Comments Add Comment

अब डिजिटल दक्षिणा, बैंकहरुले ल्याए आकर्षक योजना

८ कात्तिक, काठमाडौं । दसैँंमा पैसाको डिजिटल कारोबार बढाउने विषय हरेक वर्षजसो उठ्ने गर्छ । तर सामान खरिददेखि दक्षिणा दिँदासम्म दसैँको समयमा नोटकै प्रयोग बढी हुने गर्छ ।

नोटको सुरक्षाका लागि पनि दसैँमा डिजिटल दक्षिणा दिनु पर्छ भन्ने वहस विगतका वर्षहरुमा हुँदै आए पनि शुरुवात भने भएको थिएन । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष भने यो वहस कार्यान्वयनको चरणमा जाने पक्का भएको छ ।

केही बैंकले डिजिटल दसैँको फ्रेमवर्क बनाएका छन् । बैंकहरुले दसैँमा डिजिटल दक्षिणा दिनेहरुलाई आकर्षक उपहार नै दिने घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकको आर्थिक नीति तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बैंकहरुले पछिल्लो समय ल्याएका नीतिले डिजिटल दक्षिणालाई प्रवर्द्धन गर्ने बताउँछन् ।

डिजिटल दक्षिणाले मुलुकको आर्थिक भार कटौती गर्न मद्दत पुग्नुका साथै आर्थिक सुरक्षा पनि हुने उनको भनाइ छ । हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्नका लागि मात्रै निकै ठूलो धनराशी खर्च हुने गरेको छ । केन्द्रीय बैंकले निकै ठूलो रकम खर्चिएर नयाँ नोट छपाउने गरेको छ । डिजिटल दक्षिणा कार्यान्वयनमा आएपछि यस्तो खर्च नहुने भट्ट बताउँछन् ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्रेल अब आर्थिक कारोबारहरु डिजिटल हुनु पर्ने बताउँछन् । दसैँमा पनि डिजिटल दक्षिणाको शुरुवात हुनु सबैका लागि राम्रो हुने उनले बताए । नेपाली संस्कार अलि फरक भएका कारण दक्षिणा नै डिजिटल बनउनका लागि भने केही समय लाग्ने उनी बताउँछन् ।

बैंकहरुका अफरै अफर

डिजिटल दसैँको योजनालाई सफल बनाउन विभिन्न बैंकहरुले आकर्षक योजना ल्याएका छन् । माछापुच्छ्रे बैंकले विजया दशमीको टीकादेखि पूर्णिमासम्म डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

माछापुच्छ्रे मोबाइल मनिमार्फत दुई सय रुपैयाँ भन्दा बढी डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक वापत एक सय रुपैयाँ ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ ।

रेमिट्यान्स सेवा प्रदायक प्रभु मनि ट्रान्सफरले हरेक साता ३२ इन्चको टीभीसहित प्रभु सेटअप बक्स पाउनुका साथै प्रभु क्यापिटलमा प्रभु बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टीभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनसको घोषणा गरेको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाई हरेक दिन १० भाग्यशाली बिजेताले एक हजारको गिफ्ट भौचर प्राप्त गर्नसक्ने जनाएको छ ।

यसैगरी बैंक अफ काठमाण्डूले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दसैँंलाई लक्षित गर्दै मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएका हो । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डूले तिनमा तिन सय नगद उपहार योजना ल्याएको हो ।

यस योजना अनुसार ग्राहकले तीन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १००० रुपैयाँ वा सो भन्दा बढी भएमा ३०० रुपैयाँ नगद उपहार दिनेछ ।

ग्राहकले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङमा भएको फोनपे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, दक्षिणा कारोबारको विवरणमा दक्षिणा राख्नुपर्नेछ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गरेको छ । बैंकले सम्पूर्ण शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनका लागि पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्न थालेको हो । पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङमार्फत दसैँमा दक्षिणा प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने योजना ल्याएको छ ।

मेगा बैंक नेपालले ‘तीनमा तीन सय’ नामक स्किम ल्याएको हो । कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउने बैंकले जनाएको छ ।

त्यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ । दक्षिणावापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ क्यासब्याक’ को व्यबस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस) मा ‘दक्षिणा’ भनी पर्नेछ ।

यसैगरी सिटिजन्स बैंकले आफ्ना डिजिटल बैकिङ प्रयोगकर्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपियाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २ सय ५० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने योजना ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment