
२६, भदौ, काठमाडौं । सरकारले बेलैमा तयारी नगर्दा दसैँ सुरु हुँदा बजारमा सहुलियत मूल्यको चिनी अभाव भएको छ ।
भन्सार महशुल छुटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने चिनीको टेण्डर नपरेको र साल्ट ट्रेडिङ कर्पोरेसनको चिनी समयमै नआइपुग्दा उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् ।
बजारमा अहिले चिनीको भाउ प्रतिकिलो ८० देखि एक सय रुपैयाँसम्म छ । सरकारले खोलेको सहुलियत पसलमा प्रतिकिलो ७० रुपैयाँमा चिनी पाइने भनिए पनि उपभोक्ताले पाउन सकेका छैनन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद थालेको १० हजार मेट्रिक टन चिनीको टेन्डर नपरेको र साल्ट ट्रेडिङले खरिद गरेको चिनी पनि नआइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । ‘हाम्रो टेण्डर परेन, साल्टको पनि आइपुगेन, अहिले सहुलियत पसलमा चिनी राख्न सकिएन,’ कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले भनिन् ।
उता साल्ट ट्रेडिङ कर्पोरेसनले भने खुद्रामा थोरै मात्रै चिनी बिक्री गरिरहेको दाबी गरेको छ । होलसेलमा बजार पठाउने गरी चिनी नआएको तर खुद्रामा सानो परिमाणमा चिनीको बिक्री गरिरहेको कर्पोरेसनका विभागीय प्रबन्धक बृजेश कुमार झाले जानकारी दिए ।
‘हाम्रो पसलमा थोरै मात्रामा चिनी बिक्री भइरहेको छ, होलसेललाई दिने गरी छैन,’ झाले भने । कर्पोरेसनले चाडपर्वका लागि खरिद गरेको २० हजार मेट्रिक टन भन्सार सहुलियतको चिनी आउने क्रममा रहेको झाले बताए । चिनी खरिद गरेको स्थानबाट ढुवानी भइसकेको र सम्भवतः २५ सय टन चिनी बुधबार आइपुग्ने कर्पोरेसनले जनाएको छ ।
खाद्य कम्पनीले साउन १३ गते नै १० हजार मेट्रिक टन चिनी आयात स्वीकृति सरकारबाट पाएको थियो । तर दसैँका लागि खरिद गर्नु पर्ने चिनीको टेण्डर कम्पनीले दसैँको केहीदिन अघि मात्रै खरिद प्रक्रिया सुरु हुनेगरी आह्वान गर्यो ।
यता खाद्यसंगै एकै दिन चिनी खरिद गर्ने अनुमति पाएको अर्धसरकारी स्वमित्वको साल्ट ड्रेडिङले भने २० हजार मेट्रिक टन चिनी आयात सुरु हुनै लागेको बताएको छ ।
नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको खपत हुन्छ । नेपाली उत्पादकबाट गत सिजनमा एक लाख ७० हजार मेट्रिक टन हाराहारी मात्रै चिनी उत्पादन भएको थियो ।
प्रतिक्रिया 4