Comments Add Comment

थाइल्याण्डमा आपतकाल घोषणा, प्रदर्शनमा उत्रिएका नेताहरु पक्राउ

Photo Credit : Reuters

२९ असोज, काठमाडौं । थाइल्याण्डको सरकारले मुलुकमा तीन महिनादेखि जारी आन्दोलन नियन्त्रणको लागि आपतकालको घोषणा गरेको छ । विद्यार्थीहरुले सुरु गरेको आन्दोलनमा सहभागीहरुले शासन व्यवस्था परिवर्तन र प्रधानमन्त्री प्रयुथ चाङ–ओचाको राजीनामा माग गरिरहेका छन् । आपतकाल घोषणासँगै बिहीबार बिहान थाइल्याण्डमा आन्दोलनमा सहभागी २० भन्दा धेरै मानिस पक्राउ परिसकेका छन् । जसमा आन्दोलनका प्रमुख तीन नेताहरु पनि छन् ।

आपतकाल घोषणा गरिएसँगै थाइल्याण्डमा पाँच वा सोभन्दा धेरै मानिसको भेलामा रोक लगाइएको छ । साथै राष्ट्रिय सुरक्षामा आघात पुग्ने किसिमको अनलाइन सन्देश र सामाचार प्रकाशनमा पनि रोक लगाउने निर्णय गरिएको छ । सरकारले मुलुकको अहिलेको अवस्थालाई नियन्त्रणमा लिन आपतकाल आवश्यक रहेको बताएको छ ।

आपतकाल लगाइएसँगै बिहीबार सरकारी कार्यलय अघि आन्दोलन गरिरहेका सबै प्रदर्शनकारीलाई प्रहरीले हटाएको छ । थाइल्याण्डको मानव अधिकारका अधिवक्ताहरुले भने प्रहरीले आन्दोलन गरिरहेका नेताहरुलाई पक्राउ गर्नु गलत भएको बताएका छन् । प्रहरीले अहिलेसम्म २० भन्दा धेरै मानिसहरु पक्राउ परेको बताएको छ । तर, प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । थाइल्याण्डमा आपतकालको नियम अनुसार प्रहरीले मुद्दा दायर नगरी कुनै पनि व्यक्तिलाई ३० दिनसम्म हिरासतमा लिन सक्छ । एम्नेस्टि इन्टरनेशनलले पनि अहिले थाइल्याण्डको प्रहरीले आन्दोलनका नेताहरु पक्राउ गरिएकोप्रति आपत्ति प्रकट गरेको छ । साथै तत्काल हिरासतमा लिइएका नेताहरुलाई रिहा गर्न माग गरेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment