Comments Add Comment

‘शव व्यवस्थापनको मुख्य चुनौती फौजमाथि संक्रमणको जोखिम नै हो’

३ कात्तिक, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । महामारीको समयमा सेनालाई दिइएको जिम्मेवारीमध्ये एउटा महत्वपूर्ण जिम्मेवारी शव व्यवस्थापन पनि हो र हालसम्म ८८९ शव व्यवस्थापन गरिसकेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका निर्देशक सन्तोष बल्लभ पौडेल बताउँछन् ।

तर आफन्तको शव हेर्न नदिएको गुनासो पनि यदाकदा सुनिएको छ । सहायक रथीसमेत रहेका पौडेल भन्छन्, ‘अस्पतालले नै कपडा, प्लाष्टिकमा बेरेर शव हस्तान्तरण गर्ने भएकाले खोल्न उपयुक्त हुँदैन ।’

परिवारले समन्वय गरे अस्पतालमै शव हेर्न सकिने पौडेल बताउँछन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनलगायतका सन्दर्भमा अनलाइनखबरले पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :–

नेपाली सेनाले कोरोनाबाट संक्रमितको शव व्यवस्थापन गर्ने जिम्मेवारी पाउनुको पृष्ठभूमि के थियो ? कसरी यो जिम्मेवारी सेनासमक्ष आइपुग्यो ?

नेपाल सरकार मन्त्रिपरिषदको २०७७ जेठ १२ को निर्णयअनुसार नेपाली सेनाले कोभिड–१९ भाइरसबाट संक्रमितहरूको मृत्यु पश्चात शव व्यवस्थापनको जिम्मेवारी पाएको हो । यो कार्य नेपाली सेनाका नेपालभरि नै खटिएका विभिन्न युनिटहरुले २०७७ जेठ २० गते पहिलो संशोधन भएको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार हुने गरेको छ ।

जिल्ला संकट व्यवस्थापन समिति वा स्थानीय संकट व्यवस्थापन समिति, मृत्यु भएको अस्पताल वा स्वास्थ्य संख्या र परिवारजनहरुको समन्वय र सहमतिमा शव व्यवस्थापनको कार्य गर्दै सेनाले गर्ने गर्छ ।

अस्पतालले शव हस्तान्तरण गर्दा कपडा, प्लाष्टिकमा बेरेर दिन्छ । अन्त्येष्टि गर्नुअघि त्यसलाई खोल्नु उपयुक्त हुन्न होला । शव व्यवस्थापन निर्देशिका (संशोधित) र स्वास्थ्य सुरक्षाका हिसाबले पनि आफन्तले अन्तिम दर्शन अस्पतालमा नै गर्नु उपयुक्त हुन्छ

शव व्यवस्थापनमा खटिने टोलीलाई सेनाले कसरी तयार पारेको थियो ? तालिम वा आवश्यक पूर्वअभ्यास र प्रशिक्षण कसरी दिइएको थियो ?

शुरुवाती चरणमा विदेशमा देखिएको परिदृश्यबाट आँकलन गर्दै नेपाली सेनाले शव व्यवस्थापनसम्बन्धी तालिम २०७६ चैत्र महिनाबाटै दिन सुरु गरेको थियो । पहिलो चरणमा केन्द्रीय स्तरमा तालिम दिइएको थियो । त्यसपछि युनिट सबयुनिटसम्म तालिम सञ्चालन गरी दक्ष जनशक्ति तयार पारेको हो ।

शव व्यवस्थापनसम्बन्धी भिडियो, पम्प्लेट, डकुमेन्ट लगायत पनि तयार गरेर काम गरिएको थियो भने सहयोगी भिडियो युट्युबमा समेत राखेर पूर्वतयारीका लागि सबै विषय हरेक लेभलसम्म पु¥याइएको थियो ।

हालसम्म सेनाले कति संक्रमितको शव व्यवस्थापन गरिसक्यो ? केके विधि प्रयोग गरिएका छन् ?

नेपाली सेनाले असोज ३० गतेसम्ममा ८८९ जनाको शव व्यवस्थापन गरिसकेको छ । शव व्यवस्थापन गर्दा ज्यान गुमाएका व्यक्तिहरुको परम्पराअनुसार जमिन र कब्र स्थानमा गाड्ने, विद्युत्तीय शव दाह गृह र चितामा जलाउने काम भएका छन् ।

सेनाले हाल शव व्यवस्थापनमा कति टोली परिचालित गरेको छ ? कसरी खटिएका छन् ? स्वास्थ्य सावधानीका लागि के–के तयारी छ ?

कोरोना संक्रमणको जोखिम देशका ७७ वटै जिल्लामा रहेको हुँदा बिभिन्न ठाउँबाट शव व्यवस्थापनमा खटिनु पर्ने अवस्था रहेको छ । त्यसैले सेनाले ७ वटै प्रदेशमा रहेका ८ वटा पृतनाहरुलाई यसको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी दिएको छ ।

आवश्यकता अनुरूप माग भएको खण्डमा उक्त पृतना अन्तर्गत रहेका बिभिन्न युनिट तथा सबयुनिटबाट दक्ष जनशक्तिहरू शव व्यवस्थापनको निमित्त खटाइँदै आएको छ । हालसम्म ३५ सय बढी कर्मचारी व्यवस्थापनको कार्यमा प्रत्यक्ष तथा परोक्षरुपमा जोडिइसकेका छन् ।

स्वास्थ्य सावधानीका लागि कोभिड–१९ शव व्यवस्थापनमा संलग्न व्यक्तिहरुले अपनाउनु पर्ने मापदण्डको निर्धारण गरी सोही अनुरुप शव व्यवस्थापनमा कार्य गर्ने गरिएको छ । स्वास्थ्य सावधानीका लागि व्यक्तिगत सुरक्षाका सामाग्रीको व्यवस्था गरिएको छ । सबैलाई अनिवार्य रुपमा पन्जा, जुत्ता र कभर, गमबुट, सर्जिकल मास्क, चस्मा र फेस शिल्ड, पानी नछिर्ने एप्रोन, पूरा बाहुला भएको गाउन कभर लगायतको व्यवस्था गरिएको छ ।

साथै, बडी ब्याग, ६ मिटरको प्लास्टिक, ७० प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएको सेनिटाइजर, ०.५ प्रतिशत सोडियम हाइक्वालेराइड ब्लिच पाउडर लगायतको व्यवस्था गरिएको छ ।

व्यक्तिगत सुरक्षा समाग्रीहरु फुकाल्दा पनि विशेष सावधानी अपनाउने गरिएको छ । शव व्यवस्थापमा खटिएका व्यक्तिको सन्दर्भमा त्यसमा खटिनु अगाडि र व्यवस्थापन गरिसकेपछि कोभिड–१९ को लक्षण छ वा छैन भनि एकिन गर्ने गरिएको छ । र, आवश्यकता अनुसार पीसीआर परीक्षण हुन्छ ।

संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारले अन्तिम दर्शन गर्न पाइएन भन्ने गुनासो गरेका छन् । यसलाई नेपाली सेनाले सहजीकरण गर्न सक्दैन ?

कोरोना भाइरसबाट मृत्यु भएका सबैको शव व्यवस्थापन सम्बन्धित परिवारको अनुरोध र सहमतिमा उनीहरुको धर्म, संस्कृति र परम्परा अनुसार गर्ने गरिएको छ । जहाँसम्म अन्तिम दर्शन गर्न दिने विषय छ, अस्पतालले शव हस्तान्तरण गर्दा कपडा, प्लाष्टिकमा बेरेर दिन्छ ।

यो पनि पढ्नुहोस एकपटक अनुहार हेर्न पाए नि हुन्थ्यो !

अन्त्येष्टि गर्नुअघि त्यसलाई खोल्नु उपयुक्त हुन्न होला । शव व्यवस्थापन निर्देशिका (संशोधित) र स्वास्थ्य सुरक्षाका हिसाबले पनि आफन्तले अन्तिम दर्शन अस्पतालमा नै गर्नु उपयुक्त हुन्छ । घाटमा वा शव व्यवस्थापनको क्रममा गर्दा व्यवहारिक कठिनाइहरु हुनजान्छ । यसरी शवदाह गृहमा बेरिएको शवको दर्शन गराउने हो भने स्वास्थ्यको जनशक्ति पनि आवश्यक पर्न जान्छ ।

सुरुवाती चरणमा शवलाई स्कर्टिङ गरेर ल्याउने गरेको देखिन्थ्यो, त्यो किन गरिएको थियो ? साथै, सेनाले शव दाहसंस्कार गृहमा शवलाई किन सलामी दिन्छ ?

स्कर्टिङ गर्नुपर्ने मुख्य कारणहरु चाहिँ ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर हो । सुरक्षा फौजको मुभमेन्टका कारण पनि यो गरिएको हो । साथै, विगतमा संक्रमण फैलिने डरले स्थानीयबासीबाट शव व्यवस्थापनमा अवरोध सृजना भएको हुँदा सुरक्षात्मक दृष्टिकोणलाई मध्यनजर गरिएको हो ।

संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुलाई नेपाली संस्कार एवम् परम्परा अनुरुप मृतकको आत्माको चिरशान्तिको कामना गर्ने गरेको छ । साथै, संक्रमित व्यक्तिको शव दाहसंस्कार गर्दा परिवारका सदस्य वा सामान्य अवस्थामा झैँ अन्य व्यक्ति नहुने भएकाले सम्मान स्वरुप सलामी दिइएको हो ।

सेनाले शव व्यवस्थापनको जिम्मेवारी लिइरहँदा यसका चुनौति के–के छन् ?

हामीले सामना गर्ने मुख्य चनौती भनेको फौजमाथि संक्रमणको जोखिम नै हो । सुरुवाती समयमा तीन र पछिल्लो समयमा ७ जना शव व्यवस्थापनमा खटिएका टोलीलाई संक्रमण देखिएको छ ।

हाल व्यवस्थापन गर्नेहरुको तालिम, रोटेसन तथा आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गरिएको छ । साथै, शव बाहनमा पनि कमी देखिन्छ । यद्यपि, हाल यो समस्या समन्वयमा समाधान भइरहेको छ ।

साथै, शव व्यवस्थापनमा दक्ष जनशक्तिको कमी हुने गरेको पनि छ । किनकि, एउटा टिममा चार जना हुन्छन् र शव व्यवस्थापनपछि उनीहरु क्वारेन्टिनमा बस्नुपर्छ । संक्रमण दर धेरै छ ।

हाल आएर मृत्युको संख्यामा वृद्धि हुँदा विद्युतीय शवदाह गृहको कमीका कारण लाइनमा राख्नु पर्ने भएकोले पनि बढी समय लाग्ने गरेको छ ।

सेना क्वारेन्टिन व्यवस्थापनदेखि औषधि खरिदसम्म जोडिएको छ । सीसीएमसीमार्फत यसको प्रतिकार्यमा पनि सेना संलग्न छ । यस हिसाबमा महामारीको हालको अवस्थालाई सेनाले कसरी लिएको छ ?

कोरोना भाइरस, कोभिड–१९ को प्रभाव विश्वव्यापी स्वास्थ्य महामारी हो । मानव इतिहासमा बेलाबखत आइरहने यस प्रकारका महामारीले आम नागरिकसँगै सैनिक फौजलाई पनि प्रभावित पार्ने गरेको छ ।

हालको कोभिड महामारीका दौरान नेपाली सेना बहुभूमिकामा छ । सिंगो संगठन यसको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित रहँदै आएको छ । कोभिड–१९ को नियन्त्रणका लागि नेपाल सरकारको नीतिगत तहमा निरन्तर सहयोग पुर्याउनुको साथै संक्रमितहरुको ट्रयाकिङ, ट्रेसिङ तथा टेस्टिङ, विरामीहरुको उपचार र मृतकहरुको शव व्यवस्थापनमा नेपाली सेना सुरुको दिनबाट नै क्रियाशील रहँदै आएको छ ।

नेपाली सेनाको दृष्टिकोणमा यो महामारी राष्ट्रव्यापी संकट हो । कोभिड–१९ प्रतिकार्य अभियान योजनाअन्तरगत सुरक्षाको दायित्व नेपाली सेनाको छ । यो परम्परागत सुरक्षा चुनौतिको एक भाग भएकाले यसलाई सुरक्षा चुनौतीकै रुपमा लिएर प्रतिकार्य गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ ।

अहिलेको अवस्थामा स्वास्थ्य सावधानी र सुरक्षात्मक उपायहरु कडाइका साथ लागू हुनु जरुरी छ । महामारी नियन्त्रणमा सफल भएका देशहरुमा सुरक्षा निकाय र नागरिक सरकारको संयुक्त प्रयासमा काम भएकाले नेपालले पनि सोही मोडल अबलम्बन गर्दै आएको छ र यसलाई निरन्तरता दिनुपर्दछ ।

सचेतना फैलाउने तथा समुदायसँग मिलेर काम गर्दा नतिजा हासिल हुने भएकाले सेनाले कोभिड प्रतिकार्यलाई संयुक्त अपरेसन मान्दछ ।

यो पनि पढ्नुहोस कोरोना महामारी र विपदमा सेनाको भूमिका सह्रानीय : प्रधानमन्त्री ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment