Comments Add Comment

नेपाली विद्यार्थी कुट्नेहरुलाई कारबाही गर्न भारतले तत्परता देखाओस् : नेविसंघ

१४ कात्तिक, काठमाडौं । भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा कुटिएका नेपाली विद्यार्थीहरुको निःशुल्क उपचार गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ ।

शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीहरुमाथि दसैंको टीकाको दिन निर्घात कुटपिट भएको थियो । केही विद्यार्थीहरु भागेर नेपाल आएका छन् ।

सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको पहल गर्न नेविसंघले सरकारसँग माग गरेको छ ।

‘शिक्षा लिन पाउनु आधारभूत मानव अधिकारको विषय भएको र मानव अधिकारको यो आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्नेमा कुनै पनि व्यक्तिलाई मानव अधिकारबाट बञ्चित गर्ने अधिकार कुनै पनि देशको सरकारलाई नभएकोले सो घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्नका लागि तदारुकताका साथ पहल गर्न नेपाल सरकारलाई र सोको लागि आवश्यक तत्परता देखाउन भारत सरकारसँग नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ,’ नेविसंघ अध्यक्ष राजीव ढुंगानाले आज जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

नेविसंघले नेपाली विद्यार्थीहरुलाई उद्धार गर्नसमेत माग गरेको छ । यद्यपि शाक्य एकेडेमी र नेपाली समाजका प्रतिनिधिहरूबीच बिहीबार एक हप्तामा नेपाली विद्यार्थी फिर्ता गर्ने सहमति भएको छ । एकेडेमीका तर्फबाट प्रिन्सिपल छिरिङ छोदेनले नेपाली समाजका प्रतिनिधिहरूसँग फर्कने चाहने विद्यार्थीलाई नेपाल–भारत सिमानासम्म लगिदिने सहमति गरेका हुन् । तर, नेपाली विद्यार्थीका अभिभावकहरुले भने सो सहमतिप्रति अनभिज्ञता प्रकट गरेका छन् ।

यसैबीच बुधबार नेपाल विद्यार्थी संघको नेता दीपक ओझालाई अत्तरिया, कैलालीबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि नेविसंघले खेद व्यक्त गरेको छ । सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन मार्फत नेबिसंघका नेताहरुलाई धरपकड, पक्राउ र यातना दिइएको भन्दै नेविसंघले विरोध जनाएको हो ।

अध्यक्ष ढुङ्गानाले भने, ‘गत असोज १७ गते नै दिनको ३ः३० बजे बुद्ध एयरको फ्लाइटबाट धनगढी गएको र निरन्तर संगठनको गतिविधिमा सहभागी भइरहेको अबस्थामा नेबिसंघ शंकरदेव क्याम्पसका नेता दीपक ओझालाई कैलालीबाट पक्राउ गरिनु राज्य आतंकको नमुना हो ।’

त्यसैगरी नेविसंघका महामन्त्री बलदेब तिमल्सिनाले ओझाको तत्काल रिहाइको माग गर्दै प्रहरी ज्यादतिविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment