Comments Add Comment

नेकपामा प्रश्न : महामारीमा जम्बो बैठक कसरी बस्ने ?

कात्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अन्योलमा

फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक १५ देखि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । गएको भदौ २६ को स्थायी कमिटी बैठकले निर्धारण गरेको बैठकको यो मिति अहिलेसम्म परिवर्तन नभएकाले आगामी कात्तिक १५ देखि बैठक सुरु हुनेमा केन्द्रीय सदस्यहरु ढुक्क छन् ।

प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा बैठकको मितिबारे अहिलेसम्म नयाँ निर्णय नभएको बताउँछन् । ‘स्थायी कमिटी बैठकको निर्णयबारे नेतृत्वले नयाँ निर्णय नगरेकाले बैठक बस्छ भन्ने नै बुझ्नुपर्छ,’ थापा भन्छन् ।

पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष हल गर्दै चैतमा एकताको महाधिवेशनको तयारी गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर, अहिलेसम्म बैठकको प्राविधिक र राजनीतिक दुवै तयारी भएको छैन । कोरोना संक्रमण उच्च दरमा बढिरहेकाले बैठकबारे केन्द्रीय सदस्यहरुमा अन्योल देखिएको छ ।

केन्द्रीय सदस्य गोमा देवकोटा, संक्रमण उच्च दरमा फैलिरहेकाले यसबारे नेतृत्वले सोच्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘महामारी बढिरहेको छ, यस्तो परिस्थितिमा सुधार नआए बैठक केही समय पछि सार्न पाए हुन्थ्यो ।’

तर, नेकपाको उच्च तहको निकाय सचिवालयमा अहिलेसम्म केन्द्रीय कमिटी बैठकबारे छलफलसमेत भएको छैन । केन्द्रीय कमिटी बैठक अगाडि टुंग्याउनुपर्ने एकता प्रक्रियाका बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठनको विषय समेत नसुल्झिएकाले यसबारे छलफल नै नथालेको एक सचिवालय सदस्य बताउँछन् ।

त्यसो त सचिवालय बैठक नबसेको पनि एक महिना पुग्न लागेको छ । गएको असोज ४–६ यता सचिवालय बैठक बोलाइएको छैन । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे भने विकल्प खोजेर भए पनि केन्द्रीय कमिटी बैठक बस्नुपर्ने बताउँछन् । ‘फराकिलो हल खोजेर अथवा भर्चुअल माध्यमबाट भए पनि बैठक बस्नुपर्छ,’ उनी भन्छन् ।

चैतमा महाधिवेशन गर्नलाई केन्द्रीय कमिटी बैठक निर्धारित समयमै बस्नुपर्ने पाण्डे बताउँछन् । तर, बैठक बस्न सजिलो परिस्थिति नरहेको संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् । उनी भन्छन्, ‘हाम्रो केन्द्रीय कमिटी निकै ठूलो छ । त्यसमाथि ठूला नेताहरुका सहयोगी र सुरक्षाकर्मीहरु गरी भीड ठूलै हुनेछ ।’

केही नेताहरु भने संक्रमण दरमा ठूलै सुधार आए बैठक बस्न कठिनाइ नहुने बताउँछन् । त्यसका लागि ठूलो हल खोज्ने र दूरी कायम राखेर बैठक चलाउन सकिने उनीहरु बताउँछन् ।

स्थायी कमिटी बैठक बस्दा नै बालुवाटारमा पाँच सयको हाराहारीमा मानिसको भेला भएकाले केन्द्रीय कमिटी बैठक सजिलो नभएको स्थायी कमिटीका एक सदस्य तर्क गर्छन् । ‘यस्तोबेला बैठक सार्नु नै उपयुक्त हुन्छ । सत्तारुढ दलले नै संक्रमण रोकथाम प्रति ध्यान नदिएको सन्देश दिनु उचित हुन्न’, उनी भन्छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठकमा ४३८ केन्द्रीय सदस्य र आठ जना स्थायी आमन्त्रित गरी ४४६ जना सहभागी हुनेछन् । यसका लागि छलफल गर्न अझै निकै समय रहेको थापा तर्क गर्छन् । तर, थापाले भनेजस्तो धेरै समय बाँकी देखिँदैन । किनभने, दसैं सुरु नै भइसकेको छ । कात्तिक १० मा टीका भएकाले बैठक निर्धारण गरिएको दिनसम्म दसैं सकिएको हुँदैन । ‘बैठक बस्ने वा नबस्नेबारे शीर्ष नेताहरुले चाँडै छलफल गरे राम्रो हुन्थ्यो, अन्तिम समयसम्म अन्योलमा केन्द्रीय सदस्यहरुलाई राखिनु हुन्न’, देवकोटा भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment