Comments Add Comment

उफ् मोटोपन ! घट्दै–घटेन

जरुरी छ धैर्यता र एक अनुशसित रुटिन

मोटोपन बढ्नुमा केही कुरा जिम्मेवर हुन्छ । जस्तो, ऐशआरमपूर्ण जीवन । अत्याधिक र जथाभावी खानपान । मदिरा र मासुजन्य पर्दाको अधिक सेवन । वंशानुगात ।

मोटोपन भएमा के हुन्छ ?

यो प्रश्नको जवाफ त, तपाईं-हामीलाई थाहै छ । शरीर भद्दा हुने मात्र होइन, यसले अनेक रोगको जोखिम बढाइदिन्छ । मोटोपन आफैमा एक समस्या हो । र, यो अहिले धेरैको निम्ति टाउको दुखाईको विषय पनि ।

मोटोपन कसरी नियन्त्रण गर्ने ?

यसको केही सरल सर्त छन् । जस्तो कि, तपाईंले ऐशआरम त्याग्नुपर्छ । मीठोमसिनो खानेकुरामा लोभ गर्नु भएन । जंकफूड, प्रशोधित खानेकुरा, मदिरा वा मसुमा मरिहत्ते गर्नुभएन । व्यायाम गर्नुहोस्, शारीरिक श्रम गर्नुहोस्, पर्याप्त पानी पिउनुहोस्, एकै पटक पेट चर्कनेगरी खानेकुरा नखानुहोस्, पैदल हिँड्नमा जोड गर्नुहोस्, खानामा सलाद र सागसब्जीलाई महत्व दिनुहोस् । यति गर्दापनि मोटोपन घटेन ?

मोटोपन घटाउन लागिपरेकाहरु एक हप्ता वा महिना दिनपछि त्यसको नतिजा खोज्छन् । उनीहरु जादुयी ढंगले आफ्नो तौल नियन्त्रण भएको देख्न आतुर हुन्छन् । तर, यो एक लामो र नियमित प्रक्रिया हो । आजको भोलि नै मोटोपन घट्छ भन्ने हुँदैन । यसमा तपाईंको शरीर र दिनचर्या पनि जिम्मेवार हुन्छ ।

क्रमिक रुपमा हुने लामो प्रक्रिया

तपाईं सही ढंगले खाना खानै हुन्न । अर्थात हतारमा छिटो-छिटो गाँस टिप्नुहुन्छ । मुखमा खेलाएर निल्नुहुन्छ । राम्ररी चपाउनुहुन्न ।

जब राम्ररी चपाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठोस खानेकुरालाई मुखमै तरल बनाएर निल्छौं, तब मोटोपन बढ्ने संभावना कम हुन्छ ।

तपाईं गुलियो खानेकुराको सौखिन हुनुहुन्छ भने पनि मोटोपन नियन्त्रणमा समस्या हुन्छ ।

मोटोपन घटाउन धेरैले खानामा कटौती गर्छन् । भोकै बस्छन् । तर, यसले मोटोपन घटाउने होइन, बरु बढाउँछ । खानेकुरा घटाउने चक्करमा हामी खानाको मात्रा भन्दा पनि छाकमा कटौती गर्छौं । तीन वा चार छाकको रुटिन घटाएर दुई वा एक छाक खान्छौं । खाएको बेला पेट चर्कनेगरी खान्छौं । अब एकसाथ भारी खाना पचाउन पाचन यन्त्र सक्षम हुँदैन । अतिरिक्त खाना बोसोमा परिणत हुन्छ । मोटोपन बढ्छ ।

मोटोपन घटाउने काइदा छाकमा कटौती गरेर होइन । खानपानमा कटौती गर्ने होइन । यसले त शरीरमा पोषणको अभाव हुनसक्छ । त्यसैले खानेकुरा पुग्दो खानुपर्छ, सन्तुलन मिलाएर ।

तर, खानेकुराको नाममा जंकफूड, फास्टफूड वा प्रशोधित र बजारमा उपलब्ध तयारी खानेकुरा सेवन गरिन्छ भने, त्यसले पक्कै मोटोपन बढाउँछ । किनभने ति खानेकुरामा पोषक तत्व त हुँदैनन् नै, त्यसले पेटमा अतिरिक्त बोझ थपिदिन्छ ।

तपाईंले यी खानेकुराका लागि चाहि मुखमा ताल्चा लगाउनैपर्छ । मदिरा र मासुजन्य परिकारले मोटोपन बढाउँछ । यो कुरा पनि ख्याल राख्नुपर्छ ।

फलफूल, पानी र सुपाच्य खानाले मोटोपन पटक्कै बढाउँदैन ।

तौल नियन्त्रणका लागि प्रोटिनको अहंम भूमिका हुन्छ । प्रोटिन सेवन नगर्दा मेटाबोलिज्म बढ्छ । त्यतीमात्र होइन, प्रोटिनको सेवन गर्दा शरीरमा भोक जगाउने हर्मोन ग्लेरिनको स्राव कम हुन्छ । त्यही कारण हामीलाई कम भोक जाग्छ र अनावश्यक खानेकुरा खाइँदैन ।

कतिपय मानिसमा तौल नियन्त्रण गर्नु यसकारण गाह्रो हुन्छ, उनीहरु जानेर वा नजानेर धेरै क्यालोरी ग्रहण गर्छन । त्यसैले कुनैपनि खानेकुरा सेवन गर्नुअघि त्यसले शरीरमा क्यालोरीको मात्रा बढाउँछ कि ? सर्तक हुनुपर्छ ।

मोटोपन नियन्त्रण नहुनुमा फाइबरयुक्त खानेकुरा सेवन नगर्नु पनि एउटा कारण हुनसक्छ ।

तपाईंले भन्नुभयो, ‘म मज्जाले एक्सरसाइज गर्छु ।’ तर, कसरी गर्नुहुन्छ ? कुरा त्यो हो । सही ढंगले व्यायाम नगर्दा पनि मोटोपन नियन्त्रण हुँदैन । वा व्यायामको प्रभाव पर्दैन । तौल नियन्त्रणका लागि तपाईले आफ्नो वर्कआउट प्लानमा सबै किसिमको व्यायाम, जस्तो कि योग, कार्डियो, वेट ट्रेनिक सम्मिलित गर्नुपर्छ । शरीरको मेटाबोलिज्म बढाउनका लागि वेट ट्रेनिङ एकदमै फाइदाजनक हुन्छ ।

तपाईं कति घण्टा सुत्नुहुन्छ ? यो प्रश्न तपाईंलाई असान्दर्भिक लाग्न सक्छ । र, भन्नुहोला, ‘मोटोपन घटाउने कुरामा निन्द्राको के नाता ?’

नाता छ नि, पर्याप्त मात्रामा निद्रा नलिदा पनि मोटोपन बढ्ने संभावना रहन्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

पर्याप्त पानी सेवन नगर्दा पनि मोटोपन नियन्त्रण नहुन सक्छ ।

त्यस्तै कतिपय शारीरिक समस्या जस्तो कि, हाइपोथाइराइड, पलिस्टिक आभेरियन सिन्ड्रोम आदिको कारण तौल बढ्छ । यसका साथै केही औषधीको सेवन मोटोपन बढ्छ ।

तौल नियन्त्रण गर्नु एक सुस्त प्रक्रिया हो । तपाईं आजको भोलि नै त्यसको नतिजा खोजेर हार्डवर्क वा कडा श्रम गर्नुहुन्छ, खानामा कटौती गर्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । यो क्रमिक रुपमा हुने लामो प्रक्रिया हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment