Comments Add Comment

अर्णव गोस्वामीविरुद्ध कसरी एक ढिक्का बन्यो विभाजित बलिउड ?

सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणपछि भारतीय चलचित्र नगरी बलिउड निरन्तर त्यहाँका सञ्चारमाध्यम र सामाजिक सञ्जालको निशानामा पर्यो । तर, सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएसँगै बलिउडको आत्मविश्वास फर्केको छ र संगठित प्रत्याक्रमणमा उत्रेको छ ।

बलिउडका निर्माताहरुको संगठन प्रोड्यूसर्स गिल्ड अफ इन्डियासहित चार एसोसिएसन तथा ३४ जना निर्माताहरुले भारतका विवादास्पद सञ्चारकर्मी अर्णव गोस्वामी र उनको रिपब्लिका टिभीलाई प्रतिवादी बनाउँदै दिल्ली उच्च अदालतमा रिट दायर गरेका छन् । गोस्वामीले अपमानजनक शब्दहरु प्रयोग गर्दै बलिउडलाई लान्छित गरेको आरोप रिटमा लगाइएको छ । टाइम्स नाउका राहल रविशंकर र नविका कुमारलाई पनि सो मुद्दामा विपक्षी बनाइएको छ ।

यो कदममा बलिउडका अधिकांस ठूला हस्तिहरु संलग्न छन् । करण जौहर, शाहरुख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगण, रोहित शेट्टीलगायतका प्रोडक्सन हाउसहरु रिट निवेदकको सुचीमा छन् । धेरै मुद्दाहरुमा फरक–फरक धारमा उभिने बलिउडका हिन्दु र मुस्लिम सेलिब्रिटीहरुलाई यो प्रकरणले एक ठाउँमा ल्याइदिएको छ । निकै लामो समयपछि बलिउड यसरी एक ढिक्का भएको हो ।

सुशान्तको आत्महत्यालगत्तै विभिन्न ढंगले बलिउड सेलिब्रिटीहरुलाई लान्छित गर्ने क्रम सुरु भएको थियो, जसको नेतृत्व बलिउडकै नायिका कंगना रनावतले गरेकी थिइन् । उनले सुशान्तको आत्महत्या नभइ हत्या भएको दावी गर्दै यसमा थुप्रै बलिउड हस्तिहरुलाई आरोपित गरिन् । सामाजिक सञ्जालको जनमत पनि कंगनाको पक्षमा देखियो । यो प्रकरण जब लागूऔषधको एंगलतर्फ मोडियो र बलिउडका चर्चित सेलिब्रिटीहरुमाथि प्रहरीले अनुसन्धान थाल्यो, त्यसपछि कंंगनाको स्वर अझै चर्को भयो । सिंगै बलिउड ब्याकफुटमा आयो ।

अघिल्लो साता सुशान्तको मृत्यू आत्महत्या नै भएको ठहर प्रहरीले गरेपछि बल्ल बलिउड बौरिएको हो । पोस्टमार्टम रिपोर्ट हवाला दिँदै प्रहरीले सुशान्तको हत्या नभएको भनेर बयान दिएपछि कंगना मौन भइन् । अर्कोतर्फ स्वरा भास्कर, फरहान अख्तरहरुले उनलाई प्रहार गर्न थाले ।
एम्सको रिपोर्ट आएपछि स्वरा भास्करले ट्वीट गरिन्, ‘अब त सीबीआई र एम्स दुवै सुशान्तले आत्महत्या गरेको निस्कर्षमा पुगेका छन् । केही मानिसहरु सरकारले दिएको पुरस्कार फिर्ता गर्ने कुरा गरिरहेका थिए ।’

स्वराको यो टिप्पणी स्पष्टरुपमा कंगनाप्रति लक्ष्यित थियो । उनले सुशान्तको हत्या प्रमाणित नभए आफूले राज्यबाट पाएका पुरस्कारहरु फिर्ता गरिदिने कुरा गरेकी थिइन् । जब स्वराले कटाक्ष गरिन्, कंगना मौन बसिरहन सक्ने सम्भावना नै थिएन । स्वभावअनुसार उनले आक्रामक जवाफ फर्काइहालिन् ।

उनले लेखिन्, ‘यो हो मेरो अन्तरवार्ता… यदि कसैको स्मरणशक्ति कमजोर छ भने फेरि हेरुन् । यदि मैले एउटा मात्रै झूटो वा गलत आरोप लगाएको रहेछु भने सबै अवार्डहरु फिर्ता गरिदिने छु । यो एउटी क्षेत्रियको बोली हो । म रामभक्त हुँ, ज्यान जावस आफ्नो वचनमा हार्दिन ।’

सुशान्तको मृत्यूका निम्ति भारतीय मिडियाको ठूलो तप्काले उनकी प्रेमिका रिया चक्रवर्तीलाई दोषि ठहर्याएका थिए । ड्रग्सको मामलामा उनलाई प्रहरी पक्राउ गरेर हिरासतमा पनि लिएको थियो । तर, अहिले उनी जमानतमा छुटिसकेकी छन् ।

रियालाई जमानत मिलेपछि फरहान अख्तरले ट्विट गरे, ‘के ती एंकरहरुले माफी माग्लान् जसले रिया र उनको परिवारलाई आरोप लगाएका थिए ? मलाई लाग्दैन । तर, अब उनीहरुलेउ गोलपोष्ट पक्कै परिवर्तन गर्नेछन् । यसका लागि उनीहरु कुख्यात छन् ।’

०००
सुशान्तको मृत्यूपछि कंगनाले बलिउडमा व्याप्त नेपोटिज्म अर्थात नातावादको मुद्दालाई जोडतोडले उठाएकी थिइन् । नातावादले गर्दा नै सुशान्तले हातमा आएका धेरै फिल्म गुमाउनु परेको र त्यही निराशाका कारण आत्महत्याको निर्णय लिएको उनको दावी थियो । यो विषयमा यसराज फिल्म्स र सञ्जय लिला भन्सालीसँग प्रहरीले सोधपुछ पनि गर्यो ।
तर, पछि यो विषय ड्रग्सतर्फ मोडियो । यस मामलामा बलिउड नै दुई हिस्सामा बाँडिएको जस्तो देखिएको थियो । एकातर्फ कंगनाले नेतृत्व गरेको समुह थियो, जसलाई समर्थन गरेको थियो भारतको सत्तारुढ पार्टी विजेपीले । अर्कोतर्फ जया बच्चन, अनुराग कश्यप र स्वरा भास्करजस्ता हस्तिहरु थिए ।

केही वर्ष पहिले वा भनौं नरेन्द्र मोदीको सरकार बन्नुभन्दा अगाडिसम्म बलिउडमा विनोद खन्ना, धर्मेन्द्र जस्ता अभिनेताहरु विजेपीबाट संसद भएका थिए भने सुनील दत्त, दिलीपकुमार, राजेश खन्नाहरु कांग्रेसमा थिए । तर, पनि उनीहरुबीच कटुता थिएन । फिल्मसँग जोडिएको मुद्दामा उनीहरु एक ठाउँ उभिन्थे । पछिल्लो बलिउड भने त्यस्तो छैन । धर्म र राजनीतिक आस्थाका आधारमा कलाकार विभाजित छन् ।

फिल्मकमीृ अविनाश दास भन्छन्, ‘हाम्रो फिल्म इन्डष्ट्री पनि त्यस्तै छ, जस्तो छ हाम्रो समाज । जसरी समाज विभाजित छ, त्यसैगरि विभाजित बनेको छ बलिउड पनि ।’

ड्रग्सको विषय बाहिर आउनासाथ पुरानी अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले संसदमा भाषण गर्दै बलिउडको बचाउ गर्न खोजिन् । उक्त भाषणलाई लिएर कंगना जयामाथि खनिइन् । यहीबीचमा अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप पनि लाग्यो, जसको अनुसन्धान जारी छ । केही अभिनेत्रीहरुले अनुरागको बचाउमा बयान दिए ।

अर्कोतर्फ कंगनाले अटुटरुपमा विभिन्न अभिव्यक्ति दिइरहिन् र शक्ति आर्जन गरिरहिन् । यही शक्तिको बलमा उनले सरकारबाट उच्च श्रेणीको सुरक्षा पनि प्राप्त गरिन् ।

अविनाश भन्छन्, ‘कंगनाको रुपमा विजेपीले बलिउडमा आफ्नो लागि एउटा खम्बा पाएको छ । सलमान खान, शाहरुख खानजस्ता ठूला हस्तिहरु कहिल्यै वीजेपीप्रति सकारात्मक थिएनन् । त्यसैले कंगनालाई नै वीजेपीले काँधमा बोकेर घुमाइरहेको छ ।’

बलिउडमा उत्पन्न विभाजनको झलक कपिल शर्माको टेलिभिजन कार्यक्रममा समेत देखियो । यो शोमा अर्णव गोस्वामीमा निकैए मजाक उडाइएको थियो ।

हिजो बलिउडमा एउटा तेस्रो खेमा पनि थियो, जो वैचारिकरुपमा तटस्थ मानिन्थ्यो । उनीहरु न कसैसँग नजिक थिए, न कसैसँग टाढा । करण जौहर, आदित्य चोपडा, साजिद नाडियाडवाला, सलमान खान, शाहरुख खान, रणबरि कपुरजस्ता हस्तिहरु यो समुहमा थिए । जस्तो कि सलमान खान कहिले नरेन्द्र मोदीसँग चंगा उडाइरहेको देखिन्थे भने कहिले उद्दव ठाकरेसँग निकट देखिन्थे । तर, सुशान्तको आत्महत्या प्रकरण यो तटस्थ समुहले पनि आफ्नो कित्ता स्पष्ट गर्न वाध्य भएको छ । उनीहरु वीजेपीविरोधि कित्तामा खुलेका छन् ।

अब कंगनालाई छोडेर सिंगै बलिउड एक ठाउँमा उभिएपछि यो द्वन्द्वले बलिउड भर्सेस विजेपीको रुप लेला जस्तो देखिएको छ । यसमा अब दिल्ली हाइकोर्टले गर्ने फैसला निकै महत्वपूर्ण हुनेछ । यदि निवेदकहरुले माग गरेजस्तो गोस्वामी लगायतका सञ्चारकर्मीलाई अदालतले कुनै हर्जाना गरायो भने त्यो बलिउडका निम्ति ठूलै उपलब्धी मानिन सक्छ ।

अर्कोतर्फ बलिउडमा कंगनाको भविष्य लगभग समाप्त भएको भविष्यवाणी एकथरिले गरेका छन् । अधिकांस फिल्मकर्मीलाई दुश्मन बनाइसकेपछि अब उनले नयाँ फिल्म नपाउने उनीहरुको दावी छ । त्यसो त कंगना स्वयम्प पनि अब बलिउडमा भन्दा राजनीतिमा आफूलाई परिक्षण गर्न चाहन्छिन् । सम्भवत विजेपीले उनलाई कुनै न कुनै स्थान दिन सक्छ ।

(बीबीसी हिन्दीको समाचारमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment