Comments Add Comment

२७ कर्मचारीमा कोरोना पुष्टिपछि माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द   

२८ असोज, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ ।

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवर्द्धित आयोजनामा कार्यरत २७ कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएपछि बुधबारदेखि आयोजनाको निर्माण बन्द गरिएको हो ।

आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए । आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युतगृहको काम बाँकी छ । हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ ।

आयोजना विसं २०७१ देखि थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौतानुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय गत चैत ३० गतेसम्म थियो ।

निर्माण लम्बिँदा लागत ६७ करोड ६० लाख रुपैयाँ बढी लाग्ने अनुमान आयोजनाको छ । शुरुमा तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल चार अर्ब ६३ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान आयोजनाले गरेको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने छ ।

आयोजनामा १२ दशमलव ५ का दुई वटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदमा ८ र पैसा ४० तथा वर्षायाममा चार र पैसा ८ हुने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदबिक्री सम्झौता (पीपीए) भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment