Comments Add Comment

किर्गिस्तानका नवनियुक्त प्रधानमन्त्री राष्ट्रपतिद्वारा अस्वीकृत

२८ असोज, काठमाडौं । किर्गिस्तानका राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्रीलाई पदको लागि अस्वीकार गरेका छन् । सूरोनबे जीनबेकोभले संसदबाट प्रधानमन्त्रीका लागि छानिएका सडीर जपारोभलाई राष्ट्रपतिले अस्वीकार गरेका हुन् । जपारोभ राष्ट्रवादी नेताको रुपमा चिनिन्छन् ।

राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्री छनोटको क्रममा संसद्मा निर्वाचनको नियम पालना गरिएकोमा आशंका रहेको बताएका छन् । गत अक्टोबर ४ मा भएको विवादित संसदीय निर्वाचनपछि अहिले किर्गिस्तानमा राजनीतिक संकट चुलिएको छ ।

मानिसहरुले जीनबेकोभको राजीनामा र नयाँ निर्वाचनको माग गरेका थिए । प्रदर्शनकारीहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । गत शनिबार किर्गिस्तानको संसदले जपारोभलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा चयन गरेको थियो । अपहरणको मुद्दामा जेल सजाय भुक्तान गरिरहेका जपारोभ गत साता अन्य राजनीतिक नेताहरुसँग छुटेका हुन् ।

मंगलबार राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्ति आफूले स्वीकृत नगर्ने बताएका थिए । मुलुकमा स्थायित्व कायम राख्न र यसलाई थप बलियो बनाउन आफूहरुले लिने सबै निर्णय वैध र प्रश्न गर्न नसक्ने किसिमको हुनुपर्ने राष्ट्रपति जीनबेकोभले बताएका छन् ।

किर्गिस्तानमा आन्दोलन सुरु भएपछि अहिलेसम्म एक हजार दुई सयभन्दा धेरै मानिसहरु घाइते भइसकेका छन् भने आन्दोलनको क्रममा एकजनाको मृत्यु भएको छ । अहिले मुलुकभर आपतकालको घोषणा गरिएको छ ।

बुधबार संसदमा पुनः भएको निर्वाचनमा जपारोभलाई नै प्रधानमन्त्रीको रुपमा निर्वाचित गरिएको रोयटर्सले बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment