Comments Add Comment

कविता : फेरि एकचोटि

यातनाका अजस्र पहाडहरू नाघ्न सक्छ्यौ तिमी
तिमीलाई अरू यातना दिन मन छ- फेरि एकचोटि
चाहूँ त –
अहिल्यै हत्या गर्न सक्छु म तिम्रो
छुरी रोप्न सक्छु तिमीलाई
आगो या तेजाबले नुहाइदिन सक्छु
फकाउँदै लगेर
कुनै भीरको टाकुराबाट हुत्याइदिन सक्छु
डोहोर्‍याउँदै लगेर
गुडिरहेको गाडि अघिल्तिर धकेल्दिन सक्छु
तर, कसोकसो हत्यारा यी हातबाट
तिमीलाई बचाउन मन छ- फेरि एकचोटि

मलाई त्यो सुन्दर अनुहारमा थप उज्यालो
किमार्थ स्विकार्य छैन
र, तिमीले मलाई
आफू दुखिरहेको आभाष दिलाइरहनु पर्छ- प्रत्येकचोटि
तिमी भित्रभित्रै चुलिरहेको पीडाको पिरामिडमाथि
विराजमान गराएर
तिमीले अश्रुजल चढाइरहनु पर्छ मलाई- हरेकचोटि

रक्ताम्य छ यो सहयात्रा
जसरी रक्ताम्य छ, साँझको आकाश
रजस्वला भएर शताब्दीको त्यो अन्तिम सूर्य
साँझमा-
रक्ताम्य छन् पर्वतका सिउँदोहरू
जसरी रक्ताम्य छ समयको यो फूलबारी

दोष तिम्रो विमतिको हो या मेरो आशक्तिको ?
दोष तिम्रो वितृष्णाको हो या मेरो अतृप्तिको ?
दोष मेरो कुरुपताको हो या तिम्रो सुन्दरताको ?
दोष मेरो अत्याचारको हो या तिम्रो धैर्यको ?

अब तिमीलाई म
ठीक यहीँ किनाराबाट याद गर्न सक्छु
जहाँबाट मेरो पुरुषार्थ मैन जसरी पग्लिएर
अविश्रान्त बगिरहेछ
अब तिमीलाई म
यही ह्रृदयको अँगेनाबाट प्रेम गर्न सक्छु
जहाँबाट तिम्रो एक-एक क्रन्दनको अग्निज्वालाले
मलाई क्रमश डढाइरहेछ

प्रिय !
तिमीलाई छाँद हालेर
निमग्न रुन देऊ मलाई- फेरि एकचोटि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment