Comments Add Comment

कर्णालीको टोलीसँग प्रचण्ड र माधव नेपालको संयुक्त भेट, प्रधानमन्त्रीसँग भोलि

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्री शाही नेतृत्वको टोली खुमलटार पुगेको थियो । टोलीमा नेपाल पक्षका नेताहरुले पनि थिए ।

तर अविश्वासको प्रस्ताव दर्ता गराउन नेतृत्व गरेका यमलाल कँडेलको समूह भने खुमलटार गएनन् । भेटमा मुख्यमन्त्री शाही नेतृत्वको टोलीले कर्णालीमा विकसित घटनाक्रमबारे जानकारी गराएको छ ।

नेकपाकै १८ सांसदले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन पार्टीमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपा कर्णालीको विवाद छताछुल्ल भएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेता नेपाल खेमाका सात सांसद पछाडि हटेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको छ ।

नेता नेपाल निकटका तीन सांसदलाई मन्त्री र एक सचेतक बनाउने सर्तमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव रोकिएको हो । तर नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले मुख्यमन्त्री शाहीको समूह र अविश्वासको प्रस्ताव दर्ता गराउने दुवै पक्षलाई काठमाडौं बोलाएका छन् ।

दुवै समूहसँग प्रधानमन्त्री ओलीले भने भोलि शुक्रबार मात्र छलफल गर्ने भएका छन् । बिहीबार छलफल गर्ने गरी बोलाइएको थियो, तर मन्त्रिपरिषद् पुनर्गठनका कारण समय नभएकाले भोलिलाई सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

यो पनि पढ्नुहोस मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छैन : कँडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment