Comments Add Comment

फुटबलको प्रशिक्षण सुरु भयो, क्रिकेट कहिले ?

फाइल तस्वीर

१३ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि रोकिएको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण बिहीबारबाट सुरु भएको छ ।

कोरोना संक्रमणका कारण सरकारले समूहमा खेलिने खेलको प्रशिक्षणमा रोक लगाएका कारण गत चैतदेखि फुटबल, क्रिकेट लगायत खेल गतिविधि ठप्प थियो । अहिले पनि सरकारले त्यो प्रतिबन्ध हटाएको छैन ।

तर दुई हप्तापछि बंगलादेशमा हुने मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणको चाँजोपाँचो मिलाएको छ । मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका बालगोपाल महर्जनले ३३ खेलाडीलाई समेटेर बिहीबारदेखि दशरथ रंगशालामा प्रशिक्षण थालेका हुन् ।

फुटबलको प्रशिक्षण सुरु भएसँगै क्रिकेट टिमको के होला भन्ने चासो बढेको छ । तर तिहार–छठ अगाडि क्रिकेटको प्रशिक्षण सुरु हुने सम्भावना देखिएको छैन । नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणका लागि राखेपमा अनुमति समेत नमागेको पाइएको छ ।

‘चितवनमा बसेको बोर्ड बैठकमा यसबारे छलफल भएको थियो । तर त्यहाँबाट फर्किएलगत्तै सचिव र म दुबैलाई कोरोना संक्रमण भयो । यो बीचमा दसैं पनि पर्‍यो’ क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, ‘फुटबलले अनुमति पायो भने क्रिकेटले पनि पाइहाल्छ । अब हामी त्यसका लागि प्रक्रिया सुरु गर्छौं ।’

कोरोना संक्रमणका कारण क्यान सचिव अशोकनाथ प्याकुरेल झण्डै दुई साता अस्पताल बसेका थिए । स्वास्थ्यमा सुधार आएपछि उनी केही दिनअघि डिस्चार्ज भएका छन् । तर स्वासप्रश्वासमा अझै केही समस्या बाँकी नै भएकाले चिकित्सकले दुई साता ‘बेड रेस्ट’ गर्न भनेका छन् ।

अध्यक्ष चन्द भने संक्रमणमुक्त भएर दसैं अगाडि नै गृहजिल्ला बैतडी पुगेका छन् । उनका अनुसार अबको केही दिनमा भर्चुअल बैठक गर्न गृहकार्य भइरहेको छ ।

त्यसपछि प्रशिक्षणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अध्यक्ष चन्दले बताए । स्रोतका अनुसार कतारले केही पहिले डिसेम्बरमा टी–२० म्याचका लागि प्रस्ताव गरेको थियो, जसमा सिंगापुर र ओमान पनि सहभागी हुने बताइएको छ ।

तर नेपालले खेल्ने नखेल्ने टुंगो छैन । सिंगापुर र ओमान आउने भए मात्र नेपाल पनि सहभागी हुनेसक्ने आशयको इमेल लेखेको तर जवाफ नआएको अध्यक्ष चन्दले बताए र उनले अघि भने, ‘अब हामी आफैं त्यसको फलोअप गर्छौं ।’

यो टूरका लागि मात्र होइन, आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि पनि नेपाली टोलीको प्रशिक्षण सुरु गर्न ढिलाइ भइसकेको देखिन्छ ।

कोरोना भाइरसका कारण रोकिएको विश्व खेल गतिविधि सुचारु भइसकेको छ र सन् २०२१ को सुरुमा नै नेपालले त्रिकोणात्मक सिरिज आयोजना गर्नुपर्ने हुनसक्छ ।

तर न खेलाडीहरुको प्रशिक्षणको टुंगो छ, न क्रिकेट संघले ठोस तयारी गर्न सकेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निलम्बन फुकुवा गर्न तोकेका शर्तहरू पूरा गर्न गर्नुपर्ने कामहरू समेत क्रिकेट संघले गर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment