Comments Add Comment

चीन लक्षित सैन्य अभ्यासमा जोडियो अस्ट्रेलिया

Photo Credit : REUTERS

४ कात्तिक, काठमाडौं । चीनलाई लक्षित गरी अमेरिका, जापान र भारतले गर्न लागेको जल सेनाको अभ्यासमा अस्ट्रेलिया पनि जोडिने भएको छ । सोमबार गरिएको घोषणा अनुसार बंगालको खोडीमा हुने जलसेनाको संयुक्त अभ्यासमा अस्ट्रेलिया पनि जोडिने भएको हो । यो सैन्य अभ्यासले चीनसँगको तनाव बढाउन सक्ने आशंका गरिएको छ ।

वार्षिकरुपमा अमेरिका र जापानसँग संयुक्तरुपमा बंगालको खाडीमा हुँदै आएको यो सैन्य अभ्यासमा यस वर्ष अस्ट्रेलियालाई पनि निम्तो दिइएको हो । यस किसिमको सैन्य अभ्यासलाई क्वाडका मुलुकहरुबीचको सहकार्यको रुपमा पनि हेरिएको छ ।

अस्ट्रेलिया सन् २००७ पछि पहिलोपटक यो संयुक्त सैन्य अभ्यासमा भाग लिन लागेको हो । त्यतिबेला चीनले अस्ट्रेलियाको यो कदमको विरोध गरेको थियो । चीनको आलोचनापछि अस्ट्रेलिया यो अभ्यासमा सहभागी भएको थिएन । तर, पछिल्लो समय चीन र अस्ट्रेलियाको सम्बन्ध चिसिएको अवस्थामा पुनः अस्ट्रेलिया यो सैन्य अभ्यासमा सहभागी हुन लागेको हो ।

अस्ट्रेलियाको रक्षा मन्त्रालयले मालाबारमा हुन गइरहेको यो सैन्य अभ्यास अस्ट्रेलियाको रक्षा क्षेत्रको लागि कोशेढुङ्गा रहेको भन्दै यसले इन्डो–प्यासिफिक क्षेत्रका लोकतान्त्रिक शक्तिसँगको सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यस विषयमा भने चीनले कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकाले यसअघि नै चीनको प्रभाव नियन्त्रणका लागि जापान, भारत र अस्ट्रेलियासँगको सहकार्य बढाउनुपर्ने जरुरी रहेको बताउँदै आएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment