Comments Add Comment

अर्थमा पौडेलको दोस्रो इनिङ : निजी क्षेत्र खुसी कि बेखुसी ?

उद्योगी भन्छन्– सहकार्य हुन्छ भन्नेमा ढुक्क छौं

२९ असोज, काठमाडौं । साढे २ वर्षअघि डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त हुँदा निजी क्षेत्रको मुहारमा चमक थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र केन्द्रीय बैंकका गभर्नर भइसकेका, राम्रोसँग अर्थतन्त्र बुझेका व्यक्तिले विभागीय मन्त्रालयको जिम्मेवारी पाउँदा निजी क्षेत्रमा आशा थियो । सरकारले अब निजी क्षेत्रको समस्या बुझ्छ भन्ने अपेक्षा थियो ।

तर, डा. खतिवडाको कार्यकाल लम्बिँदै जाँदा निजी क्षेत्रको मुहारको चमक हराउँदै गयो । कोरोना महामारीकै बीच उनी बाहिरिएको एक महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्र विष्णु पौडेललाई अर्थमन्त्रालयको चाबी जिम्मा लगाएका छन् ।

ओलीका विश्वासपात्र डा. खतिवडा विज्ञ अर्थमन्त्रीको रुपमा सिंहदरबार पसेका थिए । पौडेल अर्थतन्त्र बुझेका विज्ञ मानिँदैनन् । यद्यपि, यसअघि अर्थमन्त्री हुँदा उनले पपुलिष्ट बजेट ल्याएर प्रशंसा पनि बटुलेका थिए ।

कोरोनाले अर्थतन्त्रलाई निकै ठूलो असर गरेका बेला दोस्रो पटक उनले बिहीबार दिउँसो पदभार ग्रहण गरेका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन नयाँ अर्थमन्त्रीको लागि फलामको चिउरा साबित हुने उद्योगी/व्यवसायीहरु बताउँछन् ।

यो सरकारको पूरा कार्यकाल अर्थमन्त्री बन्न पाए भने पौडेलले अब २ वटा बजेट ल्याउन पाउनेछन् । अझ अन्तिम बजेट चुनावी बजेट भएका कारण उनले पपुलिष्ट बनाएर पुनः पहिलो कार्यकालको जस्तै चर्चा कमाउने सम्भावना पनि छ ।

फेरि उनी उद्योगी/व्यवसायीको लागि सजिला नेता मानिन्छन् । उनमाथि ‘आर्थिक बिचौलिया’को आरोप पनि लाग्दै आएको छ । पौडेललाई चाहेको बेला भेट्न सकिने हुनाले पनि उद्योगी व्यवसायीहरुले अब सहज वातावरण बन्ने प्रतिक्रिया दिएका छन् ।

निजी क्षेत्रका प्रमुख तीन संगठनले नयाँ अर्थमन्त्रीका विषयमा दिएको प्रतिक्रियाः

‘अब सहज ‘एक्सेस’ पाउनेछौं’
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

विष्णु पौडेल यसअघि पनि अर्थमन्त्री भइसक्नुभएका अनुभवी नेता हुनुहुन्छ । उहाँमा निजी क्षेत्रको समस्या सजिलै बुझेर समाधानको लागि तदारुकता देखाउने क्षमता पनि छ । उहाँले निजी क्षेत्रलाई सहज रुपमा ‘एक्सेस’ दिने गर्नुभएको छ । उहाँ एकैचोटी माथि आउनुभएको व्यक्ति होइन । संघर्ष गरेर उठ्नुभएको नेता हो । उहाँलाई गाउँ, जिल्लादेखि केन्द्रसम्मका उद्योगी व्यवसायीको समस्याबारे थाहा छ ।

 

कोरोना भाइरसको महामारीले अर्थतन्त्रलाई निकै ठूलो असर गरिसकेको छ । नयाँ अर्थमन्त्रीले थप क्षति हुन नदिन विशेष भूमिका खेल्नु हुनेमा हामी विश्वस्त छौं । अर्थतन्त्रलाई कसरी चलायमान गराउन सकिन्छ भन्ने विषयमा उहाँले निजी क्षेत्रसँग बसेर सल्लाह लिनुपर्छ । अहिले बजारको मूख्य समस्या भनेको पुँजी परिचालनको हो । यसका विषयमा पनि छलफल र सहकार्य गर्न निजी क्षेत्र तयार छ । साना तथा मझौला व्यवसायहरुलाई उकास्ने स्पष्ट नीति आवश्यक छ । यसमा पनि सरकारले निजी क्षेत्रसंग गर्नपर्छ ।

परियोजनाका, बाह्य लगानीका कुराहरु छन् । भएका व्यवसायहरुलाई चलायमान बनाउन नीतिगत निर्णयहरु चाहिन्छन् । यी विषयमा हामी नयाँ अर्थमन्त्रीससँग बसेर छलफल गर्नेछौं ।

‘सहकार्य गर्नुहुन्छ भन्नेमा आशावादी छौं’
राजेशकाजी श्रेष्ठ
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रसँग अघिल्लो पटकजस्तै सहकार्य गर्नुहुन्छ भन्नेमा आशावादी छौं । अर्थतन्त्रलाई सबल बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनु जरुरी छ । यसका लागि हामी त सधैं तयार छौं । नयाँ अर्थमन्त्री पनि तयार पक्कै हुनुहुन्छ भन्ने हामीलाई लाग्छ ।

अहिले कोरोना महामारीका बेला निकै चुनौती छ । यी चुनौती सामना गर्नका लागि पनि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनैपर्छ । कतिपय विषयमा लचकता पनि अपनाउन तयार हुनु पर्छ । अहिले क्रय शक्ति घटेको छ । यसतर्फ पनि नयाँ अर्थमन्त्रीले ध्यान दिनु हुनेछ ।

यतिबेलाको मुख्य काम भनेको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । यसका लागि सरकारले निजी क्षेत्रलाई सहज वातावरण बनाइदिनु पर्छ । आशा छ निजी क्षेत्रलाई चलायमान पार्न नयाँ अर्थमन्त्रीले भूमिका खेल्नुहुनेछ । उहाँले मेरो गोरुको बाह्रै टक्का नभनी कहाँ कहाँ लचक हुनुपर्ने त्यहाँ लचक हुनुपर्छ । हामीलाई आशा छ उहाँले निजी क्षेत्रको समस्या बुझ्नुभएको छ र अब समाधान पनि गर्नु हुनेछ ।

‘विश्वासको वातावरण बनाउनु पर्नेछ’
सतिश मोर
अध्यक्ष, नेपाल उद्योग परिसंघ

नयाँ अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई कोभिडबाट जोगाउने विषयलाई पहिलो प्राथमिकतामा राख्नु हुनेछ । कोरोनाका कारण उद्योगी–व्यवसायीहरु ठूलो समस्यामा परेका छन् । अर्थतन्त्र जोगाउन अर्थमन्त्रीले प्रभावकारी भूमिका खेल्नुपर्छ ।

उहाँ अनुभवी व्यक्ति भएका कारण चुनौतीहरु सामना गर्न सक्नेमा हामी विश्वस्त नै छौं । अहिलेको मुख्य काम भनेको अर्थतन्त्रलाई थप क्षति हुन नदिने हो । अर्थतन्त्रलाई पहिलेकै अवस्थामा फर्काउन अर्थमन्त्रीले भूमिका खेल्नुपर्ने हुन्छ । यसमा निजी क्षेत्रले आफ्नो भूमिका खेल्छ । यसका लागि सरकार–निजी क्षेत्र सहकार्य हुनपर्छ ।

आर्थिक वृद्धि शून्यमै झर्ने देखिएको छ । आईएमएफले यही पनि भनिसक्यो । यस्तो बेला उहाँले निजी क्षेत्रलाई विस्वासमा लिएर काम गर्नुपर्ने हुन्छ । सरकारसँग सहकार्य गर्न निजी क्षेत्र त तयारै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment