Comments Add Comment

चारदिनपछि ओली-प्रचण्ड भेटवार्ता, निस्किएन निष्कर्ष

Photo Credit : फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ भेटवार्ता भएको छ ।

 

शनिबार प्रधानमन्त्री ओलीले कर्णालीका नेताहरुलाई त्यहाँको विवादबारे दुई अध्यक्षले लिने निर्णय मान्न निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि प्रचण्ड बालुवाटार गएका थिए ।

असोज २८ मा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि दुई अध्यक्ष बीच सम्वाद रोकिएको थियो ।

आइतबारको छलफल मन्त्रिपरिषद् विस्तारमा भन्दा पनि कर्णालीकै विवादमै केन्द्रीत भएको बालुवाटार स्रोतले बतायो ।

कर्णाली का मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव तयार भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो । यमलाल कँडेलको अगुवाइमा नेकपाकै १८ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तयार पारेका थिए । तर, अविश्वास पत्रमा हस्ताक्षर गर्नेमध्ये बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सात सांसदपछि हटेपछि तत्कालका लागि शाहीको मुख्यमन्त्री पद जोगिएको छ ।

मुख्यमन्त्री शाहीले गुलाबजंग शाहीलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् भने सचेतकमा कर्मराज शाहीलाई नियुक्त गरेका छन् । उनले नेपाल समूहलाई थप तीन मन्त्री दिने सहमति गरेका छन् ।

यसबारे ओली र प्रचण्डबीच सहमति जुट्न नसकेको स्रोतले जनाएको छ । प्रचण्ड कर्णालीमा जुटेको सहमतिमा हस्तक्षेप गर्ने पक्षमा छैनन् भने ओलीले कर्णालीका नेताहरुले मन्त्रिपरिषदबारे छुट्टै निर्णय लिन नपाउने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment