Comments Add Comment
निबन्ध :

प्रिय अखडा !

अखडा भनेको फटाहा, बदमास लुक्ने ठाउँ होजस्तो लाग्थ्यो । चोरहरूले चोर्न सल्लाह गर्ने कुनै गुप्तस्थान, बदमासहरूले कुनै उपद्रो गर्न योजना बनाउने एकान्तस्थान होलाजस्तो लाग्थ्यो ।

अहो ! अखडा शब्दको त व्यापक अर्थ लाग्दोरहेछ । चोर, साधु, सज्जन, बौद्धिक वर्ग र राजनीति गर्नेहरूको जमघट हुने ठाउँलाई पनि अखडा भनिँदोरहेछ । थाहा छैन, म सहभागी ती अखडाहरू कुन परिभाषाभित्र पर्थे, अथवा अखडामा अटेका हामीहरू कति साधु अथवा चोरजस्ता थियौं या बौद्धिकजस्ता !

विराटनगर बसुन्जेल म सहभागी हुने संसारी माइस्थान थियो साहित्यको अखडा । अखडामा खस भाषाका अन्वेषक प्रा. बालकृष्ण पोखरेल, कवि भानुभक्त पोखरेल, कृष्णभूषण बल समेतका हस्तीहरू थिए । ‘शनिबार साहित्यिक समूह’ नामको जमघटमा नरेन्द्र चापागाईं, प्रमोद प्रधान, महेश–इन्दिरा प्रसाई, दधिराज सुवेदी सहभागी थिए ।

यतिका वर्षपछि पनि सम्झन्छु, अखडाका सदस्यहरू हरिप्रसाद तिम्सिना, जीवनाथ धमला, सुवास ढकाल, श्यामकुमार अधिकारी, केदार कोइराला, किशोर विश्वकर्मा, माधवराज आचार्य, शैलेश आचार्य, शैलेन्द्र शाकार, खिलध्वज थापा र बद्रीप्रसाद पोखरेलहरूको सहभागिता थियो ।

पछिपछि त विवश पोखरेल, दिङ्लाली कान्छो, हिडपाली कान्छो, मोहिनी मन, पिताम्बर पोखरेलजस्ता श्रष्टाहरू पनि थपिँदै गए । प्रत्येक शनिबार अपरान्ह ‘भानु कला केन्द्र’को चौतारीमा बसेर पालैपालो सुनाउँथ्यौं मनका कुरा । भेला भएपछि शुरुमा कुनै वाद हुँदैनथ्यौं, कुनै राजनीति बिचार बोक्ने सम्वाहक पनि हुँदैनथ्यौं । हामी त साहित्य, विशुद्ध भाषा–साहित्य हुन्थ्यौं । हाम्रा कुरा बाटामा हिँड्दै गरेका जिज्ञासुहरू पनि सुन्थे । वरपीपलमा बसेर सधैं हल्लाखल्ला गरिरहने चराचुरूङ्गी पनि हामी भेला भएपछि शान्तजस्ता बन्थे ।

लाग्थ्यो, चराचुरूङ्गीहरू पनि हाम्रा कविताका असल श्रोता हुन् । ०३७ सालबाट शुरू भएको शनिवारे अखडा चारपाँच वर्ष चल्यो । अखडा जमाएर बसेको त्यो जौडे जमात, हुँदाहुँदा काठमाडौंसँग पौंठेजोरी पो खेल्न तम्सिन्थ्यो । विराटनगरविरूद्ध कुनै जालझेल गर्‍यो भने काठमाडौंले, सशक्त खबरदारी पनि गर्थ्यो । साहित्यमा बामे सर्दै गरेको त्यो अखडाको पिउसो, अहिले सोच्दछु– कति भाग्यशाली रहेछु !

अखडाले हामी दुबैलाई डरविहीन, थेत्तरो बनाएको थियो । थेत्तरो यति साह्रो भयौं, खुर्पे जून हामीलाई पुर्‍याउन घरसम्मै पुग्थ्यो र आफू पनि लुसुक्क हराउँथ्यो ।

पछि दुलारीमा बस्न थालेपछि इटहरी फेरि प्रिय हुन थाल्यो । गाउँमा आक्कल–झुक्कल भेट हुने कवि अनिल पौडेल जागिर र राजनीतिमा ठाउँ सरिरहने भएकाले भरत गैरीपिप्ली राति दश बजेसम्मका साथी भए । विराटनगरबाट फर्किएपछि इटहरी चोकबाट पूर्व बूढीखोलाको पुल– जो मोरङ र सुनसरीलाई जोड्ने एउटा अखडा– हिँड्दैहिँड्दै पुग्थ्यौं । कहिले त चकमन्न रातको दश बजेसम्म पनि पुल हामीलाई कुरेर बसिरहेझैं लाग्थ्यो ।

तल खोलामा बग्दै गरेको पानीको कुलुलुलु आवाज, त्यही निर्मल पानीले चोख्याएर पठाइदिने मधुरो शित्तलु बतास, एकान्तमा उनीहरूकै शब्द–सङ्गीतमा रातमा रमाउने कीराहरूले दिने एकतारेको जस्तै र्याइँर्याइँ र सुनसान लाग्ने वातावरण हाम्रा साथी थिए । गाडीको पातलो आवागमन, साँझ परेपछि शून्यप्रायः हुने मानिसको चहलपहल, आकाशबाट ताराहरू गफिदै गरेका हामीलाई नै हेरिरहेझैं लाग्थे ।

कहिले त जून हामै्र छेउमा आएर घण्टांैसम्म के–के जाति सुनिरहेझैं लाग्थ्यो । अखडा हामीले पुललाई बनाएका थियौं । केटाकेटीजस्तै लाग्ने हाम्रो बानी, पुलको सिङ्गै भाग कब्जा गरेर बस्थ्यौं बेलाबेला । हेर्दा सुनसान लाग्ने पुल, तर हामी एकान्तमा पनि कहिल्यै एक्लो भएनौँ । सोच्थ्यौँ बसेर के के जाती । हामीसँग त्यो सन्नाटा, एकान्त रात सबैसबै गफ सुन्न झुम्मिन्थे । म उकेरा लगाउथेँ, भरत किताबी किरो, हाम्रा गफ कहिल्यै व्यक्तिगत भएनन् । पुलमा अहिलेजस्तो बिजुली–बत्ती थिएन । दैनिक कथा बन्थे यात्रु लुटिएका, यात्रु लुट्ने ती लुटेरा भाइ पनि निकै इमानदार रहेछन् सम्झँदा, हामीलाई कुनै रात चलाएनन्, बोलाएनन् पनि ।

बिचरा ती लुटेरा भाइ !

(एक ठूलो साँझ टाढा देखिने घरमा कुपीको उज्यालोबाहेक अगाडि केही देखिँदैनथ्यो । घर जाँदै गर्दा पुलको बीचमा कसैले मलाई समाएर ‘को हो ? कहाँ जाने ?’ भनेर सोधे । यसो फर्किएर हेरेँ, टाढाबाट आउँदै गरेको गाडीको बत्तीले अनुहार चिनेँ, उनले पनि चिने । ‘ओहो, मामा ! म त अर्कै मानिस होला भनेर सोधेको तपाइँ पो पर्नुभएछ, सरी है ! बिस्तारै जानू होला !’ भनेका थिए । मबाहेक जति बटुवा लुटिए, लुट्ने उनै भाइ भएको बताउँथे)

सायद कुनै कुनामा लुकेर सुन्दा हुन् र मनमनै भन्दा हुन्– यिनीहरूसँग लुट्ने भनेको त्यही गफ त रहेछ, त्यो मलाई किन चाहियो र ? शून्य, चकमन्न रात हामी किन डराउनु ? अहिले सम्झिल्याउँछु, जागा भएका हामीसँग रात कतिपल्ट डराएर लसुक्क हराउँथ्यो र बरू जूनले त्यही छेक पारेर चारै दिशा उज्यालो छर्थ्यो !

अखडाले हामी दुबैलाई डरविहीन, थेत्तरो बनाएको थियो । थेत्तरो यति साह्रो भयौं, खुर्पे जून हामीलाई पुर्‍याउन घरसम्मै पुग्थ्यो र आफू पनि लुसुक्क हराउँथ्यो । पुलले हाम्रा गाउँ र सम्बन्ध मात्र जोड्दैनथ्यो, हाम्रा सोचाइका तहतह जोडिदिन्थ्यो, हाम्रो मित्रताको पत्रपत्र जोडिदिन्थ्यो ।

एकान्तमा बसेर पनि अबेरसम्म हामी देवकोटाका निबन्ध सोच्थ्यौं, लेखनाथको तरुणतपसी सोच्थ्यौं र हर्मन हेस्सेको सिद्धार्थ सोच्थ्यौं । सोच्नका लागि थुप्रै जिउँदा नामहरू पनि थिए हामीसँग । थुपै्र–थुप्रै सोच्दा पनि हामी कहिल्यै छक्कड रात सोच्दैनथ्यौं, कहिल्यै उठ्ने समय सोच्दैनथ्यौं, कहिल्यै हिँड्नुपर्ने बाटो सोच्दैनथ्यौं र जानुपर्ने घर कहिल्यै सोच्दैनथ्यौं । अहो, हामी यति गफी थियौं, कुनै दिन त आफूलाई पनि पो बिर्सिन्थ्यौं र खोज्दैखोज्दै घर पुगिसकेका हुन्थ्यौं ।

इटहरी मैले विराटनगर–घर आउजाउ गर्ने एक केन्द्र भाग । यसको सम्मोहनले तानिरहन्थ्यो मलाई । साथी भरतले विराटनगर रोजेपछि एक समय त इटहरी एक्लै हराइरहेजस्तो लाग्यो । हो यही खाली ठाउँ, केके नपुगेर इटहरी हराइरहेका बेला, आँखामा ल्याम्पपोस्ट अनि अनुहारमा एक झुप्पा कविता बोकेर पश्चिम चन्द्रनिगाहपुरबाट एउटा नाम टुप्लुक्क इटहरीमा आइपुग्यो । मैले त्यो अनुहारलाई जब नजिकैबाट नियालें, मलाई त इटहरी छाड्नै मन लागेन । टोलाइरहेको इटहरी हेर्दाहेर्दै फुर्तिलो देखियो ! लौ ! अँध्यारामा चारैतिरबाट हातमा उज्यालो बोकेर आइरहेका मानिसले इटहरीमा उज्यालै–उज्यालो थपियो ।

म पुलकित भएर रमाइरहेका बेला, जाँगरिलो अर्काे युवा अनुहार पहाड मसितै यात्रा गर्न पो आइपुग्यो । साथ नपाएर एक्लिएको म, साथी थपिदै गएपछि भिखारी, धनी हुँदै गएछु । कुनै समयको सुख्खा देखिने इटहरी, हेर्दाहेर्दै हराभरा भयो । म त्यो हरियालीसँग झुम्मिदै गएँ, लठ्ठिदै गएँ । अहो ! त्यतिबेलासम्म त म पनि थाहै नपाई इटहरी पो भइसकेको रहेछु ।

इटहरीबासी हुनुले गर्वित त थिएँ नै, सँगसँगै म उभिएको माटाको परिचयको आयाम पनि थपिदै थियो । पाउलिएको इटहरीलाई हराभरा बनाउन हुरीमा ईश्वर नचाउँदै उस्तै अर्काे हँसिलो अनुहार फेरि थपियो । मैले लगाउनसक्ने धाक त कति हो कति ! मभित्र खुसी कति थियो थियो, मैले व्यक्त गर्ने शब्द नै पाइनँ । आहा ! वातावरण कति मलिलो, इटहरी त कविताको ‘जङ्क्सन’ पो बन्यो !

यसअघि पनि महाकाव्यकार पिताम्बर भोला, इतिहास, कला र साहित्यका साधक धरणीधर दाहाल इटहरीका थिए र सम्मान गर्न लायक भएको थियो इटहरी । यसरी पुराना मानिसहरू कहिल्यै नआउने गरी हराउँदै गएपछि इटहरीले एक अखडाको आवश्यकता देखेर हो कि, अनेक राम्रा अनुहार थप्दै र भर्दै गयो ।

प्रिय अखडा ! वास्तवमा इटहरी आफैंमा सुन्दर थिएन, तर साहित्य, संस्कृति र कलाले झन् झन् सुन्दर बन्दै गएको सत्य थियो । सम्झन्छु, बिक्रमश्रीको कलाले एक झमट इटहरी बेहुलीझैं सिँगारिएको थियो ।

कुनैबेला हामी चोर लुक्ने र ढुक्ने शैलीका अँध्यारा गल्लीलाई अखडा बनाउँथ्यौं । हामी, अँध्यारामा तर उज्याला कुरा गर्थ्यौं । हामी गल्लीभन्दा टाढा मुलबाटाका कुरा गर्थ्यौं ।

हामी साँघुराभन्दा माथि क्षितिजका कुरा गर्थ्यौं । हो, हामी बस्ने गल्ली पक्कै पनि सज्जन वा साधु बस्ने प्रतीत हुँदैनथ्यो । बत्तीबाट छलिएर नदेखिने गरी रातिसम्म गफिनु, हप्ताभरी पढेका खुराक अखडामा फिँजाउनु, तिलस्मी लाग्ने कुनै बिषयमाथि सोच्नु र आफुले पढेका राम्रा नराम्रा किताबका अनुभव सुनाउनु हाम्रो दैनिकी हुन्थ्यो । हाम्रो अधिनको अखडा, पछिपछि त अखडाका अधिनमा पो हामी भयौँ । अखडामा हामी जसरी सङ्ख्या थपिन्थ्यौँ, हाम्रो अखडाको ठाउँ पनि थपिदै, सर्दै जान्थ्यो । काला, अँध्यारा गल्लीबाट अखडाले हामीलाई केही समय शुकदेव अधिकारीको उज्यालो किताब पसलमा पो पुर्‍याइदियो ।

सोच्दछु, कति प्रेमिल थियो समय, मनु मन्जिलका शब्दहरू कविता बनेर खस्थे हामीबीच । निरश हुनै पाउँदैनथ्यो वातावरण, देवान किरातीका खाँटी कुरा चाखलाग्दा बनेर आउँथे र काव्यका नवैरसले भरिन्थ्यो अखडा । मौन, विल्कुल मौन अखडा, हेमन यात्रीका आमाको गीत सुनेर शान्त हुन्थ्यो एकछिन ।

हामी त कुनै दिन शुकदेव अधिकारीका स्वैरकल्पनाले पनि विछट्टै मुग्ध बन्थ्यौं । राम्रा कथा लेख्ने शुकदेव साँच्चैका प्राचीन शुकदेवजस्तै लाग्थे । हो, हामी जति चलायमान थियौं अखडा पनि हामीलाई लामो समय एकै ठाउँमा अडिनै दिँदैनथ्यो । यदाकदा आउने दिनेश पौडेल र परशु श्रेष्ठहरू त्यो रम्य वातावरणका साक्षी बन्थे । हामी पर्खिरहेका हुन्थ्यौं, हरदम शब्द खेलाइरहने कुमुद अधिकारी आउँथे र अखडामा एउटा मुस्कान बाँडेर जान्थे । अखडाका साधु सदस्य हामी, राम्जी तिमल्सिनाका समालोचकीय सिर्कनाले कुनै दिन त खुत्रुक्कै हुन्थ्यौँ ।

समयसँगै अखडा पनि थाहै नपाई फैलिँदै गयो । खुट्टा देखिँदैनथे, तर हिँडिरहन्थ्यो । हात हुँदैनथे, तर लेखिरहन्थ्यो । अनुहार देखिँदैनथ्यो तर आवाज परपरसम्म पुग्थ्यो ।

दुलेचोर बस्ने हामी कहिलेकाहीँ त चोरजस्तै बन्थ्यौं र चाल मारेर समय बिताउँथ्यौं । अखडा पनि रौसे पो थियो त, कुनैबेला रक्सी पसलअगाडि डिही बनाउँथ्यो र रातको पहिलो प्रहरभरि हामीसँग ठट्टा गरेरै बिताइदिन्थ्यो । मौसम उस्तै सुन्दर, मदिरा अरू पिउँथे हामी अगि नै मातेर हराइसकेका हुन्थ्यौं ।

प्रिय अखडा ! वास्तवमा इटहरी आफैंमा सुन्दर थिएन, तर साहित्य, संस्कृति र कलाले झन् झन् सुन्दर बन्दै गएको सत्य थियो । सम्झन्छु, बिक्रमश्रीको कलाले एक झमट इटहरी बेहुलीझैं सिँगारिएको थियो । हो उनी इटहरी भएका थिए र इटहरी सुन्दर लाग्थ्यो । मानिस जब आफ्ना लागि अरूलाई आफु बनाउँन खोज्छ, अनि हराउदै जान्छ, अनि अस्तित्वबाट सकिदै पनि जान्छ । एउटा खाली ठाउँमा पुगेको इटहरीलाई ‘भरि’तिर फर्काउन सोनु जयन्तीले रातदिन खटेर नाटकमा ती दिन ल्याइदिए । बिर्सिएकाहरू आफ्नो नगरका ती दिन सम्झिएर औधि खुसी भए ।

बस्ने ठाउँ अस्थायी भए पनि अखडा र हामी स्थायी थियौं । रहँदै जाँदा अखडामा मिसिन आइपुगेका जिज्ञासु, कवि विराट अनुपम साँच्चैका अनुपम रहे । कोमल गजलजस्तै लाग्ने यात्री शेखर र जिवी गजलजस्ता राम्रा युवकहरूको आगमनले अखडा झन् झन् प्रिय हुँदै गयो ।

साहित्यइतरका विषय कमै आउँथे हामीमाझ । सुरुसुरुका जमघट छिमेकी साथीहरूलाई लोभ्याउने चास्नी भए । हामी कतै गुलिया पो थियौं कि, साथीहरू हामीलाई भेट्न अखडा खोज्दैखोज्दै आउँथे । कविताको महक फैलिँदो रहेछ टाढा–टाढासम्म । साथीहरू मुस्कुराएपछि मात्र थाहा पाउँथ्यौँ, हामी त थाहै नपाइ पुगिसकेका पो हुँदा रहेछौ दूर–सुदूरसम्म । जम्मा भएका हामीबीच कुनै न कुनै कला रहेछ, जमघट निकै सार्थक र उपलब्धिमय बन्दै गयो ।

अखडाले पछिपछि एक हातमा नाटक र अर्का हातमा कविता खेलाउँदै आएका एक युवक– प्रज्ज्वल पराजुलीलाई पनि आफुमा समाहित गर्‍यो । ओहो कति आत्मीयता ! बसुन्जेल कहिल्यै, कसैसित कुनै प्रतिवाद नहुने, चाख मानेर अरूका कुरा सुन्ने धैर्य, हामीबीच अप्रतिम उदाहरण रहे । सम्झना मात्र हैन, सम्बन्ध पनि साँच्चै बलवान थियो शायद, मित्रहरू प्रिय र आत्मीय लाग्छन् अझै पनि ।

सम्झिल्याउँछु, अथक सङ्घर्ष र समर्पणले विशाल र व्यापक बनेको अखडा प्रिय र कोमल भएर कुनै ठाउँ वा स्थानमै नअट्ने भएको छ । समयक्रमका भौतिक अखडाहरू भत्किदै र विघटन हुँदै गए पनि अन्तर्मनको अखडा जहिल्यै अजर लाग्दो रहेछ ।

कोरोना कहरले घेरिएर यतिबेला म पनि मनमै अखडा जमाएर सुखद अनुभूतिलाई लिपिबद्ध गर्दै बसेको छु । स्मृतिका अखडामा समेटिएका साथीहरू जो–जो जहाँ–जहाँ हुनुहुन्छ, बाँचुन्जेल तपाईहरू पनि मनको एककुना प्रिय अखडाका लागि छुट्याउन नबिर्सिनुस् है !

(इटहरी, २०७७)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment