Comments Add Comment

निर्वाचनभन्दा चार दिनअघि नै अमेरिकामा ८ करोडभन्दा बढीले गरे मतदान

१४ कात्तिक, काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । तर, निर्वाचन हुने दिनभन्दा चार दिनअघि नै अहिलेसम्म आठ करोडभन्दा धेरै मानिसले मतदान गरिसकेका छन् ।

बिहीबार युनिभर्सिटी अफ फ्लोरिडाको यूएस इलेक्सन प्रोजेक्टले दिएको तथ्यांकअनुसार अहिलेसम्म आठ करोडभन्दा धेरै मानिसले राष्ट्रपतिको लागि मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा राष्ट्रपति निर्वाचनमा खसेको समग्र मतको ५८ प्रतिशतभन्दा धेरै हो ।

उल्लेख्य संख्यामा मानिसहरुले इमेल वा समयभन्दा अगाडि नै मतदान गर्न चाहनेका लागि व्यवस्था गरिएको मतदानस्थलमा गएर मानिसहरुले आफ्नो मत दिएका हुन् ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीको अवस्थामा हुन गइरहेको यो निर्वाचनपछि अमेरिकामा कोरोना संक्रमण पुनः फैलिने त्रास छ । त्यसैले मानिसहरुले आगामी मंगलबार मतदानस्थलमा हुने भिडबाट बच्न समयभन्दा पहिला नै मतदान गरेका हुन् ।

यसअघि सन् २०१६ मा मतदानको दिनभन्दा पहिला चार करोड ७० लाख मत खसेको थियो । यद्यपि विशेषज्ञहरुले यस वर्ष अघिल्लो निर्वाचनको तुलनामा धेरै मत खस्ने अनुमान गरेका छन् ।

अघिल्लो निर्वाचनमा १३ करोड ८० लाख मानिसले मतदान गरेका थिए । मतदानको दिनभन्दा पहिला नै खसेको मतको आधारमा भने डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अघि छन् ।

इमेलबाट मतदान गर्न पाउनुपर्ने पक्षमा वकालत गर्दै आएकाले मतदानको दिनभन्दा अगाडि नै भोट दिनेमध्ये धेरैले डेमोक्रेट्सलाई रुचाएका हुन् ।

रिपब्लिकनको तर्फबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले भने यो इमेलबाट मतदान गर्ने प्रणाली धाँधलीको लागि बनाइएको भन्दै यसको विरोध गर्दै आएका छन् ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment