 
																			२ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए ।
नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन ।
लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि परेपछि उनी सबैको तारो बनेका थिए । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर राणा भन्छन्, ‘उनी एकदमै मेहनती थिए, केही गर्छु भन्ने भावना बोकेर भर्खरै मात्र सीमामा गएका थिए ।’
०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गरेका बिक कैलाली बहुमुखी क्याम्पसमा हालै स्नातकोत्तरमा समेत भर्ना भएका थिए । २८ वर्षीय उनी प्रहरी निरीक्षकमा प्रतिष्पर्धा गरेर काँधमा खुकुरी चिह्न भिरेर देशको सेवा गर्ने तयारीमा लागेका थए ।
त्यसका लागि दर्खास्त पनि दिइसकेका थिए, हालै काठमाडौंमा स्वास्थ्य परीक्षण गराएर कैलाली फर्किएका थिए । अन्य परीक्षाको तयारी त्यहीँबाट गरिरहेका थिए ।
तर, दुर्भाग्य जनताको जीउधनको रक्षा गर्ने प्रण गरेका उनको आफ्नै ज्यान भने जोगिएन । कानुन कार्यान्वयन गराउने क्रममा उनको ज्यान गयो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी भन्छन्, ‘उनको ट्र्याक रेकर्ड एकदमै राम्रो थियो, पछिल्लो समय तस्करहरूलाई उनको कामले तनाव भएको थियो ।’
शनिबार बेलुकी बिक जवान रामबहादुर साउदलाई लिएर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका थिए । त्यसक्रममा तस्कर समूहले उनको योजनाबद्ध रुपमा घाँटी रेटेर हत्या गरेको छ ।
आइतबार बिहान मोहना नदीमा फ्याँकेको अवस्थामा उनको शव भेटिएको छ भने जवान साउद अझै भेटिएका छैनन् ।
‘उनको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोरसँगै पौडिन जान्ने प्रहरीको दक्ष जनशक्ति पनि परिचालन गरेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले अनलाइनखबरसँग भने ।
सुकुम्बासी बस्तीबाट उदाएका प्रतिभाशाली युवा
बिक कञ्चनपुरको पुनर्वास नगरपालिका–८, सुकुम्बासी वस्तीमा हुर्किएका हुन् । बुबाले २० वर्षअघि नै उनलाई छाडेर गएका थिए, त्यसपछि आमा कलुदेवीले दाउरा बोकेर पढाएकी थिइन् ।
उनका भाइ सूर्यका अनुसार त्यसबेला उनका बुबा रोजगारीका लागि बम्बई जान्छु भनेर हिँडेका थिए तर, पुग्न नपाई रेलबाट लडेर मृत्यु भएको खबर आएपछि सबै जिम्मेवारी आमाको काँधमा आएको थियो ।
बिकले आमाको सपना पूरा गर्ने भन्दै राम्रो बाटो समाते, पढाइमा कहिल्यै पछि परेनन् । बाध्येश्वरी मावि, पुनर्बासबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना भए ।
अध्ययन गर्दैगर्दा प्रहरीमा असईमा भर्ना भए ।
बिकका तीन दाजुभाइ छन्, सबै खेती किसानी गर्छन् । पछिल्लो एक महिना अघि विकसँग उनका भाइ सूर्यको भेट भएको थियो । त्यतिबेला उनले जुगेडा गएपछि इमान्दारितापूर्वक काम गर्दा आफूलाई टर्चर भएको बताएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा प्रहरीको मृत्यु भएको समाचार फैलिएपछि दमको रोगी ५० वर्षीय आमाले छोरा नरहेको थाहा पाएकी थिइन् ।
त्यसपछि उनी विक्षिप्त अवस्थामा रहेको सूर्य बताउँछन् । जागिर खानु अघि नै विवाह गरेका बिकका ५ र ३ वर्षका छोरीहरु छन् ।
टाउको र घाँटीमा चोट
बिकको टाउको र घाँटीमा खुकुरी वा चक्कु हानिएको जस्तो चोट देखिएको छ । अन्य चोटपटक भए, पोष्टमार्टम रिपोर्ट आएपछि नै थाहा हुनेछ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हालसम्म बिकलाई धारिलो हतियार प्रहार गरिएको देखिएको छ भने त्यसपछि नदीमा फ्याँकेर शव व्यवस्थापन गर्ने कोशिस गरिएको देखिएको छ ।
घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धानका लागि त्यस क्षेत्रमा तस्करीमा संलग्न ११ जना बढीलाई नियन्त्रणमा लिएर अहिले सोधपुछ गरिरहेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4