Comments Add Comment
कोरोना अनुभव :

सोचेझैं कोरोना रैन’छ

‘ए कोरोना त केही होइन, त्यही रुघाखोकी जस्तै त हो नि ! लागिहाल्यो भने बेसारपानी खाने, ठीक भइहाल्छ, कोरोनाबारे अनावश्यक हल्ला फैलाइँदैछ, यो सबै नेताहरुको खेल हो । कमिशन खाने बाटो बनाएका हुन् नेताहरुले !’

पछिल्लो समय चिया पसलदेखि सडक र गल्ली–गल्लीमा यस्ता भनाइहरु सुनिन्छन् । म आफैँले रिपोर्टिङका क्रमका सुनेका शब्दहरु हुन् यी ।

कुरो करिब एक महिनाअघिको हो । न्यूरोडमा दसैंको भीडभाड शुरु हुँदै थियो । न्यूरोडदेखि इन्द्रचोकसम्मै सडक किनारा रंगीबिरंगी कपडाहरुले ढपक्कै ढाकेका थिए । अझ विशाल बजारबाट इन्द्रचोक हुँदै भेडासिङतर्फ जाने बाटोमा त बटुवाहरुलाई सहजै हिँड्न पनि गाह्रो थियो । बटुवा हिँड्ने फुटपाथमा फिँजारिएका पसलले बाटो छेकेका थिए । पसलमा सामान हेर्न उभिएका ग्राहकहरुले फुटपाथ पूरै बन्दै गरिदिन्थे । कोरोना संक्रमण फैलन नदिन सरकारले कम्तिमा २ मिटर दूरी कायम गरौं भनेर प्रचार गरिरहेकै छ । तर, सडकमा कसैलाई मतलव थिएन ।

‘के कोरोना केही होइन त ?’ हातमा बोकेको बुम एक महिलातर्फ तेस्र्याएँ । सहकर्मी फोटो पत्रकार आर्यन धिमालजीले क्यामेरा सोझ्याउनुभयो । ती महिलाले कोरोनाको परिभाषा दिइन् ‘यो सबै वाहियात हो, कोरोना सोरोना केही पनि होइन ।’

ती महिला हामीसँग जंगिइन् । उनले आफूलाई लागेका अनेकन शब्दहरु प्रहार गरिन् । उनले हाम्रा लागि खर्चिएका धेरै शब्दहरु सरकारविरोधी थिए । उनले कोरोनालाई सरकारको गरीखाने नाटकसम्म भन्न भ्याइन् ।

जनताका गुनासा सुन्ने क्रम जारी नै थियो । त्यसदिन भेटिएका अधिकांशले कोरोनालाई हलुका रुपमै लिए । यसैक्रममा साझा बसमा यात्रा गरिरहेकी एकजना महिलाले त कसैको हिम्मत भए आफूलाई कोरोना सारिदिन च्यालेञ्ज नै गरिन् ।

११ चैतदेखि देशमा लकडाउन भयो । ११ चैत अघिदेखि नै शुरु भएको थियो कोरोनाबारे रिपोर्टिङ गर्ने काम  । चीनको वुहानबाट विद्यार्थीहरु ल्याएर राख्नका लागि बनाइएको खरिपाटी क्वारेन्टाइनमा निकै डराउँदै डराउँदै धेरैपटक भक्तपुरे धुलो खाँदै रिपोर्टिङ गरियो । ११ चैत पछि पनि फिल्डमा कोरोनासँग सम्बन्धित रिपोर्टिङहरु प्रशस्तै भए ।

भर्खरै तयार गरिएको पाटनको कोभिड अस्पताल होस् या लकडाउनमा थलिएको किसानको गोठ । रिपोर्टिङका दौरान खरिपाटी, अस्पतालहरु, किसानका गोठ र खेतबारीदेखि ६ दिनसम्म पैदल हिँडेर काठमाडौं छाड्ने आम नागरिकसम्मका रिपोर्टिङ गर्दै जाँदा धेरै फरकहरु देखिए । जति खरिपाटीमा विद्यार्थी राख्दा त्रास थियो, अहिले त्यसको १० प्रतिशत त्रास पनि छैन । त्यतिबेला मान्छे त डराउँथे नै, निकै सतर्क पनि थिए ।

तर, अवस्था अहिले फरक छ । धेरै मान्छेलाई कोरोना सामान्य लागेको छ । कोरोनालाई हलुका रुपमा लिन थालिइसकिएको छ, जति हलुका होइन भन्ने मेरो आफ्नै अनुभवले देखाएको छ ।

जब आफैंलाई कोरोना लाग्यो

कोरोनाबारे सचेतनामूलक रिपोर्टिङका क्रममा धेरै ठाउँमा दौडिएँ । तर, त्यसबेला आफू भने निकै सावधानीका साथ खटें । तर, अरुलाई सावधान हुनुपर्छ भन्दाभन्दै कोरोनाले आफंैलाई समात्यो ।

नेपाल पत्रकार महासंघले गरेको पीसीआर परीक्षणदेखि गत २८ गते काठमाडौं महानगरपालिका वडा नम्बर १० को कन्ट्रयाक्ट ट्रेसिङमा परेर गरिएको परीक्षणसम्म आइपुग्दा चौथो पटक परीक्षणका लागि स्वाब दिएको थियो । नजिकका साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि गरिएका यी परीक्षणहरु थिए ।

तीन पटकसम्म पीसीआर जाँच गर्दा लगातार नेगेटिभ रिपोर्ट आयो । तर, चौथोपटक २८ असोजमा  परीक्षण गर्दा भने पोजिटिभ आयो । अब कस्तो होला ? अब के गर्ने होला ? यी कुराहरु सोच्नुभन्दा पहिला नै म थलिएँ ।

कोरोना केही होइन भनेर जनताको आवाज भिडियोसहित जनतासम्मै पु¥याएको अनुभव बोकेको मान्छेलाई जतिबेला निकै गाह्रो भयो, तब सोचेँ ‘सोचेझंै कोरोना रैन’छ ।’

बुधबार पीसीआर परीक्षणका लागि स्वाव दिइयो । हलुका टाउको दुखिरहेको थियो । खुट्टा गलेको अनुभूति भइरहेको थियो । त्यस दिन त्यत्तिकै बित्यो ।

रिपोर्टका लागि ७२ घण्टा कुर्नुपर्ने । स्वाब दिएको दोस्रो दिन बिहान उठ्न निकै गाह्रो भयो । जसोतसो उठियो । टाउको र जिउको दुखाइ क्रमशः बढ्दै गयो । खाना हेर्न पनि मन थिएन, भागमात्रै बसियो । १० बजेपछि निकै लर्बराउँदै कार्यालय गएँ । केहीबेर काम गरेँ । १ बजेपछि हुुनुपर्छ, शरीर जोडजोडले दुख्न लाग्यो । टाउको झन धेरै दुख्न लाग्यो । अफिसमा २ घण्टा सोफामै सुतें ।

साँझसम्मै काम गर्न सक्ने अवस्था रहेन । बल्लतल्ल उठेर कार्यकक्षमा गएँ । एकदमै गाह्रो भइरहेको थियो । शरीरमा निकै ज्वरो आएको महसुस भएको थियो । ज्वरो कति आएछ भनेर पटक–पटक कार्यालयमा रहेको फ्ल्यास थर्मोमिटरबाट तापक्रम नापें । शरीर निकै तातेको महशुस भएको थियो । ज्वरोले रन्थनिएको जस्तै भएको थियो । तर, पटकपटक नाप्दा पनि ज्वरो ९९ भन्दा माथि पुगेको थिएन ।

कोरोनालाई त्यत्ति धेरै हलुका रुपमा लिनुहुँदैन भन्ने मेरो अनुभवले बुझेको छ । एकपटक मर्छु कि जस्तै भएर कोरोनालाई जित्दाको खुसी अलि फरक नै हुँदो रहेछ

साँझ ७ बजेतिर घर पुगें । खाना खान सक्ने अवस्था नै भएन । बेसारपानी खान सक्छु कि भनेर ग्लासमा लिएँ । दुई थोपा पनि निल्न सकिएन । रात छिप्पिँदै गयो । ज्वरो बढ्दै गयो । आँखाका दानासमेत निकै जोडतोडले दुख्न थाले ।

राति १२ बजेको हुनुपर्छ, यति धेरै दुख्यो, अब चाहिँ आँखा फुटेर फ्याट्टै बाहिर निस्कन्छन् जस्तै भयो । खुट्टा पनि दुखिरेहका थिए । शरीरले निकै थकान महहशुस गरिरहेको थियो । तर, आँखाको दुखाइ यति बढ्यो कि अरु दुखाइबारे मतलव नै गर्न सकिएन । जसोतसो २ बजेतिर निधाएँछु ।

बिहान उठ्दा ६ बज्नै लागेको थियो । झन् धेरै गाह्रो भयो । एक मनले सोचें, अब त धेरै नै गाह्रो बनायो । पीसीआरको नतिजा अझै आएको थिएन । म बेडमा छट्पटाइरहें । अफिसबाट मलाई बेलाबेलामा फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनु भएको थियो । कोरोनाले निकै गाह्रो बनायो भन्ने मनमा प्रष्ट भयो ।

नतिजा नआएपछि केही डाक्टरहरुलाई टेलिफोन गरेर लक्षणबारे जानकारी गराएँ । डाक्टरहरुले कोरोना नै हुन सक्ने भन्ने जनाउँ दिए । कोरोनाबारे अनुभव भएका अन्य व्यक्ति तथा केही डाक्टरहरुले श्वास–प्रश्वासमा केही समस्या छ कि भनेर सोधेका थिए । तर, मलाई श्वास–प्रश्वासमा त्यस्तो केही समस्या थिएन । समस्या ज्वरो आउने, टाउको दुख्ने र जिउ अत्यधिक दुख्ने थियो । श्वास–प्रश्वासमा समस्या नभएकाले धेरै आत्तिन नहुने सल्लाह पाएको थिएँ । तर, दुखाई यत्ति थियो कि, म मर्छु कि भन्नेसम्म सोच्न पुगें ।

त्यहीबेला कार्यालयबाट आइसोलेसनको व्यवस्था भएछ । एकजना साथीलाई कोरोना पोजेटिभको रिपोर्ट अघिल्लै दिन आइसकेको थियो । त्यसपछि मेरो रिपोर्ट नआउँदै म संक्रमित साथीसँग आइसोलेसनमा बसेँ ।

त्यस दिन पनि दिनभरि निकै गाह्रो बनायो । सिटामोल जस्ता सामान्य किसिमका औषधी सेवन गरेँ । तर, पनि ठीक भएन । निकै गाह्रो भइरहेको थियो । राति ९ बजे पीसीआर परीक्षणको रिपोर्ट आयो, जहाँ पोजिटिभ लेखिएको थियो । सिट भ्याल्यू २२ ।

रिपोर्ट पोजिटिभ आयो भने पनि नआत्तिनू भन्ने धेरै शुभचिन्तकको सन्देश थियो । रिपोर्ट पोजिटिभ आएपछि मान्छे आत्तिन्छ भन्ने सबैको अनुमान हुने रहेछ । तर, म आत्तिनँ । प्याकेटमा आएको थोरै खाना खाएँ । रिपोर्टबारे कार्यालयमा जानकारी गराएँ । घरका मान्छेहरु आत्तिएलान् भनेर सुनाउने कुरा भएन ।

राति १० बजेतिर सुतें । दुखाइकै बीच निदाएछु । राति शरीरमा खलखली पसिना आएछ । ब्युझिएँ । नजिकै रहेको मोबाइल बालें । शरीर पसिनाले भिजेको थियो । घडी हेरेँ । भर्खर २ बजेको रहेछ । टाउको दुखाइ हलुका थियो । शरीर पनि धेरै गलेको महसुस भएन । निकै रिलिफ भएछ । मैले सोचें अब ठीक भएछु । २ बजे राति नै उठेर मुख धोएँ ।

त्यसपछि सुत्न हर कोसिस गरेँ, निन्द्रा लागेन । युट्युबमा हिमालयन टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो डान्सिङ विथ स्टार हेरेँ । त्यो हेरिसक्दा ३ बजिसके छ । अर्को एउटा फिल्म लगाएँ । फिल्म हेरिसक्दा साढे ५ । त्यसपछि कोठाभित्रै धेरैपटक हिँडें । उज्यालो भयो । उज्यालो बढ्दै गर्दा दुख्ने क्रम फेरि शुरु भयो । यो क्रम कात्तिक २ गतेसम्म नै चल्यो । त्यसपछि भने क्रमिकरुपले दुःखाइ घट्दै गयो ।

अहिले मैले स्बाव दिएको १५ दिन पूरा भइसकेको छ । १४ औं दिनमा परीक्षणका लागि दिएको रिपोर्टको नतिजा नेगेटिभ आएको छ । नेगेटिभ आउँदा खुसीले रमाएको छु । तर, यी १४ दिनहरु भने राम्रोसँग बित्न पाएन । यहीवीचमा नेपालीहरुको महान पर्व विजयादशमी सकियो । संक्रमितका रुपमा एउटा कोठामै सीमित भएर दशैंलाई बिदा गरियो ।

जीवनमा पहिलोपटक कोरोनाकै कारण दशैंमा घर जान सकिएन । नत्र, यसअघिका हरेक दशैंमा घरमै हुन्थें । बुवा उमेरले शतक पुग्न ५ वर्ष मात्र बाँकी छ । ९५ वर्ष पुगिसक्नुभएका बुवाले टीकाको दिनमात्रै भए पनि आइज भन्दै भिडियो कलमा बोल्नुभएका शब्द अनि आमाले टिलपिल आँशु झार्दै मेरो छोरालाई दशैंमा पनि आउन दिएन, हे भगवान छिट्टै ठीक पारिदेउ भन्दै रुँदै बोलेका शब्दहरुले मन कस्तो–कस्तो भयो । सानी छोरीले बाबा छिट्टो आउनु भनेको भन्यै । बुवाले कोरोना निको होस् भनेर देवी देवता नै भाक्नु भएछ । बाआमाले भाकेका देवी देवताका कारण चाँडै कोरोना निको हुने भए त मलाई लाग्ने पनि थिएन । मलाई कोरोना लागेकै कारण दसैं खल्लो भयो घरमा ।

जन्मदिन पनि कोरोनाले एउटा कोठाभित्रै सीमित बनाइदियो । जहाँ जसरी हुन्छ, रमाउनुपर्छ भन्ने मसँगै बस्ने संक्रमित साथीहरुको पनि सोच थियो । जन्मदिनको दिन अर्थात विजयादशमीको भोलिपल्ट ११ कात्तिकमा खाजाको रुपमा ब्रेड र काटेको फलफूल आयो । फलफूल खानका लागि सिन्का पनि थिए । साथीहरुले ब्रेडलाई केक सम्झौं भने । अनि सिन्कालाई चाहिँ क्याण्डल (मैनवत्ति) । सिन्कालाई मैनवत्ति सम्झिएर सल्काएर त्यहि ब्रेडलाई केक सम्झिएर चक्कुले काटेँ । काटेर साथीहरुलाई पालै पालो ख्वाएँ । साथीहरुले पनि मलाई केक नै सम्झेर पाउरोटी खुवाइदिए । सबैले ह्याप्पी बर्थ डे भन्दै ताली बजाए । जेहोस् केहीबेर भए पनि रमायौं ।

१४ दिन कार्यालयका अन्य साथीहरुसँगै आइसोलेसनमा बस्दा शुभेच्छाका फोनहरु धेरै आए । मन्त्री, पूर्वमन्त्री, सांसदहरु, उद्योगी, व्यवसायी, बैंकर, पत्रकार, नरनाता आफन्त धेरैले सम्झिए । सबैको सुझाव थियो, तातोपानी खानू, नआत्तिनू । तर, शुरुका तीन दिन अहिले पनि सम्झँदा तर्सन्छु ।

कोरोनालाई त्यत्ति धेरै हलुका रुपमा लिनुहुँदैन भन्ने मेरो अनुभवले बुझेको छ । कार्यक्षेत्रमा खटिँदाका दौरान विशेष सुरक्षा सतर्कता अपनाएकै हो । कहीँकतै आफ्नै कमजोरीले कोरोना लाग्यो भन्ने मलाई लागेको छ । एकपटक मर्छु कि जस्तै भएर कोरोनालाई जित्दाको खुसी अलि फरक नै हुँदो रहेछ । बीचमा भएका सबै घटना यहाँ राख्ने हो भने अझ धेरै कुराहरु छन् । तर, छोटकरीमा यत्ति भन्न चाहन्छु– कोरोना केही पनि होइन चाहिँ नभनौं । सतर्क रहौं, नआत्तिऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment