Comments Add Comment

पुराना सेयर लगानीकर्ताको अनुभव : रक्सीजस्तै नशा लाग्यो !

‘६७ वटा कम्पनीको लगानी डुब्दा पनि नाफामै छु’

७ कात्तिक, काठमाडौं । ‘सेयर बजारमा लगानी किन गर्ने ?’ यसको सरल जवाफ हो, ‘नाफा कमाउन ।’ तर, यसबाट नाफाचाहिँ कति कमाइन्छ ?

पहिलो प्रश्नको उत्तर जति सहजै मिल्छ, दोस्रोको मिल्दैन । अरु त अरु, विगत ४० वर्षदेखि निरन्तर सेयर बजारमा घोत्लिएका डमरु बल्लभ घिमिरेसँग पनि यसको सीधा उत्तर छैन । आफूले कति कमाएँ वा गुमाएँ भन्ने पनि उनी खोल्न चाहँदैनन् ।

तर, घिमिरेले यतिचाहिँ भने कि सेयर बजारबाट भएको आम्दानीले काठमाडौंमा घर जोड्नसम्म उनी सफल भए ।

चाबहिल चोकभन्दा अलि भित्र छ उनको घर । घरको मूलढोकामै ‘सेयर विश्लेषक’ भनेर ‘नेम प्लेट’ राखिएको छ । घरभित्र विभिन्न बैंक तथा कम्पनीहरुका साधारणसभामा घिमिरेले भाषण गर्दै गरेका तस्वीरहरु सजाइएका छन् ।

हामी उनको सेयर लगानीका आरोह–अवरोहहरु सुन्ने चेष्टाका साथ यहाँ आइपुगेका छौं । सेयर बजारमा घिमिरेको प्रवेश कसरी भयो ? हाम्रो पहिलो जिज्ञासा यही थियो ।

घिमिरेले २०३४ सालदेखि सेयर बजारमा लगानी गर्न सुरु गरेका हुन् । जतिबेला सेयर बजार बुझ्ने मान्छे सीमितमात्रै थिए । अहिले कुनै कम्पनीले साधारण सेयर (आईपीओ) निस्कासन शुरु गर्यो भने लाखौंले एकैपटक आवेदन दिन्छन् । आवेदन दिएका धेरैले पाउँदैनन्, थोरैले १० कित्तामा चित्त बुझाउनुपर्छ ।

‘मेरी श्रीमती धेरै बिरामी छे सर, हेरचाह गर्न घर जानुपर्यो,’ सकेसम्म अँध्यारो अनुहार पारेर उनले हाकिमलाई भने । श्रीमती बिरामी भनेपछि हाकिमले नकार्न सकेनन् । विदा पाएपछि आईपीओ भर्न दिनभर लाइन लागे

घिमिरे हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको औद्योगिक निगम (एनआईडीसी) बैंकमा जागिरे थिए । जागिरकै शिलशिलामा उनी सेयर बजारमा प्रवेश गरेका हुन् । उनलाई सोही बैंकमा कार्यरत रेग्मी थरका सिनियर कर्मचारीले यसका लागि उत्प्रेरित गरेका थिए ।

‘मलाई त त्यसबेला सेयरको विषयमा आधारभूत जानकारी पनि थिएन, रेग्मी सरले नै लगानी गर्दा राम्रो हुन्छ भनेर सुझाउनुभो,’ उनी भन्छन्, ‘उहाँले पनि राम्रै गरिरहनुभएको रहेछ, त्यसपछि मैले पनि उहाँलाई पछ्याएँ ।’

घिमिरेले पहिलो लगानी प्राथमिक बजारमै गरेका थिए । नेपालकै जेठो नेपाल बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्दा उनले १० कित्ताका लागि आवेदन दिए । त्यसबेला जति चाहे पनि आवेदन दिएर किन्न सकिन्थ्यो ।

‘आईपीओ भर्ने मान्छे नै धेरै हुँदैनथे, जति भर्‍यो, त्यति नै पाइन्थ्यो,’ उनी सम्झन्छन्, ‘तर चाहेर पनि धेरै भर्न भने हामी सक्दैनथ्यौँ, १० कित्ताका लागि रकम जुटाउन नै धौधौ पर्थ्यो ।’

त्यसबेला सर्वसाधारणहरु सेयर बजारको पहुँचभन्दा टाढा नै थिए । धेरैजसो वित्तीय क्षेत्रमै आवद्ध भएका व्यक्तिहरुले सेयर बजारमा लगानी गर्थे । घिमिरेका अनुसार त्यसबेला उनको तलब मासिक ४५ रुपैयाँ थियो । तर, आईपीओ भर्न एक हजार रुपैयाँ चाहिन्थ्यो ।

‘आईपीओ भर्नमात्रै महिनौंको तलब जम्मा गर्नु पर्थ्यो, चाहेर पनि धेरै भर्न सक्ने अवस्था थिएन,’ उनी अहिले सम्झछन् ।

यसरी शुरु भएको उनको लगानी यात्रा अहिलेसम्म पनि रोकिएको छैन । त्यसपछि खुलेका कुनै पनि कम्पनीको आईपीओका लागि आवेदन दिन उनले छुटाएनन् । बजारको विकास र विस्तार हुँदै जाँदा अवस्था फरक आयो । आईपीओ भर्न पनि निकै सास्ती खेप्नुपर्ने भयो । घण्टौ लाइन लाग्नुपर्ने हुन्थ्यो । उनी टण्टलापुर घाममा लाइन लागेर साधारण सेयर भर्थे ।

आईपीओ जारी गर्ने कम्पनीलाई पनि निकै समस्या थियो । आईपीओ नबिकेर पटक–पटक समय थप गर्नुपर्थ्यो । घिमिरेले पहिलोपटक नेपाल बैंकको १० कित्ता सेयर हात पारे । राम्रै नाफा हुने भएपछि उनलाई सेयर बजारबाट बाहिरन मन लागेन ।

आईपीओ भर्दाका केही रमाइला सन्दर्भ छन् ।

दुई बैंकमा लाइन लागेर आईपीओ भरेको उनलाई याद आउँछ । एउटा नेपाल बंगलादेश बैंक, अर्को नेपाल एसबीआई बैंक । नेपाल एसबीआईको आईपीओ भर्दा ५ घण्टा लाइन बस्नु परेको उनले सुनाए ।

नेपाल बंगलादेश बैंकको आईपीओ खुल्दा त उनलाई निकै तनाव भयो । सधै आईपीओ भर्न जान्छु भन्दा हाकिमले छुट्टी नदिने । ५–१० मिनेटमा नै हुने भए पनि एकछिन पुगेर आउनु, दिनभरि लाग्ने भएकाले उनलाई के बहाना बनाउँ भन्ने लाग्यो । अफिसमा गएर हाजिरी गरे । अनि हाकिमकहाँ गएर झुट बोले ।

‘मेरी श्रीमती धेरै बिरामी छे सर, हेरचाह गर्न घर जानुपर्यो,’ सकेसम्म अँध्यारो अनुहार पारेर उनले हाकिमलाई भने ।

अरु काम भनेको भए हाकिमले आनाकानी गरिहाल्थे । श्रीमती बिरामी भनेपछि हाकिमले नकार्न सकेनन् । विदा पाएपछि आईपीओ भर्न दिनभर लाइन लागे ।

यो क्रम निरन्तर चलिरह्यो ।

आईपीओमा मागभन्दा कम आपूर्ति हुने भएपछि गोला प्रथाको चलन आयो । गोलाप्रथाबाट आईपीओ भरे पनि धेरैपटक उनलाई परेन । आईपीओ नपरेपछि उनले त्यही कम्पनीको सेयर दोस्रो बजारमा गएर किन्थे ।

एक किसिमले सेयरमा रक्सीको जस्तै नशा आफूलाई लागेको बताउँछन् । ‘म कुनै आईपीओ भर्न छुटाउँदिन थिएँ, छुटाइहाले सेकेन्डरीबाट महंगोमा भए पनि किन्थेँ, रक्सी खाने मान्छेलाई एक दिन साँझ खान पाएन भने खसखस हुन्छ रे । हो, मलाई पनि आईपीओ नपर्दा त्यस्तै हुन्छ,’ घिमिरे सुनाउँछन् ।

साधारणसभामा हंगामा

सेयर बजारमा सक्रिय भएर लाग्नेहरुका लागि डम्बरुवल्लभ परिचित व्यक्ति हुन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका अधिकांश कम्पनीका सञ्चालक तथा व्यवस्थापनका उच्च तहका कर्मचारीहरुले उनलाई चिन्छन् । एक हिसाबले भन्ने हो भने उनी सेयर बजारका सेलिब्रेटी हुन् ।

बजारमा चर्चित हुनुको कारण उनको सक्रियता नै हो । उनी आफू सेयरधनी भएका हरेक कम्पनीको साधारणसभामा पुग्छन् । विभिन्न बैंकहरुको साधारणमा सभामा गएर उनले हंगामा गरेका छन् ।

सञ्चालक समितिले गरेका सानासाना गल्तीहरु पनि उनले लेखेर राख्छन् । साधारणसभामा सेयरधनीका लागि बोल्ने समय दिँदा अगाडि सर्छन् । माइकमा गएर आफूले थाहा भएसम्मका सञ्चालक समिति तथा व्यवस्थापनका कमजोरीहरु छरपष्ट पारिदिन्छन् । साधारणसभामा हल नै थर्कने गरी आवाज बुलन्द गर्छन् । उनकै कारण धेरैपटक बैंकहरुको साधारणसभा बिथोलिएको छ ।

उनको यो शैलीदेखि बैंक सञ्चालकहरु हैरान छन् । कतिपयले उनलाई साधारणसभामा आउनुभन्दा पहिले नै ‘प्लिज नबोलिदिनू, के गर्नु पर्छ हामी गर्छौं’ भनेर पनि फकाउँछन् । यही विषयमा उनको आलोचना पनि हुने गरेको छ ।

घिमिरेलाई पछिल्लोपटक डुबाउने श्रीराम सुगर मिल हो । उनको सेयर रहेका यस्ता ६७ वटा कम्पनी बन्द भएका छन् । समग्रमा उनले गुमाएको भन्दा कमाएकै धेरै छ

धेरै लगानीकर्ताहरु घरभित्रै बस्ने र साधारणसभाले गरेका निर्णयमा चासो नराख्ने गरेको भन्दै उनले प्रत्येक सेयर धनीले मनमा लागेको कुरा साधारणसभामा राख्नुपर्नेमा जोड दिए । उनी यसरी नै सहभागी हुन्छन् अधिकांश कम्पनीका साधारणसभामा । तर, कोभिडपछि भने उनको दैनिकी फेरिएको छ । घरमै दिन बिताउँछन् ।

अहिले त कतिपय कम्पनीले अनलाइन साधारणसभा बोलाउँछन् । उमेरले ७ दशक नाघिसकेका उनी प्रविधिमा त्यति अभ्यस्त छैनन् । यद्यपि, उनले पछिल्लो समय छोरा–बुहारीसँग सिक्ने गरेका छन् । जुममा हुने साधारणसभामा सहभागी हुन अहिले बुहारीले सिकाइदिएको उनले बताए । माइकमा बोलेजस्तो उनलाई जुममा बोल्दा सहज लाग्दैन ।

हिजो र आजको सेयर बजारको अवस्थामा आकाश–पतालको फरक भएको उनको अनुभव छ । सेयर बजारको विकास र विस्तारमा निकै फड्को मारेको उनले बताए ।

नेपाल धितोपत्र बोर्डको १० कित्ते अवधारणाले अहिले उनलाई आईपीओ पर्न छाडेको छ । तर यसले धेरै लगानीकर्ताहरु भित्रिएको भन्दै उनी खुसी छन् । सेयर बजार सबैको पहुँचमा पुग्नु पर्छ भन्ने उनलाई लाग्छ ।

पछिल्ला सरकारी नीतिका कारण बजार राम्रै विस्तार भएको उनी बताउँछन् । धितोपत्र बोर्डका निर्वमान अध्यक्ष डा. रेवतबहादुर कार्कीप्रति उनी नतमष्तक छन् । कार्कीले गरेका कामहरुलाई सबैले सम्मान गर्नु पर्ने उनले बताए ।

कति कमाए ? कति गुमाए ?

घिमिरेको पुर्खौली घर प्रदेश १ को संखुवासभामा हो । धेरै वर्ष पहिले खाली हात काठमाडौं झरेको उनी बताउँछन् । उनले काठमाडौंमा निकै संघर्ष गरे । बैंकमा जागिर पाएपछि भने आर्थिक समस्याले सताउन पाएन ।

काठमाडौंमा अहिले उनका दुई घर छन् । गौरीघाटमा रहेको घर बहालमा लगाएका छन् । चाबहिलको घरमा आफैँ बस्छन् । छोरा–बुहारी एक बैंकमा जागिरे छन् । यूकेजीमा अध्ययरत नातिसँगै घिमिरे दम्पति दिनभर घरमा बिताउँछन् । कुनै टेलिभिजिनले बोलाइहाल्यो भने अन्तरवार्ताका लागि जान्छन् । कसैले फोन गर्यो भने बजारका बारेमा आफूले जाने बुझेको अनुभव सेयर गर्छन् ।

उनले सेयर बजारबाट चाहिँ कति कमाए ? कति गुमाए त ?

जवाफ गुमाएकैबाट शुरु भयो । आफूसँगै लगानी शुरु गरेकाहरु अर्बपति भएको उनले सुनाए ।

‘अलि बाठाले कमाउने खालका कम्पनीमा मात्रै लगानी गरे, मलाई भने ६७ वटा कम्पनीले डुबाए,’ झोलामा राखिएका दर्जनौं सेयर प्रमाणपत्रहरु देखाउँदै उनले सुनाए ।

नेपालमा पहिला धेरै चर्चित कम्पनीहरुको सेयर उनले किनेका रहेछन् । उनले भृकुटी कागज कारखाना, नेकोन एयर, नेपालको पहिलो जुट मिल, रघुपति जुटमिल जस्ता पुराना र चर्चित धेरै कम्पनीका सेयर प्रमाणपत्र सुरक्षित राखेका छन् । कतिपय त हराए । यस्ता पहिला निकै ठूला भनिएका कम्पनीहरु सबै घाटामा गए, बन्द भए । कम्पनी मात्रै बन्द भएनन्, उनको लगानी पनि डुब्यो ।

अरु त अरु भइहाले, लकडाउनकै बेला बन्द गर्ने घोषणा गरेको श्रीराम सुगरमिलमा पनि उनको सेयर रहेछ । अर्थात उनलाई पछिल्लोपटक डुबाउने श्रीराम सुगर मिल हो ।

उनको सेयर रहेका यस्ता ६७ वटा कम्पनी बन्द भएका छन् । अहिले उनी ती कम्पनीका प्रमाणपत्र हेरेर टोलाउँछन् । ‘नियामक निकाय बलियो नभएका कम्पनीहरुले डुबाउने रहेछन्, यो कुरा मैले बुझिनँ, बुझ्ने साथीहरु अर्ब पति भए,’ उनी भन्छन् ।

अहिलेसम्म कति गुमाएँ भन्नेको उनले लेखाजोखा गरेका छैनन् । नेपाल ब्याट्री कम्पनी, हिमाल सिमेन्ट, सयपत्री कलर ल्याब, नेपाल मेड कम्पनी, काठमाडौं पाउरोटी, इन्द्रेणी सोयाविन, एग्रो नेपाल कम्पनी जस्ता धेरैनेप्सेमा सूचीकृत थिए । यतिधेरै कम्पनी बन्द भए । उनलाई आफ्नो लगानी डुबेकोमा भन्दा लगानी कम्पनी धराशयी भएकोमा दु:ख लागेको छ ।

समग्रमा उनले गुमाएको भन्दा कमाएकै धेरै छ । अन्य कम्पनीहरुले कमाएका कारण उनलाई धेरै तनाव भएन ।

‘अहिलेसम्म कति कमाउन भयो त ?’ हामीले बल्ल यो जिज्ञासा उनी सामू तेर्सायौं ।

‘म सेयरबाटै धेरै कमाए भन्दिनँ, दालभात खानचाहिँ मज्जाले पुग्यो होला,’ उनले हाँसेर भने । आफूले लगानी गरेका यति धेरै कम्पनीहरु नडुबेको भए राम्रै कमाउने उनको आँकलन छ ।

धेरैभन्दा धेरै कम्पनीको सेयर लिए पनि उनले थोरै कित्ता लिने गर्थे । थोरै–थोरै कित्ता भए पनि अधिकांश कम्पनीको सेयर उनले खरिद गरे । पोर्टफोलियो भने अरु लगानीकर्ताभन्दा आफ्नो धेरै थोरै रहेको उनी सुनाउँछन् ।

‘पैसा त मेरो धेरै छैन तर नम्बर अफ कम्पनीजमा म नै नेपालको पहिलो हुँ,’ उनी दाबी गर्छन् ।

उनको सेयर बजारमा सक्रियता अहिले पनि कम भएको छैन । कोभिड सकिएपछि सबै कम्पनीको साधारण सभामा गएर आफ्ना कुराहरु राख्ने सोचिरहेका छन् । बजारबाट रिटायर्ड हुने भन्ने विषयमा अहिले सोचेकै छैनन् ।

‘उमेरले सक्रियता कम होला अलग कुरा, तर अहिले म रिटायर्ड हुने सोचेको पनि छैन,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment