Comments Add Comment

फ्रान्सेली सामान बहिष्कार : अर्थतन्त्र कि इस्लामिक देशको आपसी लडाइँ ?

Photo Credit : REUTERS

काठमाडौं । फ्रान्सविरुद्ध इस्लामिक देशहरुको असन्तुष्टि संसददेखि सडकसम्म फैलिरहेको छ ।

केही मुलुकले सुरु गरेको फ्रान्सका सामान बहिष्कार अभियान अहिले पाकिस्तान र इरानको संसदमा उठेको छ । कुबेत, जोर्डन र कतारको केही पसलमा फ्रान्सका सामानहरु हटाइएको छ ।

इस्लामिक देशको विरोध पैगम्बर मोहम्मदको कार्टुन देखाउने फ्रान्सका एक शिक्षकको हत्यापछि राष्ट्रपति इम्यानुअल म्याक्रोले दिएको अभिव्यक्तिको विषयमा सुरु भएको थियो । म्याक्रोले शिक्षक हत्यालाई ‘इस्लामिक आतंकवादी’ आक्रमणको संज्ञा दिएका थिए ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले एक सन्देशमा फ्रान्समा बनेका सामान बहिष्कार गर्न अपिल गरेका थिए ।

पाकिस्तानको संसद्ले फ्रान्सबाट आफ्ना राजदूत फिर्ता बोलाउने प्रस्ताव पारित गरेको छ । यद्यपि फ्रान्समा पाकिस्तानका राजदूत थिएनन् । त्यसअघि आइतबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीटरमार्फत् फ्रान्सका राष्ट्रपतिलाई इस्लाम धर्ममाथि आक्रमण गरेको आरोप लगाएका थिए ।

इरानको संसदमा पनि अभिव्यक्ति स्वतन्त्रताको नाममा पैगम्बर मोहम्मदको अपमानको मुद्दा उठेको थियो । इरानको संसद्मा पनि फ्रान्स सरकारको नीतिमाथि प्रश्न उठाइएको थियो । बंगलादेशमा हजारौं मानिसले विरोध प्रदर्शन गरेका थिए । इराक, लिबिया र सिरियामा पनि मानिसहरुले सडकमा फ्रान्सविरुद्ध प्रदर्शन गरेका थिए ।

फ्रान्सको विदेश मन्त्रालयले भने बहिष्कारलाई हास्यास्पद भन्दै यो अल्पसंख्यक समुदायको केवल एक कट्टर समुहले मात्र गरिरहेको बताएको छ ।

यद्यपि फ्रान्सको सामान बहिष्कारबाट के प्राप्त हुन्छ ? के यो सांकेतिक विरोध हो वा इस्लामिक देशहरुको बीचमा जारी द्वन्द्वको एक हिस्सा हो ? यो बुझ्न सबैभन्दा पहिला फ्रान्सले यी इस्लामिक राष्ट्रहरुलाई के के सामान बेच्छ भन्ने जान्नु जरुरी हुन्छ ।

फ्रान्सका सामान बहिष्कारको असर

आर्थिक सहयोग तथा विकास संगठनको अप्रिल २९ को रिपोर्ट अनुसार फ्रान्सको निर्यात विशेषगरी चारक्षेत्रमा धेरै निर्भर छ ।

पहिलो, हवाई जहाज र विमानसँग सम्बन्धित सामानहरु, दोस्रो, परिवहन उपकरण, तेस्रो कृषि क्षेत्रसँग जोडिएका सामान र चौथो, फेसन तथा विलासी सामग्रीको उद्योग ।

पछिल्लो दुई वर्षमा फ्रान्सबाट अन्य मुलुकमा निर्यात हुने सामग्रीमा उल्लेख्य कमी आएको छ । समाचार एजेन्सी रोयटर्सले कुबेत र साउदी अरेबियाको बजारमा गएर फ्रान्सको सामान बहिष्कारको विवरण संकलन गरेको थियो । उसको रिपोर्टअनुसार कुबेतको एक सुपरमार्केटमा लोरियल ब्राण्डको कस्मेटिक्स र स्किन केयरको दराज खाली देखिएको थियो । यो ब्राण्डको ब्युटी प्रोडक्ट विश्वभर चर्चित छ । मध्यपूर्व र अफ्रिकामा गरी समग्रमा लोरियल र अन्य फ्रान्सेली ब्राण्डको व्यापार केवल दुई प्रतिशतको आसपासमा छ ।

फ्रान्सेली सुपरमार्केट चेन कारफुअर पाकिस्तान, बहराइन, साउदी अरेबियासहित धेरै मुलुकमा छ । साउदी अरेबियामा कारफुअर बहिष्कारको समाजिक सञ्जालमा ट्रेन्ड चलिरहेको थियो, तर रोयटर्सको रिपोर्टमा भने त्यहाँको व्यापारमा भने कुनै कमी आएको थिएन ।

कृषि उत्पादनमा फ्रानसको सबैभन्दा धेरै गहुँ निर्यात गर्छ । फ्रान्सको समग्र अन्न निर्यातको तीन प्रतिशत इस्लामिक मुलुकमा जान्छ । त्यसमध्ये अधिकांश उत्तर अफ्रिकाका मुलुक छन् ।

फ्रान्सले रक्सी पनि निर्यात गर्छ । तर, इस्लामिक देशमा रक्सी निर्यात शून्यकै हाराहारीमा छ । त्यस्तै ऊर्जा क्षेत्र र रक्षा क्षेत्रमा पनि फ्रान्सको व्यापार मध्यपूर्व तथा अन्य एसियाका इस्लामिक मुलुकमा हुने गरेको छ । यस्तोमा फ्रान्सेली सामानको बहिष्कारको असर उक्त सामग्रीहरुमा देखिनेछ । विश्लेषकहरु भने इस्लामिक मुलुकहरुले गरेको बहिष्कारको घोषणाको असर फ्रान्सलाई खासै नपर्ने बताउँछन् ।

इस्लामिक मुलुकको आपसी सम्बन्ध

बीबीसीको रिपोर्ट अनुसार पश्चिमी युरोपमा सबैभन्दा धेरै मुसलमानको बसोबास रहेको मुलुक फ्रान्स हो । फ्रान्समा करिब ५० लाख मुसलमानको बसोबास छ । यहाँका अधिकांश मुसलमानहरु उत्तरी अफ्रिकाबाट आएका हुन् । उनीहरु पनि फ्रान्सेली सामान बहिष्कार गर्नुको उद्देश्य आर्थिक क्षति पु¥याउने भन्दा पनि सांकेतिक भएको बताउँछन् ।

यसका साथै पछिल्लो समय इस्लामिक मुलुकहरुबीचमा वर्चस्वको लडाइँ चल्दै आएको छ ।

अहिले फ्रान्सको मुद्दा इस्लामिक मुलुकहरुलाई एकजुट गराएर आफ्नो नेतृत्व स्थापित गर्ने मौका आएको छ । त्यसैले उनीहरुको लडाइँ फ्रान्सको विरोधमा भन्दा पनि आपसी द्वन्द्वमा देखिएको जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल स्टडीका डिन अश्विनी महापात्रा बताउँछन् । भन्छन्, ‘फ्रान्समा भएको घटनाप्रति सबै इस्लामिक मुलुकमा आक्रोश पैदा भएको छ, तर यसको नेतृत्व टर्की लिन चाहन्छ । ताकि उसले इस्लामिक मुलुकको संरक्षकको रुपमा आफैंलाई स्थापित गर्न सकोस् ।’

अहिले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान टर्कीलाई इस्लामिक मुलुकहरुको नेतृत्वकर्ताको रुपमा उभ्याउन चाहन्छन् । तर यो बाटोमा उसले इरान, साउदी अरेबिया, पाकिस्तानजस्ता मुलुकको चुनौतीको सामना गर्नुपर्ने हुन्छ । त्यसैले फ्रान्स र इस्लामिक मुलुकको बीचमा देखिएको पछिल्लो विवादमा यो द्वन्द्वको पनि केही भूमिका छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment