Comments Add Comment

‘मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्डलाई थाहा थियो, तर सहमति थिएन’

२८ असोज, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे एक महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लगातार छलफल हुँदै आएको थियो । बुधबार बिहान पनि ओली र प्रचण्डबीच अढाइ घण्टा लामो छलफल भयो । तर, साँझ प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन भएको पूर्वमाओवादी खेमाको गुनासो छ ।

प्रचण्डनिकट स्रोतका अनुसार, दुई अध्यक्षबीचको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटेको थिएन । तर, साँझ राष्ट्रपति कार्यालयबाटै नयाँ तीनजना मन्त्री नियुक्त गरिएको र दुईजनाको जिम्मेवारी हेरफेर गरिएको सूचना सार्वजनिक भयो ।

‘मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको क्षेत्राधिकार भए पनि अहिले जसरी गरिएको छ, यसमा प्रचण्ड सहमत हुनुहुन्न’, खुमलटार स्रोतले भन्यो । आजकै भेटमा पनि किस्तामा नभएर एकैपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव थियो ।

गत भदौ २६ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेपछि दुई अध्यक्ष सघन छलफलमा थिए । साँझ बिहान लगातार हुँदै आएको छलफलमा अध्यक्ष प्रचण्डले हटाउनुपर्ने मन्त्रीहरुलाई हटाएर एकैपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।

तर, प्रधानमन्त्री ओलीले भने रिक्त तीन मन्त्रालय (अर्थ, शहरी विकास र सञ्चार) मा अहिले नै नयाँ मन्त्री थप्ने र बाँकी मन्त्रिपरिषद् पुनर्गठन तिहारपछि मात्रै गर्नुपर्ने बताउँदै आएका थिए । त्यसैअनुसार, दुईहप्ता अगाडि प्रधानमन्त्री ओलीले महासचिव बिष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई मन्त्रीको प्रस्ताव गरे । तर, पूर्वअर्थमन्त्री पाण्डेले शहरी विकास र पूर्व गृहमन्त्री शर्माले सञ्चारमा नजाने अडान लिए । पाण्डेले अर्थ र शर्माले गृहको अडान लिएका थिए ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले मनपरी गरेको माधव नेपाल पक्षको आरोप

यसपछि प्रधानमन्त्री ओलीले दोस्रो विकल्पका रुपमा कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका छन् । महासचिव पौडेललाई अर्थ मन्त्रालय दिनेमा ओली र प्रचण्ड सहमत भइसकेका थिए ।

मन्त्रीको नाममा भन्दा पनि मन्त्रिपरिषद् पुनर्गठनको तरिकामा प्रचण्ड असहमत रहेको एक नेताले बताए । आजै नियुक्त गरिएका मन्त्रीको नामबारे पनि अध्यक्ष प्रचण्ड जानकार नै थिए । ‘मन्त्रिपरिषद् पुनर्गठन प्रचण्डका लागि सरप्राइज होइन, तर सहमति छैन’, ती नेताले भने ।

आज नियुक्त भएका तीनै मन्त्री प्रधानमन्त्री ओलीनिकट हुन् । प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यालयमा तानेका छन् । पोखरेलको रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैंले राखेका छन् ।

तर, प्रधानमन्त्रीनिकट एक नेता भने दुई अध्यक्षको सहमतिमै मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताउँछन् । उनी भन्छन्, ‘सबैको शतप्रतिशत चाहना पूरा हुँदैन, तर प्रधानमन्त्रीले निकै लामो छलफल गरिसक्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment