Comments Add Comment

पायाः जात्रा : महिसासुरका सेना खोज्दै खड्ग लिएर जब निस्कन्छन् देवगण

१० कात्तिक, काठमाडौं । दसैंको टीका थापिसकेपछि काठमाडौं उपत्यकामा झनै ठूलो उत्सवको सुरुवात हुन्छ । अन्त टीकासँगै बिस्तारै मलिन बन्दै जाने दसैंको माहोल काठमाडौं उपत्यकामा भने पूर्णिमासम्म नै चलिरहन्छ ।

हरेक दिन जात्रा र उत्सवमा रमाउने काठमाडौं उपत्यकावासीको कला र संस्कृतिबाट लोभिएका मध्यकालीन पश्चिमा यात्रीहरूले आफ्नो स्मरणमा लेखे’थे ‘जनालय (घर)जति सबै मन्दिर र नगरवासीजति सबै देवता रहेको देश रहेछ नेपाल ।’

हुन त काठमाडौं उपत्यकामा वर्षैभरि कुनै न कुनै जात्रा र उत्सव चलिरहन्छ । कुरा यत्ति हो कि कुनै जात्रा क्षेत्रीयस्तरमा मात्रै चर्चाको विषय बन्छ त कुनैले राष्ट्रिय रूप लिन्छ ।
एउटै पौराणिक कथा र एउटै भूगोलमा पनि काठमाडौंभित्रै विभिन्न कोणले जात्रा मनाउने गरिन्छ । यही विविधताको एउटा गतिलो उदाहरण हो पायाः जात्रा ।

खड्ग जात्राका नामबाट चिनिने यो जात्रा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा मनाउने गरिन्छ । काठमाडौंमा विविध ठाउँमा हिन्दु र बौद्धहरूको भिन्दाभिन्दै पायाःको चलन छ भने ललितपुर र भक्तपुरमा भने हिन्दुहरूले मनाउने पायाःको मात्रै चलन छ ।

काठमाडौंको असन र ठमेलमा मनाइने जात्राको विधि अन्तको भन्दा भिन्न छ । तर, चाहे काठमाडौंको होस् या भक्तपुर, चाहे हिन्दुहरूको होस् या बौद्धको, सबैको जात्राको निचोड भने एउटै हो ।

दसैंको अष्टमीको दिन खड्गसिद्धिको आराधना गरी विधिपूर्वक देवीको खड्ग स्थापना गरेपछि विजयादशमी र एकादशीको दिन ठाउँ अनुसार भिन्नभिन्न तरिकाले मनाइने एउटा विशेष पर्व हो खड्ग चालन पर्व ।

महिसासुरले स्त्रीबाहेक कसैले पनि मार्न नसक्ने बर पाएका थिए । जति युद्ध गर्दा पनि देवगणले युद्धमा महिसासुरको वध गर्न नसकेपछि विष्णु, रुद्र र इन्द्रले आफ्ना शक्तियुक्त देवीको स्थापना गरे । अत्यन्त सुमधुर स्वर, सुन्दर शरीर र शालीन व्यवहारले युक्त महिसासुरलाई देखेर देवी आफैँ मोहित भइन् ।

त्यही मोहनीले लठ्ठ भएकी देवीले दानवसँग युद्ध गर्न नसकेपछि मधु (मदिरा) को प्रयोग गरेर महिसासुरलाई पराजित गरिन् भन्ने विश्वास छ । यही जात्राले मधु वा सुरामा समेत भिन्नता छुट्याएको छ । संस्कृतिविद् विनोदराज शर्मा भन्छन् ‘कुनै पनि लक्ष्य प्राप्तिका लागि पिउने मदिरालाई मधु भनिन्छ भने आफ्नो व्यक्तिगत इच्छाले पिउने मदिरालाई सुरा भनिन्छ । सुरा शरीर र समाजको लागि हानिकारक हुन सक्छ, तर मधु हुँदैन । त्यसैले यो जात्रामा देवगणले सुरा नभएर मधु पिउने गर्छन् वा देवीलाई चढाउने गर्छन् ।

पौराणिक कथा अनुसार मधुपानपछि महिसासुरको वध गरेर क्रोधित भएकी देवीले हातमा खड्ग लिएर कोही बाँकी छन् कि ? भनेर असुर सेनाको खोजी गर्दै हिँडेको पौराणिक कथाका आधारमा खड्ग चालन जात्रा सुरु गरिएको हो । जुन काठमाडौं र भक्तपुरको विभिन्न ठाउँमा गर्ने गरिन्छ ।

०००

पायाः नेवारी शब्द हो, जसको पर्यायवाची शब्द खड्ग चालन वा खड्ज जात्रा भन्ने हुन्छ । पाको अर्थ काट्ने(खड्ग) र याःको अर्थ यात्रा भन्ने हुन्छ ।

भक्तपुरको पायाःले यो जात्राको ऐतिहासिकता प्रदर्शन गर्ने कोसिस गरेको छ । भक्तपुरमा पायाः जात्राको समयमा राजा नरेन्द्रदेवको खड्ग प्रदर्शन गर्ने चलनले यो जात्रा नरेन्द्रदेवकै पालादेखि चलेको त होइन ? भन्ने आशंका खडा गरेको पुरातत्व विभागबाट प्रकाशित प्राचीन नेपालमा प्रकाशित काठमाडौंमा मनाइने पायाः जात्रा र त्यसको ऐतिहासिकता भन्ने आलेखमा कल्पना श्रेष्ठद्वारा उल्लेखित छ ।

यही मितिबाट यो जात्रा सुरु भयो भन्ने प्रमाण भेटिँदैन । रातो मत्स्येन्द्रनाथको रथयात्रा अघि नरेन्द्रदेवको खड्ग त्यहाँ लैजाने चलनले पनि नरेन्द्रदेवको पालामा नै यो जात्रा सुरु भएको भन्ने मान्यतालाई जोड दिएको छ ।

त्यस्तै, जयस्थिति मल्लको पालामा लेखिएको गोपाल राजवंशावलीमा खड्ग जात्राका लागि भक्तपुरवासीसँग खड्गको खोजी गर्दा १७ सय ढाल तरबार सिद्धिपूजाका लागि दरबारमा आइपुगेको थियो भन्ने कुरा गोपाल राजवंशावलीमा उल्लेख छ । यसले १४ औं शताब्दीसम्म यो जात्रा व्यवस्थित रुपमा चल्न सुरु गरिसकेको स्पष्ट थाहा हुन्छ ।

काठमाडौंका दर्जन पायाः

काठमाडौं उपत्यकामा मनाइने पायाः ठाउँ अनुसार भिन्दाभिन्दै रहेको देखिन्छ । यसमध्ये बौद्धसम्प्रदायले मनाउने पायाःको मिति र विधिमा अर्काेभन्दा केही भिन्नता पाइन्छ । अन्यथा अरु सबै पायाःहरुको विधि र प्रक्रिया लगभग उस्तैउस्तै हुन्छ ।

जस्तो, काठमाडौंको असन र ठमेलमा मनाइने पायाः बौद्धमार्गीहरूले मनाउने पायाः हो । टेबहा पायाः, बटु पायाः, महाबौद्ध पायाः, कोहिटी पायाः, यटखा पायाः, बनेमा पायाः, लायकु पायाः, कीर्तिपुर पायाः आदि हिन्दुमार्गीहरूले मनाउने पायाः हो । संस्कृतिविद् शर्माका अनुसार यी पायाःमा अष्टमातृका गण स्थानविशेष चार, आठ र बाह्र अष्टमातृका गणहरू सामेल हुन्छन् ।

कल्पना श्रेष्ठको आलेखमा भने कीर्तिपुरको पायाःमा देवगणको साटो कीर्तिपुरका प्रधान घरका महिलाहरूलाई मात्रै सामेल गर्ने गरिएको उल्लेख छ ।

पायाःको विधि र मिति

आश्विन शुक्ल अष्टमीको दिन औपचारिक रुपमा पायाः जात्राको सुरुवात गरिन्छ । तलेजु भवानीलाई मूल चोकमा ल्याएपछि खड्गको विधिसम्मत पूजा गरी यो जात्राको औपचारिक सुरुवात गरिन्छ ।

पञ्चोपचार विधिद्वारा अष्टमीको दिन द्योछेँमा नवदूर्गाको पूजा गरी सोही दिन पीठपूजा, अष्टभैरव, क्षेत्रपाल तथा गणेशको समेत पूजा गर्ने गरिएको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

शर्माका अनुसार नवदूर्गाको पूजापछि अष्टमीकै दिन खड्गजात्रामा प्रयोग गरिने खड्गलाई शास्त्रीय विधिद्वारा पूजा गर्ने चलन छ । नवमीको दिन कोटघर, आगमघरमा बली दिने चलन छ ।

बली सकिएपछि थकालीहरुले दैत्यको मुकुट लगाउँछन् । नवमीको सबै विधि पूरा भएपछि दशमीको दिन शरीरमा देवदेवी गण प्रवेश गराएका मातृकागण बाहिर निस्कन्छन् । उनीहरूको हातमा खड्ग र ढाल हुन्छ । उनीहरूभन्दा अघिअघि एउटा बाटो पन्छाउने टोली हिँड्छ । त्यसको पछिपछि भूत पन्छाउने टोली निस्किएको हुन्छ । त्यसपछि कुपिण्डो समाउने टोली निस्कन्छ । देवदेवी गणले आफ्नै गणको पहिरन लगाएको हुन्छ ।

यसरी देवगणले शरीरमा कम्पनका साथ राक्षस गणलाई खोज्दै हातमा खड्ग लिएर नगर परिक्रमा गर्ने गर्छन् । हिन्दु धर्मालम्वीले मनाउने पायाः यही रीतले सम्पन्न हुने शर्मा बताउँछन् ।

अर्काेतर्फ बौद्ध पायाःःको विधि हिन्दुको भन्दा केही भिन्न छ । देवीले असुर सेनालाई भेटेर खड्गले प्रहार गर्न खोज्दा असुर सेना पहिले ढालमा लुकेको, त्यहाँ खड्गले प्रहार गरेपछि कुपिण्डोमा लुकेको जस्ता पौराणिक कथाका कारण हिन्दुहरुले मनाउने पायाः जात्रामा ढाल र कुपिण्डो बोकेका मान्छे हुन्छन् तर यो विधि असन र ठमेल पायाःमा पूरा गरिँदैन ।

हिन्दु अरु पायाःमा अष्टमीको दिन भोगबली चढाउने चलन छ । तर असन पायाः र ठमेल पायाःमा भने यो चलन पनि पायाःदैन । अरु पायाःमा दशमीको दिन आगमघरमा देवीदेवताको पूजा तथा अन्य पूजाआजा सबै तान्त्रिक विधि अनुसार नै गरिन्छ ।

अरु ठाउँको पायाः आगमघर, कोटघर या दरबारबाट निस्कन्छ । असन पायाः र ठमेल पायाःमा भने असन बकुननी, आगमघर र विक्रमशीला महाविहार (ठमेल भगवान बहाल)बाट निस्कने गर्छन् ।

पायाः नाच र देवगणको मुकुण्डो

पायाः जात्राको क्रममा बाजागाजा सहित देवगणहरूले नाच समेत देखाउने गर्छन् । भैरव, महाकाली, बाराही, गणेश, ब्रह्मयणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरव लगायत १९ जना देवगण रहेका हुन्छन् ।

भक्तपुर पायाःःको क्रममा तलेजु भवानीलाई नै नगरपरिक्रमा गराउने चलन समेत रहेको छ । यसरी तलेजुलाई नगरपरिक्रमा गर्ने क्रममा नवदूर्गा गणले साथ दिनुपर्छ भन्ने मान्यता छ । दशमीको दिन नवदूर्गाले मूल चोकमा गएर तलेजु भवानीसँग सिद्धिप्राप्त गर्नुपर्छ । यही उपलक्ष्यमा नवदूर्गा गणले तलेजुको साथ लागेर नगरपरिक्रममा गर्नुपर्छ भन्ने मान्यता छ ।

भक्तपुरमा यो जात्रा क्रोध भैरवसम्म पुगेपछि नवदूर्गा गणले बिदा माग्छन् । जताबाट आए पनि लासकु ढोका घुम्नैपर्ने प्रावधान छ ।

त्यसो त यो जात्रा तलेजु मन्दिरमा मात्रै होइन, पायाः सर्वसाधारणको घरमा पनि मनाइने जात्रा रहेको शर्मा बताउँछन् । सबै विधिविधान पूरा गरिसकेपछि जान्नेले नाच्ने र नजान्नेले पनि एकदुई पाइला अघिपछि भने पनि गर्नैपर्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment