्छ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्यो । खुलेको माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृंखला अघिल्तिर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मनमोहक देखिन्छ । धावनमार्गबाट टर्मिनल भवन हेर्दा आँखामै ठोक्किने माछापुच्छ्रेले मनै हर्छ ।

कोरोना महामारीले धेरै ठूला आयोजनासमेत ठप्प भएका बेला थोरै जनशक्तिले भए पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम जारी रह्यो । सबै चिनियाँ कामदार फर्किन पाएनन्, घर गएका नेपाली कामदार उतै रोकिए । तर, सीमित जनशक्तिकाबीच पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम भने रोकिएन ।

कोरोना माहामारीले प्रभावित नबनाएको भए अबको ३ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उडान परीक्षण गरिसक्ने थियो । किनकि निर्धारित लक्ष्यभन्दा ६ महिना अगाडि नै विमानस्थल निर्माणको काम सक्ने आयोजनाको दाबी थियो । अब भने सन् २०२१ जुलाई १० मै निर्माण सम्पन्न गरी उडान परीक्षण गरिने विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख विनेश मुनकर्मीले बताए ।

‘अब निर्धारित लक्ष्यभित्रै सक्ने गरी काम भइरहेको छ,’ मुनकर्मीले भने, ‘कोरोनाले अझै पूरा चिनियाँ कामदार आउन पाएका छैनन् । यहीँ भएका कामदार पनि पर्याप्त छैनन् तर समयमै सक्ने गरी काम भइरहेको छ ।’

अहिलेसम्म विमानस्थलको करिब ६४ प्रतिशत काम सकिइसकेको उनले बताए । एयर साइड र ल्याण्ड साइडमा धमाधम काम भइरहेको छ ।

धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्यांगर एप्रोन, आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायत निर्माणका काम सकिइसकेका छन् । फिनिसिङ र डेकोरेसनको काम भने बाँकी रहेको मुनकर्मीले बताए ।

‘धेरैजसो निर्माणका काम सकिए अब डोकेरेसन र फिनिसिङको काम हो,’ मुनकर्मीले भने, ‘उपकरण जडान लगायतका अन्य प्राविधिक काम पनि बाँकी छन् ।’ यतिबेला चिनियाँ र नेपाली गरी २ सय ७० जनाको हाराहारीमा कामदार निर्माणमा खटिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment