Comments Add Comment

यस वर्ष नाचिएन सरायँ नाच

गुल्मीको सरायँ नाच । फाइल फोटो

१४ कात्तिक, गुल्मी । दसैंको बेला गुल्मी जिल्लामा सरायँ नाचको बेग्लै रौनक हुन्थ्यो । तर यस वर्ष सरायँ नाच हुने स्थान सुनसान भए । दसैं खल्लो भयो ।

परापूर्वकालदेखि चल्दै आएको सरायँ नाच प्राय दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म नाच्ने गरिन्छ । गोलो घेरा बनाई पञ्चेबाजाको तालमा खुँडा र तरबार कुशलतापूर्वक नचाउँदै एकअर्कामा ठोक्काएर सरायँ नाच नाचिन्छ । सरायँ नाचलाई असत्यमाथि सत्यको जितको खुसियालीको रुपमा लिइन्छ ।

गुल्मी जिल्लाका अर्जै, अमंरपुर, इस्मामैदान, धुर्कोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा मुख्य गरी सरायँ नाच हुने स्थान हुन् । यस वर्ष भने कोरोना महामारीले गुल्मीका बिभिन्न मन्दिर तथा देवालयमा सरायँ नाच नाचिएन ।

यस वर्ष कोरोना महामारीका कारण प्रशासनले पनि निषेधाज्ञा जारी गरेकाले सरायँ नाच नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । यस वर्ष कोरोना महामारीका कारण जिल्लाका सबै मन्दिर तथा देवालयहरुमा अत्यावश्यक पूजाबाहेक अन्य कार्यक्रमहरु गर्न प्रशासनले रोक लगाएको थियो ।

सरायँ नाच नाच्दा देवी भगवती प्रशन्न हुने जनविश्वास रहेको बुढापाकाहरु बताउँछन् । सरायँ नाच गुल्मीका साथै अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरु तथा खुला चौरमा नाच्ने चलन छ । नयाँ पुस्ताले वास्ता नगर्दा सरायँ नाच लोपोन्मुख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment