Comments Add Comment

प्रहरी पोष्ट स्थापना भएपछि कलेनाका महिलाहरु खुसी

४ कात्तिक, डोटी । डोटी दिपायल सिलगढी नगरपालिका-९ कि कलावती साउँद निकै खुशी देखिइन् । गाउँमा हुने झै-झगडाले आफूलाई असुरक्षित महसुस गर्दै आएकी कलावती गाउँमै प्रहरी बस्ने भएपछि अव सुरक्षित हुने आश गर्छिन् ।

‘जाँड रक्सी खाने, झगडा हुने गर्दा गाउँका महिलाहरु निर्धक्क भएर काम गर्न सक्ने अवस्था पनि हुन्थेन,’ कलावती भन्छिन्, ‘पुरुषहरुले जाँँड खाएर श्रीमती, छोराछोरी कुट्ने गाउँमा हल्ला गर्दै हिड्ने गर्थे, त्यसैले हामी महिलाहरु असुरक्षित छौं ।’ अब प्रहरी चौकी स्थापना भएपछि त्यस्ता घटनाहरु कम हुने उनको विश्वास छ ।

कलेनाकी तारा साउँद पनि अब गाउँमा हो-हल्ला नहुनेमा आशावादी छिन् । उनी भन्छिन् ‘सधैं जाँड खाएर झगडा गर्ने अनि जिल्ला प्रहरी कार्यालय जाने भएका कारण दूध बेचेर रक्सी खानेहरुको गाउँ भनेर भन्छन् हाम्रो गाउलाई ।’

दिनहुँ झगडा हुने भएका कारण महिला र बालबालिकाहरु असुरक्षित रहेको उनी बताउँछिन् । गाउँको अवस्था सम्झिँदै उनी भन्छिन्, ‘घरमा श्रीमती र छोराछोरी बिरामी हुन्छन्, भोकै हुन्छन् तर श्रीमान् भने रक्सी खाएर आएर अनि श्रीमती छोरोछोरीलाई कुट्छन् ।’

कलेनाबासी हौं भन्न पनि लाज लाग्ने अवस्था भएको तारा बताउँछिन् । अब केही भयो भने प्रहरी छ भन्ने आँट भएको उनले थपिन् । ‘प्रहरीले ईमानदारीताका साथ आफ्नो कर्तव्य पूरा गरिदिनु पर्छ, गलत गर्ने जो कोहीलाई पनि कारबाही हुनु पर्छ’ तारा भन्छिन्, ‘यदि प्रहरीले इमानदारीताका साथ काम गर्‍यो भने हामी प्रहरीलाई जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तयार छौं ।’

स्थानीय लक्ष्मी नेपालीको अनुहारमा पनि आशाको लहर देखिएको छ । ‘कहिलेकाँही त यो बस्न लायकको ठाउँ पनि होइन भन्ने लाग्थ्यो,’ लक्ष्मी भन्छिन्, ‘रक्सी खाने, जुवातास खेल्ने, महिला तथा वालबालिकाहरुलाई कुटपिट गर्ने जस्ता घटनाले हामीलाई सधैं असुरक्षित वनाईरह्यो ।’ रक्सीकै मातमा बलात्कारका घटनाहरु समेत गाउँमा भएको उनी सम्झिन्छन्, भन्छिन् ‘ती कुराहरु सम्झिँदा घरभित्रै बस्न पनि डर लागेर आउँछ ।’

स-सानो कुरामा निहुँ खोज्ने, अनि जातीय छुवाछुत, महिला हिंसा, बलात्कार जस्ता घटना हुने गरेको उनी बताउँछिन् । ‘अब प्रहरी चौकी स्थापना भएको छ, सायद त्यस्ता घटना नहोलान्,’ अझै पूर्ण विश्वास नभएको भावमा लक्ष्मी भन्छिन् ‘प्रहरीको बर्दी देखेपछि डर मान्छन् भन्ने आश हो, अब उहाँहरुले कसरी काम गर्नु हुन्छ, त्यसैमा भर पर्छ ।’

गाउँमा सधैं तनाव हुन थालेपछि स्थानीय महिलाहरुले पटक-पटक प्रहरी चौकीका लागि नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धाए । जिल्ला सदरमुकामबाट नजिकै रहेको, जिल्लामा जनशक्ति कम भएको कारण देखाउँदै कलेनावासीलाई पटक-पटक फर्काइयो । तर, जब दिनहुँ जस्ता घटनाहरु आउन थाले, प्रहरी चौकी स्थापना गर्नै पर्ने भयो । ‘हामी दिदिबहिनीहरु नगरपालिकामा गएर रोयौं करायौं,’ तारा भन्छिन्, ‘महिला मेयर भएका कारण हाम्रा पीडा बुझिदिनु भयो र उहाँले पहल गरिदिनु भयो ।’

चौकी स्थापना भएपछि महिला मात्रै होइन्, पुरुषहरु पनि खुशी भएको छन् । ७० वर्षीय पुने साउँद भन्छन् ‘रक्सी खाएर दादागिरी गर्नेहरु अब प्रहरीको डर मान्छन् कि भन्ने लाग्छ ।’ बुढापाकाहरुले हो-हल्लाका कारण शान्तिसँग आराम गर्न पनि नपाउने अवस्था रहेको उनी बताउँछन् । ‘प्रहरीले निश्पक्ष भएर काम गरिदिनु पर्छ,’ पुने भन्छन्, ‘कोही सानो होस् कि ठूलो होस्, अन्याय जसको छ उसलाई कारबाही गर्नु पर्‍यो ।’

यस्तै भनाइ छ, ५५ वर्षीय गोरख साउदको पनि । उनले भने, ‘प्रहरी चौकी आएर मात्रै हुँदैन, प्रहरीले सक्रियता देखाउनु पर्छ ।’ प्रहरीले मात्रै सबै कुरा गर्न त नसक्ने तर प्रहरीले इमानदार भइदिए आफूहरु पनि साथ दिने उनको भनाइ छ ।

शनिबार स्थापना गरिएको अस्थायी प्रहरी पोष्टको उदघाटन गर्दै दीपायल सिलगढी नगर-पालिका प्रमुख मन्जु मलासीले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्नमा प्रहरी पोष्ट सफल हुने विश्वास व्यक्त गरिन् ।

‘स्थानीयवासीको पटक-पटकको आग्रहपछि हामीले धेरै प्रयास गरेर अस्थायी पोष्ट स्थापना गर्न सकेका छौं,’ मलासीले भनिन्, ‘प्रहरीले पनि निश्पक्ष भएर सक्रियतापूर्वक काम गरिदिनु पर्छ र स्थानीयले पनि प्रहरीलाई सहयोग गर्नु पर्छ ।’

अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले भने, ‘कुनै सिकायत नआउने गरि आफ्नो क्षेत्रको शान्ति सुरक्षाका लागि क्रियासिल रहनु ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले हाललाई अस्थायी पोष्ट स्थापना भएको र बिस्तारै प्रहरी चौकी स्थापनाका लागि पहल गरिने बताए ।

अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment