Comments Add Comment
टिप्पणी :

बालुवाटारमा सामन्त : बुढेसकालमा माताजीसँग…

केपी ओलीले सत्तामा टिक्नका लागि ‘यसोउसो’ गर्न लागेका हुन् ?

२०७३ साल मंसिर १९ गते साँझको कुरो हो । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ र गोकर्ण बिष्टलगायतका नेताहरु एउटा रात्रिभोजमा सरिक थिए ।

तत्कालीन विपक्षी दलका नेता रहेका ओलीले त्यहाँ बालब्रह्मचारी र माताजीवीचको ‘लसपस’ को कहानी सुनाए ।

आजीवन ब्रह्मचर्यका लागि लडेका वृद्ध जोगीले बूढेसकालमा आएर माताजीसँग ‘यसोउसो’ गरेको सुनाउँदै ओलीले अब यो बूढेसकालमा आफू त्यसरी विचलित नहुने प्रतिवद्धता जनाए।

सर्वप्रथम, इन्द्रेणी फुडल्याण्डमा ओलीले सुनाएको कथा सुनौं –

एकजना साधु थिए । बाल ब्रह्मचारी । अत्यन्तै बाल ब्रह्मचारी । लामो समयदेखिको अविवाहित । बहुत निष्ठावान् । उनले बहुत अभ्यासहरु गरे ।

गाउँलेहरुले उनलाई कुटी बनाएर राखिदिए ।

एउटी जोगिनी, सन्यासिनी, माताजी पनि त्यहाँ बस्ने गरिन् ।

गाउँलेहरुले प्रसादहरु लगिदिएर सहयोग गर्थे ।

एकदिन बिहानै प्रसाद लिएर जाँदाखेरि ती बूढा जोगीले भने– अब मलाई तपाईहरुले प्रसाद–स्रसाद ल्याउनुपरेन । मलाई दर्शन गर्न आउनु पनि परेन । अब म सन्यासी रहिनँ ।

‘के भो बाबा ? के भो ?’

‘माताजीसँग मेरो अलिकति यस्तो–उस्तो भो । म सन्यासी रहिनँ अब । त्यसकारण, अब मलाई केही गर्नुपरेन ।’

यति कथा सुनाइसकेपछि ओलीले बुढेसकालमा आफू त्यो ब्रह्मचारी जसरी आफ्ना पूर्वमान्यता र अडानहरुबाट विचलित नहुने प्रतिवद्धता जनाउँदै यसो भने –

‘त्यसै गर्ने हो भने बीसै वर्षमा गरेको भए हुन्थ्यो नि त । ८० नाघेपछि यो कुनै तरिका हो ? न उमेरको आनन्द भो, न सन्यास । यता पनि छैन, उता पनि छैन ।

(मेरो) जिन्दगी त जेलमा बित्यो, ठीक छ । जिन्दगी त संघर्षमा बित्यो, ठीक छ । भूमिगत हिडिँयो, ठीक छ । युवा अवस्थामा दुःखकष्ट गरियो, ठीक छ ।…. बुढेसकालमा अब माताजीसँग… हुँदैन ।’

कात्तिक ५ को त्यो रात

२०७७ कात्तिक ५ गते राति १० बजे भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको टोली प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रवेश गर्यो ।  त्यहाँ दुई घण्टाभन्दा बढी समय बिताएर भोलिपल्ट भारतीय गुप्तचरको टोली दिल्ली फर्कियो ।

दुई घण्टासम्म नेपालका प्रधानमन्त्री र रअका प्रमुखवीच के–के कुराकानी भए होला ? यसबारे विभिन्न किसिमका अडकलबाजी भइरहेका छन् ।

रअका प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गरेको विषयलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोलिपल्ट औपचारिकरुपमा पुष्टि गरे । प्रधानमन्त्री ओली र सामन्तवीचको भेटबारे प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक भएको प्रेस नोटमा यत्ति भनिएको छ–

‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल–भारतवीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो ।

(सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार, ६ कात्तिक २०७७)

भारतले नेपालको सीमा मिचेपछि सम्बन्ध चिसिएकै बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा त्यसरी गुप्तचर प्रमुखसँग भेट गर्नु कूटनीतिक मर्यादाविपरीत भएको परराष्ट्र मामिलाका जानकारहरुका साथै सरकारका विपक्षी र आलोचकहरुले मात्र होइन, स्वयं सत्तारुढ नेकपाकै प्रवक्ताले समेत बताइसकेका छन् । तर, प्रधानमन्त्री निकटस्थहरु चाहिँ यसलाई भारत–नेपालवीचको सम्बन्ध सुधारको सकारात्मक थालनीका रुपमा लिन्छन् ।

प्रधानमन्त्री ओलीले सत्तामा टिक्नका लागि ‘जे पनि’ गर्न लागेका हुन् ? बाल ब्रह्मचारीले जस्तै बुढेसकालमा माताजीसँग ‘यसोउसो’ हुन लागेको हो ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सामन्तको आगमनलाई भारतीय गुप्तचरका रुपमा नभएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा भएको बताएका छन् ।

तर, गुप्तचर प्रमुखलाई प्रधानमन्त्रीले दूत बनाउने प्रचलन नरहेको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

सामाजिक सञ्जाल र मिडियामा आएका प्रतिक्रियाहरु हेर्दा आम जनमानसमा प्रधानमन्त्री केपी ओलीको छवि जुन प्रकारको राष्ट्रवादी बनेको थियो, त्यसमाथि कात्तिक ५ गते राति एकाएक पर्दा खसेको भान हुन्छ । यो घटनालाई सत्तारुढ पार्टीकै नेताहरुले समेत पचाउन सकेका छैनन् ।

सरकारमा रहँदा विकास र सुशासन दिन नसकेको भन्दै आलोचना खेप्नुपरे पनि प्रधानमन्त्री ओलीको पहिचानका रुपमा रहेको राष्ट्रवादको ‘भर्जिनिटी’ अहिलेसम्म तोडिएको थिएन । उनले चुनावमा आर्जन गरेको शक्ति पनि यही राष्ट्रवादी छवि नै थियो । र, प्रधानमन्त्रीमा रहँदा पनि उनलाई राष्ट्रवादी नायक र अरुलाई ‘भारतीय दलाल’ का रुपमा निकटस्थहरुले चित्रित गर्दै आइरहेकै थिए ।

कात्तिक ५ गतेको त्यो रात ओलीको राजनीतिक जीवनमा ठूलो धक्काका रुपमा आइलागेको घटनाक्रमहरुलाई हेर्दा महसुस गर्न सकिन्छ ।

जसरी वृद्ध ब्रह्मचारीले बुढेसकालमा माताजीसँग लसपस गरेर आफ्नो जीवनभरको पहिचान गुमाए, त्यसैगरी प्रधानमन्त्री ओलीले जीवनको उत्तरार्थमा ‘रअ’सँग लसपस गरेर सफेद राष्ट्रवादमा दाग लगाएका त होइनन् ? यसको निश्पक्ष, पूर्वाग्रहरहित अनि सन्तुलित विश्लेषण/छानविन गर्ने जिम्मा आम मानिसहरुलाई नै छाडौं ।

यो पनि पढ्नुहोस ‘रअ’ का हाकिम काठमाडौं किन आए ? सरकारले जवाफ देओस्

भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटेको कुरा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रेस नोटमार्फत जानकारी गराउनु सकारात्मक छ । तर, यो प्रेस नोट अधुरो एवं अमूर्त छ ।

भेटको तीन दिनपछि परराष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण पनि सकारात्मक नै भए पनि प्रष्ट छैन । हिजो नयाँ नक्सा जारी गर्दा सम्पूर्ण राजनीतिक दल र नेपाली जनताले सरकारलाई अभूतपूर्व साथ दिएको स्मरण गर्दै सरकारले यो भेटबारे जनतालाई यथार्थ सूचना दिनुपर्छ ।

संसद चलेको छैन, मोदीले दूतकै रुपमा सामन्तलाई बालुवाटार पठाएका हुन् भने पनि कालापानी लिपुलेकबारे भारतबाट के प्रस्ताव आयो ? जनताले यसको जानकारी पाउनुपर्छ । यो कुनै गोप्य राख्नुपर्ने गुप्तचरी वा सुरक्षा मामिला होइन, राजनीतिक मामिला हो । राष्ट्रिय स्वाभिमानको मामिला हो ।

बालुवाटारमा प्रधानमन्त्री ओली र सामन्तवीचको त्यो आधारातको गोप्य भेटका सन्दर्भमा उठेका गम्भीर प्रश्नबारे सरकारले जनतालाई जतिसक्दो चाँडो खुलस्त पार्दा उसको हित हुन्छ । अन्यथा, रहस्य जति लुकाइन्छ, त्यति नै प्रधानमन्त्री ओलीमाथि प्रश्न उठिरहने छ ।

अब यहाँ भारतीय गुप्तचर प्रमुख सामन्तको बालुवाटार प्रवेशले उब्जाएका केही प्रश्नबारे चर्चा गरौं । यी प्रश्नहरुको जवाफ समयमै आएन भने प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडान थप धुमिल बन्दै जाने देखिन्छ ।

पहिलो प्रश्न– सुरक्षा परिषदको बैठकले के निर्णय गर्यो ?

गोयलको टोली कात्तिक ५ गते मध्यान्हमै काठमाडौं विमानस्थलमा ओर्लिसकेको थियो । साँझ ८ बजेतिर बालुवाटारमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाए । आखिर रअका प्रमुृख काठमाडौं आएकै बेला सुरक्षा परिषदको बैठक किन राखियो ? त्यो बैठकले के–के निर्णय गर्यो ? यसबारे सरकारले कुनै पनि सूचना सार्वजनिक गरेको छैन ।

के सन्देश दिन भारतीय गुप्तचरसँगको भेटकै बेला सुरक्षा परिषदको बैठक डाकियो ? किन प्रधानसेनापतिलाई बालुवाटार बोलाइयो ?

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जारी गरेको प्रेस नोटमा प्रधानमन्त्री र गोयलवीच ‘बुधबार साँझ’ भेट भएको भनिएको छ । थापाले प्रेस नोटमा भनेका छन्, ‘उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’

जबकि बुधबार साँझ घर्किसकेपछि राति ८ बजे बालुवाटारमा सुरक्षा परिषदको बैठक बसिरहेको थियो । सुरक्षा परिषदको बैठक सकिएपछि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापावीच बेग्लै छलफल भएको थियो । यति गर्दा रातको झण्डै १० बजेको थियो ।

गोयल बुधबार साँझ बालुवाटार आउने सेड्युल थाहा हुँदाहुँदै सुरक्षा परिषदको बैठक राखिएको देखिन्छ । किनभने, भारतीय दूताबासको आग्रहमा परराष्ट्र मन्त्रालयले अनुमति नदिई बुधबार दिउँसो भारतीय गुप्तचरहरु चढेको विमान त्रिभुवन विमानस्थलमा ओर्लिएको थिएन ।  यदि बुधबार राति बालुवाटारमा बसेको सुरक्षा परिषदको बैठकलाई नियमित बैठक वा संयोग मात्र मान्ने हो भने त्यसका एजेण्डा के थिए, त्यो बाहिर आएको छैन ।

प्रश्न के उठ्छ भने ‘रअ’ का प्रमुखसँगको भेटपछि राति नै सुरक्षा परिषदको बैठक बसेको हो ? वा सुरक्षा परिषदको बैठकलगत्तै ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्रीले भेटेका हुन् ? के सन्देश दिनका लागि भारतीय गुप्तचरसँगको भेटकै बेला सुरक्षा परिषदको बैठक डाकियो ? किन प्रधानसेनापतिलाई बालुवाटार बोलाइयो ?

के अब फेरि भारतले नेपालमा माइक्रो म्यानेमेन्ट सुरु गरेको हो ? हाम्रा नेताहरुले गोप्य एवं रहस्यमय साँठगाँठ सुरु गरेका हुन् ?

 

दोस्रो प्रश्न– फेरि माइक्रो म्यानेजमेन्ट सुरु भएको हो ?

नेपालमा संविधान बन्नुअघिसम्म भारतले नेपालको आन्तरिक मामिलामा माइक्रो म्यानेजमेन्ट गर्दै आएको थियो । खासगरी राजनीतिक र कूटनीतिक माध्यमबाट भन्दा पनि ‘रअ’ मार्फत जथाभावी भेटघाटहरु गर्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, कसैलाई उचाल्ने त कसैलाई पछार्ने खालका गतिविधिहरु हुँदै आएका थिए । पत्रकार सुधीर शर्माको पुस्तकमा उल्लेख भएअनुसार स्वयं केपी ओलीले पनि भारतीय गुप्तचरका हाकिमहरुसँग काठमाडौंका तारे होटलमा गोप्य भेटघाट गर्ने गरेका थिए । तर, नाकाबन्दीपछि नेपालको इज्जत केही मात्रामा बढेको थियो र भारतले राजनीतिक व्यवहार गर्न थालेको थियो ।

तर, के अब फेरि भारतले नेपालमा माइक्रो म्यानेमेन्ट सुरु गरेको हो ? हाम्रा नेताहरुले गोप्य एवं रहस्यमय साँठगाँठ सुरु गरेका हुन् ? होइन भने प्रधानमन्त्री ओलीले मध्यरातमा भारतीय गुप्तचरसँग के कुरा गरे ? र, त्यो किन अहिलेसम्म गोप्य राखिएको छ ? यो दोस्रो प्रश्न हो ।

तेस्रो प्रश्न– के भारतले ओली सरकार बचाउने आश्वासन दियो ?

गत स्थायी कमिटीको बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्नका लागि भारतले खेल खेलिरहेको बताएका थिए । त्यसपछि उनका समर्थकहरुले प्रचण्ड–माधव समूहका नेताहरुलाई ‘भारतीय दलाल’ करार गर्दै सडकमा नाराबाजीसमेत गरेका थिए ।

प्रधानमन्त्री ओलीको त्यो भनाइले भारत नेपालको सरकार ढाल्ने वा जोगाउने ‘माइक्रो म्यानेजमेन्ट’मा सक्रिय छ भन्ने प्रष्ट सन्देश दिएको छ । प्रधानमन्त्रीको त्यही स्टेटमेन्टका आधारमा अहिले स्वयंसिद्ध प्रश्न जन्मिएको छ– दिल्लीबाट विमान चार्टर्ड गरेर काठमाडौं आएका ‘मोदीका दूत’ले केपी ओलीलाई सत्तामा टिकाउने आश्वासन दिएर गए वा सरकार ढाल्ने धम्की दिए ?

दिल्लीबाट विमान चार्टर्ड गरेर काठमाडौं आएका ‘मोदीका दूत’ले केपी ओलीलाई सत्तामा टिकाउने आश्वासन दिएर गए वा सरकार ढाल्ने धम्की दिए ?

मोदीका दूत भनिएका सामन्तको काठमाडौं आगमन यस्तो बेलामा भएको छ, जुनबेला प्रधानमन्त्री ओली आन्तरिक कारणले अप्ठ्यारोमा परेका छन् । कर्णाली प्रदेशमा भएको ओलीपक्षको पराजय, कोरोना महामारीमा जनतालाई निशुल्क उपचार नगर्ने घोषणा, प्रचण्डसँग बढ्दो दुरी, माधव नेपाललाई फकाउने प्रयासको असफलता अनि जनतामा दिनानुदिन बढिरहेको अलोकप्रियताका कारण प्रधानमन्त्री ओलीको सत्ता धरापमा परेको छ ।

ठीक यहीबेला ‘रअ’ का प्रमुृखसँग बालुवाटारमा मध्यरातमा वार्ता हुनु संयोग हो या नियोजित ? यो तेस्रो प्रश्न हो ।

चौथो प्रश्न– बुढेसकालमा ‘यसोउसो’ गर्न लागिएको हो ?

०४६ सालको जनआन्दोलनताका राजा वीरेन्द्रलाई भारतीय दूतले जलस्रोत र परराष्ट्र लगायतका मामिलामा भारतको चासो सम्वोधन गरिए पञ्चायत टिकाइदिने आश्वासन दिएको पूर्वमन्त्री राधाकृष्ण मैनाली बताउँछन् । तर, तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले भारतसँग झुक्नुभन्दा दलहरुसँग सम्झौता गर्नु राष्ट्रको हितमा हुने राजालाई सुझाव दिएको र दरबारले भारतीय प्रस्ताव अस्वीकार गरेको मैनालीको भनाइ छ ।

अहिले केपी शर्मा ओली जनताबाट निर्वाचित भएर प्रधानमन्त्री पदमा आसीन छन् । संसदमा बहुमत हुँदाहुँदै पार्टीको निर्णयका आधारमा ओली सरकारबाट बाहिरिनुपर्ने अवस्था आयो भने पनि मरिचमानका पालामा जस्तो व्यवस्था ढल्दैन । ओली नेतृत्वको सरकार जनतामा बदनाम भयो नै भने पनि व्यक्ति परिवर्तन गरेर अर्को चुनावसम्म नेकपाले ‘ड्यामेज कन्ट्रोल’ गर्न सक्छ । त्यसैले ओलीले कुर्सीमा टिकिरहनका लागि भारतीय स्वार्थ पूरा गरिदिनुपर्ने कुनै बाध्यता देखिँदैन ।

तर, झापा आन्दोलनदेखि नै ओलीसँग काम गरेका वामपन्थी नेता मैनाली केपी ओलीले सत्तामा टिक्नका लागि जे पनि गर्न सक्ने आशंका बढेको बताउँछन् । भारतीय रअका प्रमुखलाई मोदीले पठाएको नभई केपी ओलीकै निम्तोमा बालुवाटार आएको मैनालीको विश्लेषण छ । प्रधानमन्त्री ओलीले सत्तामा टिकिराख्नका लागि भारतसँग कालापानीमा कुनै सम्झौता गर्न सक्ने मैनालीको आशंका छ ।

के मैनालीले आशंका गरेजस्तै प्रधानमन्त्री ओलीले सत्तामा टिक्नका लागि बुढेसकालमा आएर ‘जे पनि’ गर्न लागेका हुन् ? बाल ब्रह्मचारीले जस्तै बुढेसकालमा माताजीसँग ‘यसोउसो’ हुन लागेको हो ? यो चौथो प्रश्न हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment