Comments Add Comment

एक दर्जन पदमार्ग खुला, डोल्पामा १४ दिन अनिवार्य क्वारेन्टिन

१४ कात्तिक, काठमाडौं । कोरोना भाइरसको महामारीपछि खुलेको पदयात्राका लागि एक दर्जन गन्तव्य सहज बनेका छन् । सरकारले १७ अक्टोबरबाट विदेशी पर्यटकले समेत पदयात्रा गर्न पाउने गरी खुला गरेको थियो ।

त्यसयता १२ वटा गन्तब्य पर्यटकका लागि सहज बनेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । तर, हिमाली क्षेत्रमा साविकका केही निषेधित क्षेत्रमा भने अहिले पनि पर्यटकको प्रवेशमा प्रतिवन्ध कायम रहेको छ ।

टानकी महासचिव सरिता लामाका अनुसार पदयात्राका दौरान पर्यटक र पर्यटन व्यवसायीले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड भने पालना गर्नेपर्छ । त्यसमा पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने प्रावधान छ । तोकिएको दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्छ । पदयात्रीले पदयात्रा अनुमति पनि लिएको हुनुपर्छ ।

कुन कुन गन्तब्य पर्यटकका लागि खुला ?

  • कंचनजङ्गगा पदयात्रा क्षेत्र
  • सगरमाथा आधार शिविर पदयात्रा मार्ग
  • मार्दी हिमाल पदयात्रा क्षेत्र
  • मनाङ पदयात्रा क्षेत्र
  • मुस्ताङ पदयात्रा क्षेत्र
  • डोल्पा पदयात्रा क्षेत्र
  • हुम्ला पदयात्रा क्षेत्र
  • मनास्लु पदयात्रा क्षेत्र
  • हेलम्बु पदयात्रा क्षेत्र
  • रुवीभ्याली पदयात्रा क्षेत्र

डोल्पामा १४ दिन क्वारेन्टिन अनिवार्य

खुलाका पदयात्रा मार्ग क्षेत्रमध्ये पनि डोल्पामा भने पर्यटकको आगमनमा कडाइ गरिएको छ । महासचिव लामाका अनुसार यहाँ जुनसुकै प्रवेश विन्दुबाट पुग्दा पनि पर्यटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । त्यस्ता पर्यटकले डोल्पामा प्रवेश पाउने छन् ।

प्रवेश गरेपछि भने उनीहरु कम्तीमा १४ दिन आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्नेछ । त्यसपछि मात्र उनीहरुले डोल्पामा पदयात्राको अनुमति पाउने भएका छन् ।

सरकारले नेपालमा आउने पर्यटकलाई पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ आएको रिपोर्ट र नेपालमा ७ दिन होटेल क्वारेन्टिनका लागि बुकिङ गरेपछि नेपाल आउने अनुमति दिन्छ । त्यसमा पनि डोल्पा प्रवेशमा भने कडाइ गरिएको छ ।

अन्नपूर्ण पदमार्ग र घान्द्रुक क्षेत्र बन्द

देशका अन्य पदयात्रा मार्ग खुला भएपनि सबैभन्दा आकर्षकमध्ये एक अन्नपूर्ण पदमार्गमा भने स्थानीय पर्यटन व्यवसायीले नै पदमार्ग बन्द गरेका छन् । उनीहरुले स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै यो पदयात्रा बन्द गरेका हुन् । महासचिव लामाका अनुसार सोही कारण अन्नपूर्ण र घान्द्रुकमा तत्काल पदयात्रा गर्न सम्भव छैन ।

एभरेष्ट पदयात्रा शर्तसहित खुला

सगरमाथा आधार शिविरसम्म पुग्ने एभरेष्ट पदयात्रा मार्गमा यसअघि लागेको प्रतिवन्ध भने शर्तसहित खुलेको छ । खुम्बु पासाङ्गल्हामु गाउँपालिकाले ९ कात्तिकमा एक निर्णय गर्दै ६ कात्तिकमा लागेको अनिश्चितकालीन प्रतिवन्ध फुकुवा गरेको हो ।

त्यसअनुसार गाउँपालिकाले निश्चित अस्पताल तोकेर ती अस्पतालबाट गरेको परीक्षणलाई मात्र गाउँपालिकामा मान्यता दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार सबै सरकारी अस्पतालबाट गरिएको परीक्षणलाई मान्यता दिइएको छ ।

तर, निजीमा भने ह्याम्स हस्पिटल, स्टार अस्पताल र बीएण्डबी हस्पिटलबाट गरिएको पीसीआर परीक्षणलाई मात्र गाउँपालिकाले मान्यता दिने भएको छ । यसअघि निजी अस्पतालको फर्जी रिपोर्ट लिएर समेत मानिस गाउँपालिका छिरेको पाइएको भन्दै यस्तो निर्णय गर्नु परेको भट्टराईले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment